Sunday, October 25, 2015

एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने

काठमाडौँ, ८ कात्तिक । नेकपा (एमाले)ले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारी दिने भएको छ ।

गएराति सम्पन्न पार्टीको स्थायी समितिको बैठकले सहमतिको प्रक्रियाबाट राष्ट्रपति निर्वाचनको निम्ति आफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेको सो पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो यद्यपि पार्टीले उम्मेदवारको नाम तय गरेको छैन ।

बैठकले राष्ट्रिय सहमतिको यात्रामा सँगसँगै अघि बढ्न नेपाली काँग्रेसलगायत सबै राजनीतिक दललाई आह्वान गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति निर्वाचनलगायत आगामी दिनमा आउने विभिन्न घटनाक्रममा सहमतिका साथ अघि बढ्नुपर्नेमा बैठकले जोड दिएको छ । काँग्रेसले पनि राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय शनिबार गरेको थियो ।

सो विषयमा छलफल गर्न आज बिहान ११ बजे एमाले संसदीय दलको बैठक बस्नेछ ।

पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकले सामना गरिरहेको राष्ट्रिय सङ्कट, संविधानको सफल कार्यान्वयन, लोकतन्त्रको स्थायित्व, राष्ट्रिय एकताको संवद्र्धन, सामाजिक सद्भाव, भौगोलिक एकता, मुलुकको राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताका लागि अहिले पनि राष्ट्रिय सहमतिको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।

सबै राजनीतिक दल, नागरिक समाज, मुलुकका सबै सङ्घसंस्था र आमजनताको एकताको उच्च प्रयत्नबाट नै वर्तमान समस्याको समाधान निकाल्नुपर्नेमा बैठकले जोड दिएको छ ।

दक्षिणी सिमानामा भारतले गरेको अघोषित नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थितिको बारेमा बैठकमा गम्भीरताका साथ छलफल भई देशको जनजीवनलाई सहज बनाउनका लागि बहुपक्षीय विकल्पको निम्ति ठोस ढङ्गले प्रयत्न गर्न र छिटोभन्दा छिटो आपूर्ति व्यवस्थालाई सहज बनाउन र यसका लागि हरसम्भव उपाय अपनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको सचिव भट्टराईले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...