Sunday, November 22, 2015

अव मलाई कुनै पदको लोभ र मोह छैन: डा भट्टराई

Baburam-Bhattarai-1काठमाडौँ, ६ मङ्सिर । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली समाजलाई बदल्ने दर्शन निर्माणका लागि नयाँ शक्तिको खोजीमा लागेको बताउनुभएको छ ।

नयाँ शक्ति निर्माण अभियान उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले गोरखाको दुर्गम गाउँमा जन्मिएर कार्यकारी प्रमुख बनेको मलाई कुनै पदको लोभ र मोह छैन भन्नुभयो ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो “ ६० वर्षपछिको उमेर देशको समृद्धि र विकासका लागि लगाउन नयाँ शक्ति निर्माणको अभियानमा जुटेको छु, संविधानसभाबाट घोषणा गरिएको संविधान आधा भरी र आधा खाली छ, आधा खालीलाई संशोधनमार्फत भरेर पूर्णता दिँदै समस्या समाधान गरिनुपर्छ ।”

नेपालको इतिहासमा नेपाली काँग्रेस, प्रजापरिषद्, नेकपा (एमाले), र एमाओवादीले आ–आफ्ना समयमा ऐतिहासिक काम गरेको तर वर्तमानमा समय सुहाउँदो दर्शन कसैले ल्याउन नसकेकाले नयाँ शक्तिको आवश्यक्ता भएकामा उहाँले जोड दिनुभयो ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वैधानिकरुपमा अधिकार माग्दा नदिएपछि सडकमा उत्रँदा सीमापारिबाट लाठी र वारिबाट गोलीको वर्षा भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो “संविधान बनाएका बेलाको जस्तै गरी संशोधन गरियो भने त्यसको केही अर्थ हुँदैन, अहिले हामी समस्या समाधानका लागि वार्तामा आउँदा सत्तापक्ष स्थगित गरेर बसेको छ । ”

सङ्घीय समाजवादी मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एउटा भाषा एउटै भेषबाट मुक्त नभएसम्म लोकतन्त्र समावेशी हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “मधेसका जनताले विगतमा भएका आठ र २२ बुँदे सम्झौता कार्यान्वयनको माग गरेको हो, नयाँ शक्तिले एउटै भाषा र भेषलाई क्रमभङ्गता गर्नुपर्छ ।”–

नेपाली काँग्रेसका नेता प्रदीप गिरीले लोकहितको सङ्कल्प लिएर अघि बढ्नुपर्ने बताउनुभयो । नयाँ शक्ति अभियानका अभियन्ता देवेन्द्र पौडेलले १७ हजार योद्धाले ज्यान दिँदा पनि जन युद्धका उद्देश्य प्राप्त नभएकाले अभियानमा लाग्नुपरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री रामचन्द्र झा, मानव अधिकारवादी नेता पद्मरत्न तुलाधर, थरुहट तराई पार्टीका गोपाल दहित, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठ, कलाकार अशोक शर्मा, डा चैतन्य सुब्बा, डा प्रवीण मिश्र, डा केशवमान शाक्य, खगेन्द्र सङ्ग्रौला, राजु नेपाली, केशव दाहाल, कलाकार प्रदीप देवान लगायतका वक्ताले नयाँ शक्ति पारदर्शी र सदाचारपूर्ण भावनाले अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...