Friday, March 25, 2016

पशुपालन व्यवसायको विकासमा मन्त्रालयले गम्भीर छ: मन्त्री मानवी

shanta-manabiरत्ननगर (चितवन), १३ चैत । पशुपक्षी विकास मन्त्री शान्ता मानवीले नेपालमा अनुत्पादक पशुको व्यवस्थापन ठूलो चुनौतीको रुपमा रहेको बताउनुभएको छ ।

चितवनमा राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाजको शुक्रबारदेखि सुरु प्रथम राष्ट्रिय साधारणसभामा बोल्दै उहाँले यसतर्फ आफ्नो पनि गम्भीर ध्यानाकर्षण भएको जनाउनुभयो ।

बूढी भएका गाईको व्यवस्थापनमा ठूलो समस्या रहेको भन्दै उहाँले यसको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

“यस्ता गाईलाई एउटा फार्म बनाएर राखी त्यसबाट मलमूत्र सङ्कलन गरेर कृषि उत्पादनमा लगाउन सकिन्छ,” मन्त्री मानवीले भन्नुभयो, “अनि मरेपछि हाड, छालालगायतका अवशेष पनि उपयोग गर्न सकिन्छ, त्यसतर्फ ध्यान जानुपर्छ ।”

मन्त्री मानवीले सरकारले अहिले पशुपालन व्यवसाय विकासका लागि ४० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको पनि स्मरण गराउनुभयो ।

मन्त्री मानवीलाई देशका विभिन्न जिल्लाबाट आएका किसानले पशुपालनका विषयमा ११ बुँदे मागपत्र समेत बुझाएका छन् ।

मागपत्रमा सहुलियत ब्याजमा ऋण दिनुपर्ने, अनुत्पादक पशुको व्यवस्थापन गर्नुपर्ने, मेसिनरी र भौतिक पूर्वाधारमा अनुदानको व्यवस्था गर्नुपर्ने, घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्नुपर्नेलगायतका माग रहेका छन् ।

मागपत्र ग्रहण गरेपछि मन्त्री मानवीले किसानका माग जायज भएको प्रतिक्रिया दिँदै एक वर्षमा अन्डा, दुई वर्षमा दूध र तीन वर्षमा मासुमा आत्मनिर्भर हुने गरी अघि बढ्न किसानलाई आग्रह गर्नुभयो ।

यसैबीच शुक्रबार नै समाजले पत्रकारितामार्फत पशुपालन तथा दुग्ध व्यवसायमा महत्वपूर्ण योगदान दिएको भन्दै चितवनका राससकर्मी नारायण ढुङ्गानासहित नौ जना पत्रकारलाई सम्मान गरेको थियो ।

यस्तै विभिन्न क्षेत्रमा क्रियाशील किसानलाई समेत सम्मान गरिएको थियो । भेलामा देशका ४० जिल्लाबाट किसान सहभागी भएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...