Tuesday, March 29, 2016

मानौँ या नमानौँ हामी सबै हनुमान

image2

हुन त नेपालले लोकतान्त्रिक गणतन्त्रको पगरी भिरेको झण्डै एक दशक हुनै आँट्यो, तीन करोड नेपाली जनताका सपनाहरू ढकमक्क फूल्ने बेला भईसक्यो।
जनताले तत्कालीन राजा बिरुद्द दमदार आन्दोलन गरे, अजेय शक्ति जनताको अगाडि राजाको के लाग्थ्यो, कहिल्यै नउठ्ने गरि राजतन्त्र ढल्यो अनि त्यहि बेला धेरै नेपालीको आशाको धरहरा खडा भयो : सुन्दर, सभ्य , विकसित र भ्रष्टाचार मुक्त नयाँ नेपालको।
सतीको श्राप परेको देश भन्थे बुढापाकाहरू ! यहाँ फेरि पनि केहि सकारात्मक परिवर्तन भएन, भयो त केहि टोपी बदलेका पुरानै लोभिपापीहरुको, केहि नव जन युवराजहरु र उनका हनुमानहरूको।
यस आलेखमा बिभिन्न खाले हनुमानहरुको बारेमा चर्चा गर्न खोजिएको छ, यद्यपि सबै हनुमानहरुको चर्चा गर्न यहाँ सम्भव छैन।
पंचायतदेखि बहुदल हुँदै गणतन्त्रको आजसम्मको अवस्थामा देशमा यिनै हनुमानहरुको बोलवाला रह्यो र हरेक ब्यवस्थामा सत्ता र शक्ति मार्फ़त यिनीहरुले नै रसस्वादन गरिरहे । राजनीतिक पार्टी, निजामती कर्मचारी, गैर सरकारी संस्था, ब्यापारिक फर्म र सेना पुलिस सबैमा ब्याप्त यो हनुमान तन्त्र ऐजेरू जस्तै फैलिरह्यो ।
अर्थात कालोलाई सेतो र सेतोलाई कालो बनाउन हनुमानहरु हावी भैरहे । तपाई हामीले प्रतक्ष परोक्ष मल जल गरिरह्यौ ।
माथि उल्लेखित हनुमान मध्ये राजनीतिक पार्टीको झन्डामुनिका हनुमानहरू सबैभन्दा घातक र शक्तिशाली भएको मेरो निष्कर्ष हो। नेतृत्व नीतिले चल्नु पर्ने हो तर आजसम्म त्यो नभएर आफू अनुकुल नीति नै परिवर्तन भई नै रहेको छ । त्यहि आडमा हामी पनि धेर थोर हनुमान बनिरहेका छौ ।

