Tuesday, February 23, 2016

धार्मिक सभाभवन निर्माण गर्न महायज्ञ

इटहरी, १२ फागुन । श्रीसदगुरु नादानुसन्धान प्रकाश केन्द्र दुहवीभलुवा–१० पचिरामा आजदेखि साताव्यापी श्रीमद्भागवत सप्ताह धनधान्याञ्चल ज्ञान महायज्ञको शुभारम्भ हुने भएको छ ।

हरेक वर्ष माघ पूर्णिमाको दिन नेपाल तथा भारतका समेत हिन्दू धर्मावलम्बीहरुको विशाल सहभागितामा सतसङ्ग भण्डारा लगाइँदै आएको सो मन्दिर ज्यादै प्राचीन मन्दिरका रुपमा रहेको बताइएको छ । मन्दिर क्षेत्रमा सतसङ्ग धार्मिक सभाहल निर्माण गर्ने पवित्र उद्देश्य राखेर श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायक्ष आयोजना गर्न लागिएको आयोजक समितिमा सचिव छरीलाल चौधरीले हिजो यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

भलुवा पचिराका समाजसेवी छुल्ली गच्छदारले प्रदान गर्नुभएको १९ कट्ठा तथा नाद सम्प्रदायको १२ कट्ठा जमिनसहित हाल डेढ बिगाहा जमिन क्षेत्रमा फैलिएको मन्दिरको महत्वलाई अझ विस्तारित गर्नका लागि महायज्ञको आयोजना गरिएको शशि गच्छदारले उल्लेख गर्नुभयो ।

महायज्ञलाई भव्यताकासाथ सम्पन्न गर्न आज बिहान प्रचारप्रसारसँगै जनजनमा महायज्ञबारे जागरण फैलाउन र मानव शान्तिको कामना गर्दै दुहबीदेखि भलुवा पचिरासम्म विशाल शोभा कलशयात्रा गरी आज दिउँसो १ बजे कार्यबाहक प्रधानमन्त्री विजयकुमार गच्छदारबाट महायज्ञको विधिवत् उद्घाटन हुने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष बोधनारायण गच्छदारले बताउनु भयो ।

महायज्ञबाट कम्तीमा रु एक करोड दान सङ्कलन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको र सो रकमबाट मन्दिर परिसरमा सतसङ्ग धार्मिक सभाकक्षलगायतका भौतिक पूर्वाधारको निर्माण हुने र त्यसका लागि चर्चित विद्वान् पण्डित दिनवन्धु पोख्रेलबाट सङ्गीतमय कथा वाचन हुने कार्यक्रम रहेको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...