Friday, October 23, 2015

पेट्रोलियम पदार्थमा बढ्यो कालोबजारी

petrolलुम्बिनी (रुपन्देही), ७ कात्तिक । भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्दा बजारमा पेट्रोलको कालोबजारी बढेको छ ।

भारतीय आयल निगमले नेपाल आयाल निगमलाई पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा बजारमा कालोबजारी बढेको हो ।

सीमा क्षेत्रमा बसोबास गर्ने तथा तराई मधेस आन्दोलनको प्रभाव परेका स्थानका अधिकांश युवाले भारतीय बजार सुनौली र नौतनवासम्म पुगेर सवारीसाधनमा पेट्रोल हालेर ल्याउने र त्यसलाई प्रतिलिटर रु २१० देखि ३५० सम्म बिक्री गर्ने गरेका छन् ।

खुल्ला ठाउँबाट बिक्री हुने उक्त पेट्रोलमा डिजेल, ताडपिन तेल, मट्टितेल, जीवनजल र पानी मिसाएर समेत बिक्री वितरण गर्ने गरिएको पाइएको छ ।

मिसावटयुक्त पेट्रोलको प्रयोगका कारण मोटरसाइकल तथा कारको इञ्जिनमा खराबी आएर हैरानी बेहोर्नु परेको प्रयोगकर्ताले बताएका छन् ।

रुपन्देहीको बेलहिया, भैरहवा बसपार्क, वनगाई, मर्चवार लुम्बिनीलगायतका स्थानमा खुलेआमरुपमा पेट्रोलको कालोबजारी हुने गरेको छ । पेट्रोलमा व्यापकरुपमा कालोबजारी बढ्दा पनि स्थानीय प्रशासन भने मौन छ ।

खुल्ला ठाउँमा खुलेआमरुपमा पेट्रोलियम पदार्थको बिक्री वितरण हुँदा आगो लाग्ने खतरासमेत बढेर गएको स्थानीयवासीको गुनासो बढेको छ ।

खुलेआम पेट्रोलियम पदार्थको कालोबजारी भएको पाइए स्थानीय प्रशासन ऐनअनुसार कारबाही अघि बढाउने रुपन्देही प्रशासनले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...