Monday, January 25, 2016

अप्ठ्यारो र चुनौतीका बेलाको कांग्रेस महाधिवेशन: हरिबोल भण्डारी

12596515_10153512167927950_1809058748_n

देशको राजनीति अहिले नेपाली कांगे्रसको अगामी फागुन २० गते देखि शुरु हुने महाधिवेशन तर्फ केन्द्रित हुदैं गईरहेको छ । कांग्रेस सवैभन्दा ठुलो राजनीतिक पार्टी भएकाले पनि महाधिवेशन आम चासोको विषय भएको हो । देशमा वस्ने मात्र होइन विदेशमा रहेका लाखौं नेपालीको चाहना पनि कांग्रेस महाधिवेशनवाट देशका विद्यमान समस्या समाधानमा स्पष्ट धारणा आओस भन्ने छ । कांग्रेस कहिले नसुध्रिने पुरातन पार्टी हो, यहां भित्र युवाको भविष्य छैन, भन्नेहरु पनि कयौं भेटिन्छन् । यस्तो धारणा राख्नेलाई पनि कांग्रेस पुरानो भरोसायोग्य प्रजातान्त्रिक पार्टी मात्र होइन देशका गम्भिर समस्यालाई समयानुकुल निकास दिने शक्ति पनि हो भन्ने सन्देश दिने अवसरका रुपमा महाधिवेशनलाई उपयोग गर्नु पर्ने चुनौती छ । नयां शक्ति विकल्प होइन अव पार्टी भित्रै युवाहरुको देश विकास प्रतिको चाहना कांग्रेसले सम्वोधन गर्छ भन्ने विश्वासपनि यो महाधिवेशनले गराउन सक्नु पर्छ । देशमा हाल केही जटिल समस्याहरु आएका छन् । मधेशमा भएको आन्दोलन, भारततर्फका नाकामा अवरोधले ल्याएको तेल लगायत अत्यावश्यक वस्तुको अभाव र यससंग जोडिने नेपाल भारत सम्वन्धले देश जटिल मोडमा छ ।

बजारमा खाना पकाउने ग्यांस लगायत अत्यावश्यक वस्तुको व्यापक कालोबजारी भईरहेको छ । देशको दरिद्र अवस्था हेर्न एक मात्र त्रिभुवन विमानस्थल पर्याप्त छ । दैनिक सयौं युवाहरु कामका लागि विदेशीन्छन् । यसको अर्थ देशमा पर्याप्त रोजगार छैन भन्ने हो । पर्यटन व्यवसाय प्रवद्र्धन देशको प्रथामिकता क्षेत्र भएपनि एक मात्र अन्तराष्ट्रिय विमानस्थल माछाबजार जस्तो छ । आम नेपाली जनताले अहिले दैनिक झण्डै १५ घण्टा विद्युत अभाव झल्दै आएका छन् । विद्युत अभावले पसल लगायत स सानो व्यवसाय गर्ने देखि ठुला उद्योगसम्म प्रभावित भएका छन् । गत बैशाखमा आएको महाभुकम्पमा घरवार गुमाउनेले राहत पाउन सकेका छैनन् । भुकम्प प्रभावित क्षेत्रमा पुर्ननिमार्ण अझ शुरु हुन सकेको छैन । यी लगायत कयौं समस्याहरु विद्यमान छन् । देशको यो दुरुअवस्थाको चर्चा हुदां आमजनताको प्राय एउटै भनाई हुन्छ, देशमा गतिलो नेतृत्व भएन । अहिलेका पार्टी र नेतावाट देश वन्दैन नयां शक्ति आउनु पर्छ भन्ने धारणाहरु पनि लगातार समाजिक संजालहरु आउनुको मुख्य कारण पनि यी

