Wednesday, December 30, 2015

एसएलसीको सेन्टर परिवर्तन गर्न विद्यार्थीको माग

खोटाङ, १६ पुस । दिक्तेलस्थित सरस्वती उच्च माविका छात्रछात्राले एसएलसी सेन्टर परिवर्तनको माग गरेका छन् ।

होम सेन्टर हटेपछि लफ्याङस्थित श्रीमावि बाँसबोटेबाट एसएलसी दिँदै आएका छात्रछात्राले प्रजिअ रुद्रप्रसाद खड्कासमक्ष परीक्षा केन्द्र परिवर्तनको माग गरेका हुन् ।

दिक्तेलबजारबाट लफ्याङस्थित परीक्षा केन्द्र जाने क्रममा दुई घन्टा हिँड्नुपर्ने, बस्नका लागि आवश्यक होटल, उपयुक्त कोठा, पिउने पानी, खाजा खाने व्यवस्था नभएको, १६ वर्षमुनिका छात्रछात्रा अभिभावकविहीन बनेर बस्नुपर्ने समस्या झेल्नुपरेको लगायतका कारण देखाउँदै उनीहरुले परीक्षा केन्द्र परिवर्तनको माग गरेका हुन् ।

सामुदायिक विकास सेवा केन्द्रले सरस्वती उच्च माविमा आयोजना गरेको लैङ्गिक हिंसा तथा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कार्यक्रममा पुगेका प्रजिअ खड्कासमक्ष छात्रछात्राले दिक्तेलमै एसएलसी परीक्षा केन्द्र राख्ने व्यवस्थाका लागि मागपत्र बुझाएका छन् ।

वर्षदिनअघि पनि सरस्वती उमाविका छात्रछात्राले एसएलसी केन्द्र सार्न माग गर्दै शिक्षामा ज्ञापनपत्र बुझाएका थिए । स्रोतका अनुसार एसएलसी परीक्षा सञ्चालनका क्रममा दुवै विद्यालयका केन्द्राध्यक्षबीच एकले अर्कोको विद्यार्थीलाई कडाइ गर्ने क्रम सुरु भएपछि विद्यार्थीमार्फत केन्द्र परिवर्तनको कुरा उठाउन थालिएको हो ।

सुरुमा सदरमुकाम बाहिरका विद्यालयमा परीक्षा खुकुलो हुने भन्दै दिक्तेलका कतिपय विद्यालयले बाँसबोटेमा परीक्षा केन्द्र बनाउन पहल गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...