प्राध्यापक डा. गितु गिरी नेपाली समाज, संस्कृति र पर्यटनको क्षेत्रमा सुपरिचीत नाम हो । त्रिभुवन विश्वविद्यालयमा संस्कृति विषय प्राध्यापन गर्ने प्रा.डा. गिरी हिन्दू/बौद्ध धर्म दर्शनका ज्ञाता पनि हुनुहुन्छ । उहाँले २ दर्जन भन्दा बढी अनुसन्धानमूलक कृर्ति प्रकाशित गरिसक्नुभएको छ । मोफसलमा रहेर पनि सस्कृति र पर्यटनको विज्ञको रुपमा नेपाल सरकार सस्कृति मन्त्रालयले उहांलाई विज्ञको रुपमा विभिन्न आयोजना तथा परियोजनामा सल्लाहकारको रुपमा नियुक्त पनि गरेको छ । भैरहवा बहुमुखी क्याम्पस, लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राध्यापनरत गिरी विविधतामा एकता भएको बहुजाति भाषा धर्मी र सांस्कृतिक मुलुक नेपालको हरेक जाति, भाषा, सस्कृतिको निरन्तर अध्ययन अनुसन्धान गरिरहेने विज्ञ भनेर चिनिनुहुन्छ । यसैबीच भोली र पर्सि नेपालमा होली मनाउन गइरहेको छ । पहाडी क्षेत्रमा भोली र तराई क्षेत्रमा पर्सि मनाईने होलीको सन्दर्भमा तीनै संस्कृति तथा पर्यटनविद प्रा.डा. गिरीसंग पत्रकार नरेश केसीले गरेको कुराकानीः सांस्कृतिक विविधता भएको हाम्रो मुलुकमा होली पूर्णिमा नजिकिएको छ । होलीको वास्तविक महत्व के छ ? –नेपाल एउटा बहुभाषिक, बहुजातीय, बहुसंस्कृति तथा अनेकतामा एकता मौलाएको सभ्य तथा सौम्य राष्ट्र हो । यहाँका हामी नेपालीको आफ्नै मौलिक पहिचान, स्वाभिमान र गौरवशाली स्वामित्व कायम छ । पहिचानको मूलः आधार भनेको मौलिक संस्कृति हो । संस्कृतिका मूर्त तथा अमूर्त विधामा प्राचीनकालदेखि वर्तमानसम्मका हाम्रा पुर्खाका आर्जनहरू संरक्षित भएकोले यिनको अध्ययन, विश्लेषण तथा सामान्यीकरण गरी समयसापेक्ष उपयोग गर्नसकेमा निकै उपलब्धि प्राप्त गर्न सकिन्छ । यी विभिन्न विधामध्ये चाडपर्व, जात्रा, पर्वोत्सव आदि पनि जीवन्त संस्कृतिको रूपमा रहेका छन् । सवाल आयो होली पूर्णिमाको । फागु, होरी वा होली पर्वको रूपमा मनाइने यो उत्सव प्रत्येक वर्षको फागुन महिनाको शुक्लपक्ष अष्टमीदेखि पूर्णिमासम्म आठ दिन विशेष हर्षोल्लासका साथ मनाउने प्रचलन छ । सर्बप्रथम विभिन्न रंगले सजाइएको ध्वजापताका सहितको रुख वा छत्राकार पर्ने गरी बनाइएका चीर गाड्ने गरिन्छ । यसलाई पूजा गर्ने, काठमाडौ लगायतका गाउँघरमा फागु फुकेको मानी रंग खेल्ने, ख्याली रागमा गीत गाउने तथा अश्लील शब्दको प्रयोगमा कुनै संकोच नमानी फागु खेल्ने (लयबद्ध गीत गाउने) चलन छ । यसमा बढी मात्रामा युवायुवतीहरूको रोमाञ्चक ढंगले सहभागिता रहेको हुन्छ । हाम्रो तराईमा पनि यसलाई रंगको पर्वको रूपमा पहाडी जिल्लामा तिहार मनाएझै गरी विशेष ढंगले मनाउने चलन विद्यमान छ । यस अवसरमा मड्का फोर्ने, महादेवको अनुकरण गरी गाँजा, भाङधतुरो आदि मिलाई हलुवा खाने आदि क्रियाकलावहरू गर्ने चलन