यस्तै समस्या प्रमुख हुन् । विशेषगरी युवाहरुमा राजनीति पार्टी र नेतृत्व प्रति वढी गुनासो छ । यस्तो अवस्थामा हुन लागेको कांग्रेस महाधिवेशन नेतृत्वका लागि निर्वाचनमा मात्र केन्द्रित हुनु हुन्दैन । राष्ट्रियता भनेको माटो र भुगोलमात्र होइन त्यहांका जनता हुन् भन्ने कांग्रेसका आदर्श जननायक विपी कोइरालाको अभिव्यक्ति भित्र मधेशमा देखिएको विद्यमान अस्थिरता समाधान खोज्न सकिन्छ । यो महाधिवेशन कांग्रेसका आगि मधेश समस्या वुझ्ने र यसलाई सम्वोधन गर्ने अवसर पनि हो । कांग्रेस महाधिवेशनले मधेशमा देखिएको विद्यमान अवस्थाको समाधानमा स्पष्ट धारणा वनाउनै पर्छ । यसले समस्याको निकासमा पनि सहयोग पुर्याउंछ । मधेश समस्या के हो ? यो वुझ्न त्यहांका कांग्रेस कार्यकर्ताको भोगाई र धारणा सुने पुग्छ ।

मधेश कांग्रेसको आधार क्षेत्र पनि भएकाले अहिले देखिएको अवस्थालाई महाद्यिवेशनले गम्भिर भएर विश्लेषण गरी ठोस निष्कर्षमा पुग्नै पर्छ । यो देशका लागि निकास निकाल्न समेत सहयोगी हुने छ । कांग्रेस नेतृत्वको सरकारले संविधान जारी गर्ने एतिहासिक जिम्मेवारी पुरा गरेकोछ । तर, नयां संविधान जारी भएलगत्तै मधेश अशान्त छ । त्यहां नेपाली कांग्रेसको वाहुल्यता भएपनि संविधान जारी भएपछि कयौं पार्टीका स्थानिय नेता र कार्यकर्ताहरु मौन वस्न वाध्य भएका छन् । मधेशलाई विद्यमान अवस्थावाट पार लगाउने जिम्मेवारी पनि कांग्रेसको वढी छ । महाधिवेशनले यो अवसर गुम्न दिनु हुदैंन ।

मधेश अशान्त भएसंगै निकट छिमेकी देश भारतसंगको सम्वन्धमा पनि जटिलता आएका छन् । १७ सय किलोमिटर लामो खुला सिमा रहेको नेपाल भारत सम्वन्ध अहिले निकै चुनौतीपुर्ण स्थितिमा पुगेको छ । निकट भौगोलिक,सामाजिक र आर्थिक समवन्ध रहेको उच्च आर्थिक बृद्धिदरका साथ अघि वढीरहेको निकट छिमेकी भारतसंग चिसो सम्वन्ध राखेर अघि वढ्नु दुबै देशका लागि फाइदाजनक छैन । असल र सहयोगपुर्ण सम्वन्धले दुवै देशलाई फाइदा पुग्छ । झण्डै ६५ प्रतिशत अन्तराष्ट्रिय व्यापार र समुन्द्रि मार्गका लागि भारत निर्भर रहेकालेपनि दुई देश विचमा अविश्वास कंही कतै रहनु हुदैंन । स्थापना कालदेखिनै

कांग्रेसको भारतसंग पुरानो र भरोसापुर्ण सम्वन्ध रहदैं आएको छ । दुई देश विचको समन्धलाई कसिलो वनाउने के के आधार हुन यसवारेमा पनि देशको ठुलो पार्टी भएकाले केही दिशा निर्देश गर्न सक्नु पर्छ । महाधिवेशन पार्टी यसमा स्पष्ट हुने र देशलाई यस अनुसार निकासका लागि अग्रसर वनाउने अवसर पनि हो । कांग्रेसको अर्को जिम्मेवारी देशको अािर्थक र पुर्वाधार विकासलाई दु्रत वनाउने हो । जलस्रोतको धनी देश नेपालमा किन लोडसेडिगं हुन्छ । किन ठुला जलविद्युत आयोजना बन्दैनन् । देशका किन युवाहरुले रोजगारी पाउन सकेका छैनन् र किन दैनिक करिव १५ सय युवाहरु रोजगारका लागि विदेश जान्छन् ? आम जनताका आर्थिक विषयसंग जोडिएका यस्ता थुप्रै प्रश्नहरु छन् । २०४७ साल यता सवैभन्दा वढी समय सत्तामा वसेकाले पनि कांग्रेस प्रति यी प्रश्न आक्रमक रुपमा गरिन्छ ।

