Thursday, February 25, 2016

अमेरिकाको जनसम्पर्क समितिको विवाद र संस्थाको हितमा कार्य गर्न समितिको आग्रह  

anand bista

न्यूयोर्क,अमेरिका| नेपाली जनसम्पर्क समिति,अमेरिका एकपटक फेरि आन्तरिक विवादमा तानिएको छ | मातृपार्टी नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सात जना महाधिवेशन प्रतिनिधि चयन गरी समितिका सभापति आनन्द विष्ट नेपाल उडेपछि समितिभित्रका केही पदाधिकारीहरुले विष्टले विधि,विधान विपरित प्रतिनिधि चयन गरेको आरोप लगाएर वक्तव्यबाजी गरेपछि समितिको विवाद सतहमा आएको हो | गतवर्ष नोभेम्वरमा टेक्सासको डाल्लासमा एकताको अधिवेशन सम्पन्न भएसंगै विवाद अन्त भएको समितिका नेताहरुको भनाई रहँदै आएको थियो | तर अहिले प्रतिनिधि चयनको विषयलाई लिएर वक्तव्यवाजी हुँदै असन्तुष्ट पक्षले अर्को लिष्ट सार्वजनिक गरेपछि अमेरिकाका कांग्रेसीहरु कहिल्यै नमिल्ने भए भन्ने टिप्पणी सुन्न थालिएको छ | असन्तुष्ट पक्षले सभापति विष्टले आफूखुशी निर्णय गरी प्रतिनिधि चयन गरेर नेपाल उडेको र केन्द्रीय समितिमा अनुमोदन समेत नगराएको आरोप लगाएको छ | तर समितिकै उप-सभापति समेत रहेका प्रतिनिधि छनौट समितिका एक सदस्य केशब बराल भने यस्तो आरोपमा कुनै सत्यता  नभएको जवाफ दिनुहुन्छ | ‘प्रतिनिधि छनौट समितिले गरेको निर्णयलाई केन्द्रीय कार्य समितिको अत्यधिक बहुमत सदस्यहरुको समर्थन छ | यदि कसैलाई समितिको निर्णयप्रति चित नबुझेमा कार्यसमितिका बहुमत सदस्यको समर्थन लिएर लिखित रुपमा बैठक डाक्न पाउने र छलफल गर्न पाउने सबैमा अधिकार छ |सैयौं उपयुक्त साथीहरुबाट सात जना प्रतिनिधि छनौट गर्ने कुरा आफैमा अत्यन्त कठीन काम हो | अब आउने १४ औ अधिबेसनका लागि प्रतिनिधि छनौट कार्य कार्य समितिको निर्वाचनसंगै हुनु जरुरी देखिएको छ | सबै साथीहरुले जिम्मेवार र अनुशासित भएर आ आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ’ भन्दै बरालले थपे,-‘सस्तो लोकप्रियताका लागि आरोप लगाउन सजिलो हुन्छ,तर जिम्मेवारीमा बसेका साथीहरुले आफ्नो मर्यादा र अनुशासनलाई समेत ख्याल गर्ने हो भने मात्र संगठनको गरिमा रहन्छ |

बरालका अनुसार,सभापति विष्टले समितिको विद्यमान विधानमा आफुलाई दिएको अधिकार प्रयोग गरी छनौट समिति बनाएर काम गरेका छन् | ‘यसमा विष्टले विधि,विधान मिचेको भन्नेहरुलाई एकपटक विधानको दफा २३(एफ) हेर्न म आग्रह गर्दछु | विधानमा प्रष्ट भनिएको छ,’केन्द्रीय सभापतिले नेपालमा आवद्धता रहेको मातृ पार्टीको अधिवेशनमा प्रतिनिधि चयन गर्न पूर्व सभापति एवं अधिवेशन तयारी समितिका पूर्व संयोजक र अरु थप तीन जना सदस्य सहितको पाँच सदस्यीय समिति गठन गर्नेछन् |’ यही विधानले दिएको अधिकारलाई प्रयोग गर्दै विष्टले  आफ्नै संयोजकत्वमा पाँच सदस्यीय समिति पनि गठन गरे | समितिमा पूर्व संयोजक विष्णु सुवेदी,उप सभापति केशब बराल र सल्लाहकारद्वय मुकुन्द ढुंगाना र हरिनारायण सापकोटालाई सदस्य मनोनित गरेर विष्टले छनौट समितिको काम अगाडी बढाए |

