Monday, February 29, 2016

चितवनका अस्पतालको डेडिकेटेड फिडर काटियो

चितवन, १८ फागुन । चितवनका निजी अस्पताल र मेडिकल कलेजमा जोडिएको डेडिकेटेड फिडर सोमबारदेखि काटिएको छ ।

यहाँका ११ निजी अस्पताल र दुई मेडिकल कलेजमा विद्युत्भार कटौती नहुने गरी डेडिकेटेड फिडरबाट विद्युत् जडान गरिएको थियो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले सोमबार डेडिकेटेड फिडर काटेर सिटी फिडरबाट लाइन जोडिदिएको छ ।

वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलले माथिको आदेशअनुसार नै डेडिकेटेड फिडर काटिएको बताउनुभयो ।

यता निजी अस्पताल समन्वय समिति चितवनका सचिव तथा नारायणी सामुदायिक अस्पतालका प्रबन्ध निर्देशक पुष्प धिताल भने पुनरावेदन अदालत हेटौँडाले सात दिनअघि अन्तरिम आदेश जारी गरी नकाट्ने भने पनि प्राधिकरणले काटेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “अदालतले सात दिनको म्याद दिएको थियो, सोमबार सात दिन पुगेपनि अदालतमा भएको छलफलपछि पुनः मुद्दाको किनारा नलागेसम्म विद्युत् नकाट्न आदेश दिएको छ । तर प्राधिकरणले किन काट्यो हामीलाई थाहा छैन ।”

इञ्जिनियर पौडेल भने अदालतको आदेश आधिकारिक रुपमा आफूकहाँ आइनपुगेको र माथिको आदेशअनुसार काटेको बताउनुहुन्छ । अदालतको आदेश आए केन्द्रमा समन्वय गरेर सोहीअनुसार अघि बढ्ने उहाँले बताउनुभयो ।

अस्पतालले भने विद्युत् काटिएसँगै शल्यक्रियालगायतका काम अस्पतालले रोक्नुपर्ने अवस्था आएको बताएका छन् । सचिव धिताल १३ घन्टाको विद्युत्भार कटौतीमा मेडिकल उपकरण सञ्चालन गर्न नसकिने बताउँदै सेवा रोक्नुको विकल्प नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो –“ठूलो दुर्घटना भएमा त्यसको व्यवस्थापन गर्न मुस्किल हुने अवस्था सिर्जना भएको छ ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...