Friday, March 4, 2016

ऊर्जा सङ्कट समाधानको वैकल्पिक व्यवस्था गरिने: अर्थमन्त्री

bishnu paudelपोखरा, २१ फागुन । अर्थमन्त्री विष्णु पौडेलले अहिले देशमा देखिएको चरम ऊर्जा सङ्कटको समाधान नगरी आर्थिक समृद्धि र विकास असम्भव भएको बताउनुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि पोखरा प्रदर्शनी केन्द्रमा सञ्चालन भएको राष्ट्यि औद्योगिक व्यापार मेलाको आज उद्घाटन गर्दै मन्त्री पौडेलले बायोग्यास, सौर्य ऊर्जा र साना तथा ठूला जलविद्युत् आयोजना सञ्चालन गरेर ऊर्जा सङ्कटबाट देशलाई छिटो मुक्त पार्न सरकार वैकल्पिक प्रयासका लागि निरन्तर लागेको धारणा राख्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा चीनको एक्जिम बैंकसँग ऋण सम्झौता सम्पन्न भएलगत्तै पोखरामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने जानकारी गराउँदै उहाँले विमानस्थल निर्माणको लागि बाँकी सबै प्रक्रिया पूरा भएको उल्लेख गर्नु भयो ।

अर्थमन्त्री पौडेलले भूकम्प र नाकाबन्दीबाट थलापरेको उद्योग क्षेत्रलाई राहत दिन सरकारले रु एक खर्बको पुनः उद्धारकोष स्थापना गरेको र यसबाट उद्यमीले पुनः उद्धारकर्जा प्राप्त गरी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

व्यवस्थापिका संसद विकास समितिका सभापति रवीन्द्र अधिकारीले पोखराको पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देशको आर्थिक समृद्धि र विकास तर्पm अबको बजेट केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा अर्थमन्त्री पौडेलले रु १० हजार राशिको उत्कृष्ट महिला पुरस्कार महिला सीप विकास संस्थालाई प्रदान गर्नुभयो ।

सङ्घका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा भएको सो समारोहमा नेपाल अटोमोबाइल डिलर एसोसिएसनका अध्यक्ष ध्रुव थापा, कम्प्युटर एसोसिएसनका अध्यक्ष चिन्तामणि बास्तोला, पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष रामकृष्ण ज्ञवालीलगायतका वक्ताले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

राष्ट्को औद्योगिक, कृषिजन्य तथा हस्तकलाका उत्पादन, सूचना, प्रविधि, शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको हो ।
प्रदर्शनी केन्द्रको डोममा विशेष प्रकारका ७८ वटा सूचना प्रविधि सम्बन्धी स्टलसहित ३०६ वटा स्टल राखिएको छ । मेला चैत १ गतेसम्म चल्ने छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...