Sunday, December 27, 2015

संविधान कुस्ती खेल्ने विषय होइन: उपप्रधानमन्त्री मैनाली

Cp-mainaliभीमदत्तनगर, १२ पुस । उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाज कल्याणमन्त्री चन्द्रप्रकाश मैनालीले नयाँ संविधानलाई सकारात्मक रुपले हेर्नुपर्ने बताउँदै संविधानमा असन्तुष्ट विषयलाई बौद्धिक बहसमा ल्याएर समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ ।

आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजित ‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रव्यापी प्रचार अभियान कार्यक्रममा सम्बोधन गर्दै उपप्रधानमन्त्री मैनालीले संविधानमा समेटिएका राम्रा विषयलाई अध्ययन गर्न संविधानसित असन्तुष्ट मधेसी मोर्चाका अगुवालाई आग्रह गर्नुभएको छ ।

“संविधान कुस्ती खेल्ने विषय होइन”– उपप्रधानमन्त्री मैनालीले भन्नुभयो– “असन्तुष्टि राख्नु राम्रो हो तर असन्तुष्टिका नाउँमा संविधान च्यात्ने, जलाउने विषय रहस्यमय छन् ।” लोकतान्त्रिक विधिबाट संविधानमा नसमेटिएका विषयलाई समावेश गर्न पहल थाल्न उहाँले आग्रहसमेत गर्नुभयो ।

“अधिकतम् सहमतिबाट यो संविधान बनेको छ”– उहाँले भन्नुभयो– “सबै दल तथा सबै समुदायका विषय समेटिन सकिदैँन ।” तराईमा संविधानका विषयलाई लिएर आन्दोलनरत मधेसी मोर्चाले नाजायज माग राखेर आन्दालन गरिरहेको दाबी गर्नुहुँदै मैनालीले सङ्घीयता, जातिका नाममा प्रदेशको नामाकरण असम्भव रहेको बताउनुभयो ।

“मधेसीको माग हात्तीलाई झोलामा हाल्नुपर्छ भन्ने जस्तै भयो”– उहाँले भन्नुभयो–“ बच्चा कराउँदैमा आमाले हात्तीलाई झोलामा हाल्न सक्दैनन् ।” संविधानले पहिचान दिने अभ्यास सुरुवात गरेको बताउँदै उपप्रधानमन्त्री मैनालीले संविधान कार्यान्वयनका लागि सरकार, राजनीतिक दल, नागरिक समाज, न्याय क्षेत्र लाग्नुपर्नेमा जोडसमेत दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...