छ । यसको प्रचलन के कसरी सुरु भएको हो भन्ने सोधखोज गर्दा बखत हाम्रा पौराणिक ग्रन्थ तथा लोकपरम्पराको चियोचर्चा गर्नुपर्ने हुन्छ । पद्मपुराणमा फागुन शुक्लअष्टमीका दिन चीरोत्थान महोत्सव गरी चीर गाडेर आठ दिन हर्षोल्लासका साथ फागु खेल्नाले कृष्ण प्रशन्न भई फलोक्ष्या पुराहुने गर्दछ भनी चर्चा गरिएको पाइन्छ । यस चीरलाई पूर्णिमाको दिनमा जलाउनाले बर्ष दिनका सबै खराबीहरू यसै चीरको साथमा जलेर जान्छन् भन्ने लोकमान्यता रहेको छ । त्यसैगरी द्वापरयुगमा बालक कृष्णलाई मार्न उनका मामा कंसले पुतना नाम गरेकी राक्षस्नीलाई पठाएका थिए । पुतनाले कृष्णलाई मार्नको निम्ति विषाक्त दुध खुवाइन । दुध खाएपछि कृष्णको सट्टा पुतनाकै मृत्यु भयो । कृष्णको जीवन बँचेको र पुतनाको देहान्तको खुसियालीमा गोकुल, मथुरा, बृन्दावन आदि क्षेत्रका बासिन्दाहरूले पुतनाको लाश जलाई कुष्णको प्रशंसा गर्दै फागु महोत्सव मनाउन थालिएको भन्ने लोकमान्यता छ । त्यसैगरी हिरण्यकश्यपले प्रल्हादको ईश्वरभक्ति हटाउन कैय्न प्रयत्न गर्दापनि नसकेपछि आफ्नी बहिनी पुतनालाई मार्ने योजनासहित आगोमा डढाउने निधो गरियो । पुतनालाई आगोले नछुने विशेष शक्ति रहेकोमा उनको काखमा राखी अग्निकुण्डमा हाम फाल्दा त उल्टै पुतना जलेर मरिन । तर प्रल्हादलाई आगोले छोएन । यसरी यसलाई होलिका दहनको अवसरको रूपमा पनि लिने चलन विद्यमान रहिआएको छ । यी विभिन्न आख्यानहरूको आ–आफ्नै समयसापेक्ष जे जति मूल्य तथा मान्यता रहे पनि यथार्थतामा खास सार के हो त भन्ने नै मूलः विषय हो । पुतना वा होलिका अन्याय तथा अराजकताका प्रतिनिधिपात्र मात्र हुन् । कृष्ण वा प्रल्हाद सत्य, न्याय, विवेक वा सज्जनका प्रतीक खडा भएका छन् । तसर्थः समाजमा रहेका अन्याय, अराजकता, अशान्ति, विवेकहिनता तथा शोषणको विरुद्ध न्याय, सत्य, शान्ति तथा विवेकको पक्षमा मनाइने अवीर जात्रा हो, आपसी बैमनुष्यता, झैझगडा आदि कलुषित भावनाको अन्त्यको अवसर हो होली । यसले कुनै वर्गविशेष वा समूहको मात्र पहिचान नगराई सम्पूर्ण मानव समाजको सत्यतथ्य उजागर गर्दछ । बसन्त रितुको स्वागत सहित यस अवसरमा विभिन्न क्रियाकलापहरू सम्पन्न गरिन्छन् । पर्वको बहानामा अहिले लोला हान्ने, फोहोर पानी छयाप्ने, इच्छा विपरीत रंग लगाउने पनि गरिन्छ । सांस्कृतिक ऐतिहासिकता अनुसार के होली यसरी नै खेलिथ्यो त ? –यसको परमपरागत मूल्य र मान्यताबारे माथि नै स्पष्ट गरिएको छ । यो अवसर भनेको त मनमिल्ने साथीभाइ, आफन्त वा सकारात्मक सोच भएका व्यक्तिहरूको मिलनको अवसर हो । यसको अवसरमा कोही कसैलाई जवरजस्ती लोला हान्ने, इच्छा विपरित रंग हान्ने वा फोहोर पानी हान्ने गर्नुहुँदैन । बालबालिकाहरूलाई पनि अभिभावकले यसको सत्यतथ्य जानकारी गराउनु पर्दछ । यसले