Thursday, December 3, 2015

सिधा यातायात सुरु भएपछि गाडी भाडा घटाइयो

खोटाङ, १८ मङ्सिर । राजधानी काठमाडौँलगायत तराईका जिल्लासँग सिधा यातायात सेवा सुरु भएपछि खोटाङमा गाडी भाडा घटाइएको छ ।

जयरामघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै सिधा यातायात सेवा सुरु भएपछि लामो दूरीका सवारी साधनको भाडा घटाइएको हो ।

जिल्लावासीलाई थोरै भए पनि राहत दिलाउने उद्देश्यले दिक्तेल–काठमाडौँ, दिक्तेल–कटारीलगायत लामो दूरीमा सञ्चालन हुने सवारी साधनको भाडा घटाएको यातायात व्यवसायी सङ्घ, खोटाङका महासचिव राजकुमार राईले बताउनुभयो । राईका अनुसार अब दिक्तेलबाट काठमाडौँ जानका लागि रु एक हजार ५०० भाडा लाग्नेछ ।

यसअघि रु एक हजार ६०० लिने गरिएकामा रु १०० घटाएको यातायात व्यवसायी सङ्घले जनाएको छ । यस्तै दिक्तेलबाट कटारी जानका लागि रु एक हजार लाग्ने छ । यसअघि दिक्तेलबाट कटारीसम्म पुग्नका लागि रु एक हजार १२५ लिने गरिएको थियो ।

जिल्लाबाट काठमाडौँका लागि बिहान, दिउँसो र बेलुका गरी दैनिक तीनवटा गाडी छुट्ने गरेको छ । प्रत्येक गाडीमा पहिलेको तुलनामा रु तीन हजार ४०० भाडा घटाइएको महासचिव राईले जानकारी दिनुभयो ।

जिल्लामा खोटाङ यातायात व्यवसायी सङ्घका ३४ वटा बस र नौवटा जिप सञ्चालनमा छन् । जिल्लाका अन्य ठाउँमा सञ्चालन हुने सवारी साधनको समेत भाडा घटाउने तयारी भइरहेको महासचिव राईले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...