माओवादी द्धन्द्ध, राजनीतिक अस्थिरता, राजसंस्थाको सकृय हुने दाउपेचले कांग्रेस वढी समय सत्तामा वसे पनि उक्त अवधिमा निर्धक्क भएर आर्थिक विस्तार र पुर्वाधार विकासका लागि काम गर्न पाएन । अर्थनीति प्रति कांग्रेसको नीति स्पष्ट हुदां हुदै पनि देशमा बामपन्थी विचार राख्ने पार्टीहरुका कारण आर्थिक सुधारले पनि अपेक्षित गति लिन सकेन । देशको अािर्थक दु्रत आर्थिक विस्तार, पुर्वाधार निमार्ण र भुकम्प प्रभावित क्षेत्रमा पुर्ननिमार्णमा अघि वढ्नु पर्ने चुनौती देशका अगाडी छ । नेपाल पुंजी अभावमा गरिब भएको होइन । भुकम्प प्रभावितका लागि कांग्रेस नेतृत्वको सरकारले आयोजना गरेको दाता वैठकमा अरबौं रुपैंयाको प्रतिवद्धता आयो । तर, यो पैसा हामीले अहिलेसम्म आवश्यक ठाउंमा पुर्याउन सकेका छैनौ । दाताहरुले कयौं विकास योजनामा दिन्छु भनेर कवोल गरेको रकम पनि काम नहुदां आएको छैन ।

विदेशमा रोजगार गर्नेले करिब ८ अर्ब रुपैंया देशमा पठाउंछन् । रेमिट्यान्स उपयोगमा वढी खर्च भईरहेको छ यसले आयातलाई प्रोत्साहनमात्र गरिहरेको छ । गैर आवसिय नेपाली समेत ठुलो रकमका पुर्वाधार योजना वनाउन सक्षम भईसकेको छन् । खाली यो अवसरलाई व्यवहारमा उपयोग गर्न सक्ने दृढ नेतृत्व देशलाई चाहिएको छ । देशको आर्थिक विकास र पुर्ननिमार्णका कांग्रेस नेतृत्व दिन सक्षम छ, यो सन्देश महाधिवेशनले दिन सक्नु पर्छ । राजनीतिमा युवा पिढी आउनु पर्यो भन्ने पनि आम चाहना छ । यी चाहनाकै कारण कहिले कांही नयां शक्तिको चर्चा पनि हुने गर्छ । युवाहरुको यो चाहनालाई कांग्रेसले नै पुरा गर्नु पर्छ । पार्टी युवाहरुकै कारण मजबुत हुने हो । महाधिवेशनले देशका तमाम युवाहरुको चाहनालाई वुझेर कांग्रेस नै नयां शक्ति हो भन्ने सन्देश दिन सक्नु पर्छ । कांग्रेसको नेतृत्वमा आईसकेको युवा पुस्ताले पनि यसका लागि पार्टी भित्र दवावहरु सृजना गर्नु पर्छ ।

कांग्रेस देश भित्र मात्र होइन जनसम्पर्क समितिहरु मार्फत विदेशमा पनि नेपाली समुदाय माझ फैलिरहेको छ । कांग्रेसलाई आर्थिक सहयोग दिने देखि देशलाई अप्ठ्यारो पर्दा सहयोग गर्न विदेशमा वस्ने नेपाली समुदायको सकृयता पनि कम छैन । देशलाई परेको वेला सहयोग दिन संधै तत्पर छन् भन्ने थुप्रै उदाहरणहरु छन् । विदेशमा वस्ने नेपाली समुदायको चाहना पनि देशमा आर्थिक र समाजिक विकास होस भन्नेछ । कांग्रेसले देशका समस्या समाधानमा नेतृत्व दायी भुमिका लिनु पर्छ भन्ने मान्यता राख्नेहरु छन् । चुनौती र अप्ठ्यारो वेला आश जगाएर आएको महाधिवेशनलाई अवसरका रुपमा नेपाली कांग्रेसले लिन सवल हुने छ भन्ने आशा गरौं ।
(भण्डारी नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदश्य हुन् । )

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...