Sunday, November 1, 2015

नौ टयांकर केरुङ प्रस्थान

tankar_kerung-2धुन्चे (रसुवा), १५ कात्तिक । चीनका लागि नेपाली राजदूत महेश मास्केले अबका दिनमा चीनबाट निर्बाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रने बताउनुभएको ।

चीनको राजधानी बेइजिङबाट शनिबार साँझ रसुवागढी नाका आउनुभएका राजदूत मास्केले आज बिहान रासससँग कुराकानी गर्दै रसुवागढी नाकाबाट तेल ल्याउन सडक उपयुक्त भएकाले तुरुन्त सडक सुधार र स्तरोन्नति गर्न आफूले काठमाडौँ पुग्नासाथ सरकारसामु सुझाव राख्ने जानकार दिनुभयो ।

उहाँका साथ रहनुभएका परराष्ट्र मन्त्रालय उत्तरपूर्व महाशाखा हेर्ने सहसचिव झवीन्द्रप्रसाद अर्यालले साँघुरो बाटो फराकिलो पार्न आवश्यक भएकाले सडक कार्यालय सक्रिय रहनुपर्छ भन्दै अबका दिनमा पाइप लाइनद्वारा तेल ल्याउन नुवाकोटको सदरमुकाम विदुरसम्म सजिलो भएकाले दीर्घकालीन नीति तर्जुमा गर्न सुझाव पेस गरिने जानकारी दिनुभयो ।

रसुवाका प्रजिअ शिवराम गेलाल, स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोइरालाका साथै प्रहरी प्रमुख अवदेश विष्टसँग सडकको अवस्था बारेमा राजदूत मास्के र सहसचिव अर्यालले जानकारी लिनुभएको थियो ।सो अवसरमा सडक व्यवस्थित गर्न तीव्र रुपले काम अगाडि बढाउनका लागि बजेट र अधिकार यथेष्ट रुपमा उपलब्ध हुन जरुरी रहेको स्थाविअ कोइरालाले बताउनुभयो ।

यस्तै रसुवागढी नाकाबाट पेट्रोलियम पदार्थ नेपाल भित्रन थालेपछि जिल्लावासीमाझ उत्साह बढेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

यसैबीच केरुङमा नेपालका तीन ट्यांकर इन्धन भरी रसुवागढी भन्सार टिमुरेमा आइसकेको र नौ ट्यांकर आज केरुङ प्रस्थान गरेको प्रहरी प्रमुख विष्टले जानकारी गराउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...