राजनीतिक हनुमानतन्त्रका केहि उदाहरण हेरौं: राष्ट्रियताको कोपभाजन गरेर सत्ता बचाउन संबिधानकै मर्मको निर्मम बलात्कार गरी मन्त्री र मन्त्रालय बढाउँदा सत्तासिन पार्टीका हनुमानहरू भन्छन्: यो सरकारको बाध्यता हो। यसो भनिरहँदा उनीहरुको हनुमानतन्त्रले कुनै भागवण्डामा आफ्नो हिस्सा सुरक्षित गरिरहेका हुन्छन्। अर्थात सत्य के हो भने तिनै हनुमानहरु सरकारको प्राण भरिरहेका हुन्छन्।
अर्को थरी हनुमानहरु त्यहि भरेको प्राण फुत्क्याउन उद्दत भईरहेकै देखिन्छ ।
आफ़्नो पार्टी र नेतृत्वले गरेका खराब काम कारबाहीलाई अहिलेसम्म कुनै पार्टीका कार्यकर्ताले अवज्ञा गरी कडा बिरोध गरेको सुन्न नपाईनु हनुमान तन्त्र हैन र ?
त्यसै गरि बिपक्षका कामहरुलाई आँखा चिम्लेरै बिरोध गरिरहनु पनि पक्कै हनुमानतन्त्र हो ।
सरकारका मन्त्रीहरु उद्घाटन र समापनमा उखान टुक्का भनेर र चलचित्रको कथा हेरेर रोएर समय खर्च गर्छन् । साँच्चै भुकम्पले दरफरिएका मान्छेहरुका त्रिपाल हावाले उडाउँदा पनि बेखवर छन । त्यहि भुकम्प पछिको महानिर्माण प्राधिकरणका सिईओ काम शुरु नगर्दै भ्रष्टाचारमा मुछिन्छन । आज भन्दा पहिलेका सरकारहरु पनि यस्तै दुरुस्तै थिए।
संबैधानिक निकाय देखि सबैतिर भागवण्डा गरि आ-आफ्ना नजिकका ब्यक्ति नियुक्त हुने, कुटनीतिक निकायहरुमा भागबन्डा नमिल्दा पनि निकाय ख़ाली हुने तर भुकम्प पीडित एउटा जिल्लाको पुरै संरचना बनाउन पुग्ने अरबौं रकमको ब्यय भार थोपरी मन्त्रालय टुक्राएर ढुकुटी रित्याउदा कार्यकर्ता पंक्ति चूँ नबोल्नु हनुमानतन्त्र नभएर के हो ?
त्यसै गरी हिजो जनताका नाममा जनयुद्द छेंडेर लुटेको करोंडौं रकमको हिसाब नखोज्नु , बाघ कराएको बाख्रो हराएको भने जस्तै नेता र कार्यकर्ता एकाएक सुकिला देखिनु र दिनदिनै भ्रष्टाचार मौलाउनु हनुमानतन्त्र नभएर के हो?
त्यसै गरी कुनै बेला सरकारले गरेका राम्रा कामलाई भएभरको शक्ति लगाएर बदनाम गराउने र नराम्रा कामलाई राम्रो सिद्द गराउने पत्रकारिता नयाँ युगको नवहनुमानवाद नभएर के हो ? राम्रो कुरालाई राम्रै प्रतिकृया दिनु पर्दैन र ? के हनुमानहरुको कित्तै पिच्छे छुट्टै पुच्छर हुन्छ र ?
केहि समय अघि अख़्तियारले केहि शंकास्पद भ्रष्टाचारीको सम्पत्ति रोक्का गरि छानबिन शुरु गर्दा ठूलै तरंग मच्चियो, अक्तियार प्रमुखलाई महाअभियोग लगाई हटाउने कुरा चल्यो तर हिजोका कंगाल नेता तथा कर्मचारीहरुको आर्थिक कायापलटको बारेमा अनुसंधान हुनुपर्छ भनेर भन्न नसक्नु हनुमान तन्त्र नभएर के होला ?
त्यसै गरी हिजो भ्रष्टाचारको आरोप प्रमाणित भई जेल बसेर छुट्दा खुम बहादुर र जयप्रकाशहरूलाई फूल मालासहित जयजयकार गर्नु र तिनै खुम बहादुरले पार्टीको महाधिवेशन मा सर्बाधिक मत प्राप्त गर्नु (साँचो भन्ने हो भने ) हनुमान तन्त्र नभएर के हो ? के जनताले देख्न चाहेको लोकतन्त्र यहि हो ?
लोकतन्त्र पश्चात झन धेरै हनुमानहरुको उदय भईरहेको तितो सत्य अब स्विकार्नै पर्ने हुन्छ। राजनीतिक शेरोफेरोमा रहि देश दोहन गर्ने राजनैतिक पार्टीका कार्यकर्ता , निजामति कर्मचारी, संस्थान, ब्यापारी, गैर सरकारी संस्था, सेना प्रहरी , स्थानीय निकाय र ब्यक्तिहरुले आफू अनुकुल स्वार्थ पूर्ति गर्न सहि लाई सहि र गलतलाई ग़लत भन्न नसक्दा जनताले लोकतन्त्र प्रति नै घृणा गरिरहेको अवस्थामा लोकतन्त्र बिरोधि शक्तिहरु हावी हुदै गएको प्रति सचेत हुने कि नहुने ?
एउटा सानो काम गर्न पनि कसैको दौरा नसमाती नबनेपछि घुस र जुस खुवाउने परोक्ष हनुमान हामी पनि त हो नि !
हाम्रै स्वार्थका लागि स्कुलहरु बन्द गर्छौं अनि बालबालिकालाई अज्ञान बनाउँछौ र एकै चोटी माथि आरक्षण खोज्छौ, समस्या जरामा छ हामी हाँगामा पानी हाल्छौं , के यो हनुमानतन्त्र हैन र ?
हनुमानहरूको क्षेत्र विश्वब्यापी छ, तर नेपालमा जस्तो हनुमान तन्त्र कतै मौलाएको छैन। यहाँका हनुमानहरु त्रेतायुगका भक्त हनुमान जस्ता छैनन यी त ब्वासाहरु जस्तै निर्जज्ज लुट्न उद्दत छन ।
अब के हुन्छ ?
– नेपालको राजनीतिदेखि कर्मचारीतन्त्रसम्म अनि तपाईं हामी सम्म मौलाएको यो हनुमानतन्त्र यसै गरी हावी रहने हो भने:
-अझै पनि राजनीतिक पार्टीका कार्यकर्ताले नेता तथा नेतृत्वले र कर्मचारीतन्त्रले गरेका खराब काम कारवाहीलाई हनुमानले पर्वत उचाले जस्तै उचालिरहने हो भने-
-अझै पनि देशको ढुकुटीलाई लगातार बिभिन्न बहाना बनाएर रित्याउन दिने र ताली ठोकिरहने हो भने,
अझै पनि मेरो दल र तेरो दल भन्दै राम्रो काम गर्नेलाई बिरोधका लागि बिरोध मात्रै गरिरहने र राम्रो काम गर्न खोज्नेहरुको जरो खन्ने मात्रै हो भने,
नेपाल असफल राष्ट्र हुनबाट कसैले बचाउन सक्ने छैन,अझै समय छ : आउनुस भ्रष्टाचार, नातावाद, अपारदर्शिता, अविकास र असमानताको काखी च्याँप्ने हनुमानतन्त्रको होइन आफ़्नो विबेकशिलताको प्रयोग गरि स्वाभिमान बनौं। जसले गरेपनि कालोलाई कालो र सेतोलाई सेतो भन्ने बानीको बिकास गरौं। समुन्नत नेपाल तपाईँ हाम्रै पालामा बन्छ।
त्यसैले लेख्नेहरु स्वतन्त्र लेखौं, राजनीति गर्नेहरुले दलको चश्मा फुकालौँ , पढ्नेहरुले ठिक बेठिक छुट्यायौ, जागिर गर्नेहरु निष्ठा र ईमान्दारले गरौँ ।
देश बन्न कुनै वाद हैन , सबैको साथ चाहिन्छ । ढिलो भैसक्यो ! उठ्ने पो कहिले हो ?

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...