Wednesday, March 2, 2016

सयभन्दा बढी वृद्धले दोस्रो पटक संसार देख्न पाए

जाजरकोट, २० फागुन । यहाँका एक सयभन्दा बढी वृद्धवृद्धाले दोस्रो पटक संसार देख्न पाएको बताएका छन् ।

जिल्लाको भेरीमालिका नगरपालिका–१ रिम्नामा भएको आँखाको शल्यक्रियापछि यहाँका ११८ जना वृद्धवृद्धाले दोस्रो पटक संसार देख्न पाएका हुन् ।

वर्षौंदेखि आँखाको बिरामी हुँदा संसार देख्नबाट वञ्चित भई अर्काको सहारामा दैनिकी चलाउँदै आएका वृद्धवृद्धा मोतिबिन्दु भएका आँखाको शल्यक्रियापछि नयाँ जीवन पाएको भन्दै खुसी भएका डाँडागाउँ–१ का ६१ वर्षीय कालीबहादुर थापाले बताउनुभयो ।

त्यस्तै, नातिनातिनाको सहारामा खाना खानेदेखि शौचालयसम्म जाँदै आएका खगेनकोट–५ का कालीबहादुर खत्रीले ६५ वर्षको उमेरमा नयाँ संसार देख्न पाउँदा निकै खुसी भएको बताउनुभयो ।

फाल्गुन १५ देखि १९ गतेसम्म सञ्चालन भएको यो मोतिबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रियामा ४०० भन्दा बढी बिरामी आए पनि ११८ जनाको शल्यक्रिया भई नयाँ जीवन पाएको सामुदायिक आँखा उपचार केन्द्रका प्रमुख प्रदीपजङ्ग शाहले जानकारी दिनुभयो ।

पाँच दिनसम्म सञ्चालन भएको शिविरमा आएका बिरामीलाई जुनियर रेडक्रस सर्कल भेरी त्रिवेणी माविले खाना र बस्नको व्यवस्था गरेको शिक्षक रत्न थापाले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र, जाजरकोटको आयोजनामा निःशुल्क मोतिबिन्दुको शल्यक्रिया भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...