Monday, January 25, 2016

डा. केसीज्यू अब फेरि अनसन बस्ने कि नबस्ने ?

govinda kcकाठमाडौँ, ११ माघ । चिकित्सा शिक्षाको सुदृढीकरणसम्बन्धी उच्चस्तरीय आयोगले शिक्षाविद् केदारभक्त माथेमा नेतृत्वको सुझाव आयोगको प्रतिवेदनलाई पछ्याउँदै गुणमा आधारित स्वास्थ्य शिक्षाको व्यवस्था गर्ने भएको छ ।

वरिष्ठ चिकित्सक डा गोविन्द केसीलगायत सरोकारवालाको माग सम्बोधन गर्ने क्रममा विगतको सहमतिका आधारमा गत साता मन्त्रिपरिषद्ले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा ११ सदस्यीय चिकित्सा शिक्षा आयोग गठन गरेको थियो ।

आयोगले आजदेखि कार्यारम्भ गरी कार्ययोजना तर्जुमाको चरणको काम थालेको छ । आयोगको कार्यकारी उपाध्यक्षमा माथेमा आयोगमा समेत रहनुभएका डा भगवान् कोइराला हुनुहुन्छ । आयोगलाई छ महिनाको अवधि दिइएको छ ।

सो आयोग गठन हुनुपर्ने आफ्नो माग भए पनि स्वास्थ्य शिक्षाको समग्र नीति नबन्दै व्यवस्थापिका–संसद्मा मनमोहन मेडिकल कलेजसम्बन्धी विधेयक पेस भएकामा असन्तुष्टि जनाउँदै डा केसीले पुनः अनशनमा उत्रने चेतावनी दिनुभएको छ ।

शिक्षामन्त्री पोखरेलले भने गत साता प्रधानमन्त्री केपी शर्मा ओली र डा केसीबीच आफूले भेट गराएको र केसीकै सहमतिका आधारमा चिकित्सा शिक्षा आयोग गठन भएकाले उहाँको अनशन सँधैका लागि अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “हामी माथेमा आयोगको मनसायलाई आत्मसात् गर्दै गुणमा आधारित चिकित्सा शिक्षासहितको नयाँ नेपालको पक्षमा छौँ, संसद्मा पेस भइसकेको मनमोहन अधिकारीको नाममा खुल्ने मेडिकल कलेज विधेयकका विषयमा आयोगले निर्णय गर्न मिल्दैन, त्यसमा संसद्मै राजनीतिक सहमतिका आधारमा टुङ्गोमा पुग्ने काम हुन्छ ।”

माथेमा आयोगले गत असारमा सरकारलाई प्रतिवेदन दिँदै ग्रामीण तहसम्म मेडिकल शिक्षा र अस्पताल लैजान, यस क्षेत्रमा व्यापारीकरण रोक्न र गरिब विद्यार्थीले पनि सहज चिकित्सा शिक्षा पढ्ने वातावरण मिलाउन सुझाव दिएको थियो ।

मन्त्री पोखरेलले आज शिक्षा पत्रकारसँग कुरा गर्दै भन्नुभयो, “निजी, सहकारी वा समुदाय तहसम्मबाट स्वास्थ्य शिक्षामा प्रवेश हुनुपर्छ भन्नेमा विवाद छैन तर त्यस्ता कलेज वा विश्वविद्यालयमा नेतृत्व कसरी चयन गर्ने, आर्थिक व्यवस्थापन कस्तो हुने र सांसद्हरूको संलग्नता हुन हुने वा नहुने भन्नेमा बहस गर्नुपर्नेछ ।”

मन्त्री पोखरेलले सम्मानित राजनीतिक नेताहरूका नाममा खोलिएका शैक्षिक संस्था वा अस्पतालको सञ्चालनका सम्बन्धमा विस्तृत समीक्षा आवश्यक भएको भन्दै त्यसका लागि बेग्लै उच्चस्तरीय शिक्षा आयोग गठन गरिने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...