सदस्य केशब बरालले दिनु भएको जानकारी अनुसार, सभापति विष्टकै आग्रहमा समितिले फेब्रुअरी १६ मा च्याप्टर सभापति,फेब्रुअरी १७ मा सल्लाहकार समिति र फेब्रुअरी १८ मा केन्द्रीय समितिसँग तीन दिन लगातार छुट्टाछुट्टै कन्फरेन्स कल बैठक सम्पन्न गरेको थियो | ‘अहिले विवाद सिर्जना गर्ने पदाधिकारीहरु स्वयम् बैठकमा हुनुहुन्छ | त्यसको प्रमाण मसँग सुरक्षित छ | च्याप्टर सभापतिसँगको बैठकमा हामी २३ जना सहभागी थियौं जुन दिन हामीले १,९१६ मिनेट समय छलफल गरेका छौं,भोलिपल्ट १७ तारिखको सल्लाहकार बैठकमा हामीले २५ जनाका बीचमा १,७५१ मिनेट छलफल गरेका छौं,अनि १८ तारिखको केन्द्रीय समितिको बैठकमा हामीले यसै विषयमा ३६ जनाको बीच २,९०५ मिनेट समय छलफल गरेका छौं | यसको रेकर्ड हामीले पार्टी कार्यालयमा बुझाएका छौं,अभिलेख सार्वजनिक गर्न म आफैंले बैठक संयोजन गरेको हुँदा मलाई कुनै आपत्ति छैन | आज आफ्नो व्यक्तिगत स्वार्थ पुरा हुन नसकेपछि संगठनको अनुशासन र मर्यादाभन्दा बाहिर गएर संस्थाको लेटरहेड दुरुपयोग गर्दै जथाभावी वक्तव्यबाजी गर्ने कार्य आफैमा घातकसिद्ध हुन सक्दछ |’  ‘त्यसो भए अब के त,समिति फेरि विभाजित हुने भो’ भन्ने जिज्ञासामा बरालको भनाइ थियो,-‘पक्कै पनि धेरै साथीहरु महाधिवेशनमा पठाउन सके हाम्रो पनि गौरब बढ्थ्यो,धेरै जिम्मेवार साथीहरुलाई सिमित संख्या भएका कारण समेट्न सकिएन,समितिमा स्थापनाकालदेखि निरन्तर खटिरहनु भएका कतिपय जिम्मेवार साथीहरु छुट्नु भएको छ,धेरै आकांक्षी भएका कारण सात जनाभित्र सबैलाई समेट्न सकिएन,यो पक्षलाई सबैले बुझ्नुपर्छ | फेरि महाधिवेशन भनेको नियमित प्रक्रिया हो न कि एकपटक भएर सकिने | तसर्थ भोली पनि पालो आउँछ,त्यसकारण आफु नपर्नासाथ विरोधमा उत्रिनुले  त्यस्तो व्यक्ति संगठनको हितका पक्षमा होइन,आफ्नो स्वार्थका लागि संगठनमा जोडिएको रहेछ भनेर बुझ्नुपर्ने हुन्छ | तसर्थ मलाई लाग्छ,कोही पनि जिम्मेवार साथीहरुले अब आउने दिनहरुमा अनुशासित भएर संगठनको हितमा कार्य गर्नु हुनेछ |’

यसैगरी समितिका सल्लाहकार समेत रहनु भएका प्रतिनिधि छनौट समितिका अर्का सदस्य मुकुन्द ढुंगानाले पनि आफ्नो असन्तुष्टी समितिभित्रै मर्यादित रुपमा राख्दा राम्रो हुन्छ भन्दै असन्तुष्ट पक्षलाई विरोधका लागि जथाभावी वक्तव्यवाजी नगर्न आग्रह गर्नु भएको छ | ‘सभापतिले दिएको जिम्मेवारी अनुसार हामीले सबै पक्षसँग चरणवद्ध रुपमा छलफल गरेर हामी पाँचै जना न्यूयोर्कमा एकै ठाउँ बसेर पूर्ण सहमतिमा प्रतिनिधि चयन गरी गरेको हस्ताक्षरसहितको माइन्युट हामीले सभापति विष्टमार्फत पार्टीमा बुझाई सकेका छौं | सभापति आनन्द विष्टले सधैं साथीहरुसँग छलफल गरेर संस्थागत निर्णय गर्ने काममा हदसम्मको लचकता देखाउनुलाई सबैले सकारात्मक रुपमा लिनुपर्छ,उहाँले विधान सम्मत ढंगले काम गर्नु भएको छ,हामीले पदमा रहेका र बाहिर रहेका सबै जिम्मेवार साथीहरुसँग छलफल गरेर सर्वसम्मत निर्णय गरेर पार्टीलाई बुझाएका हौँ | साथीहरुले संगठनको मर्यादा र गरिमा राख्न सक्नुपर्छ,आफु परे सबै ठीक,आफु नपरे सबै गलत भन्ने मानसिकता त्याग्नुपर्छ |’

असन्तुष्ट पक्षले सभापतिले प्रतिनिधि चयन गर्दा क्षेत्रीय सन्तुलन कायम गर्न नसकेको भन्ने गुनासो बारे उप सभापति समेत रहेका बरालले चाहिं यति मात्र भने,’धेरै साथीहरु समितिको जिम्मेवार भूमिकामा हुनुहुन्छ,त्यसैले यसपटक भूमिकामा नरहेका साथीहरुलाई समेट्ने क्रममा छलफल गर्दा क्षेत्रीय सन्तुलन नमिलेको जस्तो देखिएला तर महिला,पुराना जिम्मेवार साथीहरु,निरन्तर क्रियाशील साथीहरु,भौगोलिक अवस्थिति,सदस्य संख्याको आधारमा प्रतिनिधित्व जस्ता पक्षहरुलाई पनि निर्णय तहमा बसेर काम गर्दा ध्यान दिनुपर्छ | हामीले यही आधारमा निर्णय गरेर पार्टीलाई बुझाई सकेका छौं,तसर्थ म फेरि पनि साथीहरुलाई आग्रह गर्छु,हाम्रो यात्राको गन्तव्य निकै लामो छ, लामो यात्रामा सहभागी भएका हामीहरुले आवेश,आक्रोश र व्यक्तिगत मोह,स्वार्थ त्यागेर मात्र गन्तव्यका लागि अघि बढ्नुपर्छ | आफ्नो होइन संस्थाको हितका लागि आफुलाई समर्पित गरौँ |’

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...