साङ्गला (पाकिस्तान), ११ कात्तिक । अफगानिस्तानको हिन्दकुस पर्वत इलाकामा केन्द्रविन्दु भई सोमबार गएको ७.५ रिक्टर स्केलको भूकम्पको कारण पाकिस्तानको उत्तरपश्चिमी सहरको आवासीय इलाका सबैभन्दा बढी प्रभावित भएको छ ।
भीषण रुपमा प्रभावित भएर क्षतिग्रस्त भएका भवनहरु पुनः निर्माणको लागि स्थानीय वासिन्दाले सरकारसँग सहयोगको याचना गरेका छन् ।
सो क्षेत्रका कैयौँ नागरिक घरबारबिहीन भएकाले उनीहरुका लागि आवश्यक आश्रयका लागि आग्रह गरिएको हो । घरबारबिहीन नागरिकले तत्कालीक राहतका अतिरिक्त घरको पुनर्निर्माणमा पनि सहयोग पुर्याउन आग्रह गरेका हुन् ।
सो भूकम्पबाट बुधबार बिहानसम्ममा ३७३ जनाको ज्यान गइसकेको उद्वार अधिकारीहरुले जानकारी दिएका छन् ।
पाकिस्तानको उत्तरपश्चिमी इलाकामा यस भूकम्पको कारण ८ हजार ४५३ घर र ११३ वटा विद्यालय क्षतिग्रस्त भएको जनाइएको छ । यद्यपि क्षतिको पूर्ण विवरण भने आएको छैन ।
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा गएको ७.५ रिक्टर स्केलको भूकम्पको उद्धारकार्यको लागि उद्धारकर्ता संघर्षरत रहेको जनाइएको छ ।
सो भूकम्पमा परी पाकिस्तानतर्फ २५८ नागरिकको मृत्यु भएको छ । त्यसैगरी अफगानिस्तानतर्फ ११५ जनाको मृत्यु भएको जनाइएको छ ।
यस भूकम्पबाट अफगानिस्तानभरमा ७ हजार ६०० भन्दा बढी घरहरु ध्वस्त भएको जनाइएको छ । त्यसैगरी भूकम्पको कारण ५५८ जना घाइते भएका अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीको कार्यालयद्वारा जनाइएको छ ।
यस्तै भारत प्रशासित काश्मिरमा अहिलेसम्म तीन जनाको मृत्यु भएको समाचार छ ।
अफगानिस्तानको हिन्दकुस पर्वत इलाकामा केन्द्र विन्दु भई सोमबार गएको ७.५ रिक्टर स्केलको भूकम्पमा परी मारिएका व्यक्तिको मृतकको सङ्ख्याका साथै क्षतिको विस्तृत विवरण भने अझै पनि प्राप्त भई नसकेको बताइएको छ ।
सोमबारको भूकम्पका कारण अफगानिस्तान र पाकिस्तानका पहाडी ईलाकामा पहिरोको प्रकोप पनि बढेको बताइएको थियो ।
No comments:
Post a Comment