एकपुस्ताबाट अर्को पुस्ताका सांस्कृतिक निधिको हस्तान्तरण समेत हुनेगर्दछ । यसमा रहेका विकृति र विसंगतिहरूबारे हटेमा भोलीका दिनमा पनि यसको निरन्तरता रहने निश्चित छ । नेपालमा एउटै पर्व भूगोल विशेषको कारण पहाडमा एक दिन तराईमा अर्को दिन मनाउने गरिन्छ । यसो गर्नु जरुरी छ ? –यो अवसर मनाउने समयबारे एउटै भएपनि केवल होलीको दहन पछि तराईका बासिन्दाहरूले भारतीय प्रवाहले पूर्णिमाको अर्को दिनमात्र होली मनाउने प्रचलन छ । विषयवस्तु र औचित्यता एउटै हो, समान छ । केवल विशेष दिनको मात्र सवाल हो । हुनत माथि नै चर्चा गरियो यो पर्व ८ दिन मान्ने गरिन्छ । त्यसको बिचमा अनुकूलताको आधारमा मनाउने गरिन्छ । पहाड वा तराई जहाँ भएपनि परम्परागत रूपमा मनाउन कुनै सांस्कृतिक अवरोध रहँदैन । यो त सामाजिक मान्यता हो । प्रसंग बदलौँ, यहाँ नेपालको संस्कृतिविद् भनेर पनि चिनिनुहुन्छ । नेपालमा पछिल्लो समय सांस्कृतिक विचलन आए जस्तो लाग्दैन ? –विश्व अहिले एउटै गाउँको रूपमा देखिएको छ । संचारले संसारलाई संकुचित बनाएको अवस्थामा सांस्कृतिक प्रभाव पर्नु परिवर्तित सन्दर्भको सामाजिक रूपान्तरण मान्नु पर्दछ । समयसापेक्ष रूपान्तरित नभई जडसूत्रको आधारमा बाँच्न अहिले संभव रहेन । यस सन्दर्भमा हाम्रा सामाजिक मूल्य र मान्यतामा आधारित सांस्कृतिक निधिको जगेर्ना गर्न चनाखो हुनु पर्दछ । यसको नाममा विकृति र विसंगतिहरूलाई प्रश्रय नदिई हटाउनु पर्दछ । रूपान्तरित सामाजिक मूल्य, मान्यता, आस्था, विश्वास तथा उपयोगिताको आधारमा संस्कृतिको जगेर्ना अनिवार्य छ । बाह्य संस्कृतिको हस्तक्षेप तथा मौलिक संस्कृतिमा विचलन ल्याउनुहुँदैन । वर्तमान अवस्थामा केही विचलनको संकेत देखिएका छन् । नयाँ पुस्तालाई हाम्रो सांस्कृतिक मूल्य र मान्यताबारे उचित समयमा उचित ज्ञान दिनु अत्यावश्यक छ । विश्वव्यापीकरणकोे कारण नेपालको परम्परागत संस्कृति खिचडी जस्तै भयो भनी चिन्ता व्यक्त गरेको पनि यदाकदा सुनिन्छ । त्यसबाट जोगाई लौकिक र मौलिक संस्कृतिको जर्गेना गर्न के गर्नुपर्ला ? –नेपालको सांस्कृतिक मूल्य र मान्यतामा नेपालीको अस्तित्व बाँचेको छ । संस्कृति हाम्रो पहिचान हो । समयसापेक्ष रूपान्तरित हुनु विधिको नियम हो । तर खिचडी भएको होइन । यसको क्षेत्र व्यापक छ । लौकिक तथा मौलिक संस्कृतिको जगेर्ना गर्न निम्नलिखित अभियानलाई सरकारी, गैरसरकारी निकाय तथा नागरिक समाज प्रभावकारी बनाउनु पर्दछ । १.चीन जस्ता विकसित मुलुकहरूमा जस्तै प्राथमिक विद्यालयदेखि औपचारिक रूपमा स्तर बमोजिम संस्कृतिको पठनपाठन संचालन, २.जातजाति, भाषभाषी, वा अन्य विधाका सांस्कृतिक सम्पदाको योजनाबद्ध विकास, संरक्षण तथा संवद्र्धन, ३. विधागत सांस्कृतिक प्रतिष्ठानको प्रभावकारी व्यवस्थापन तथा संचालन, ४. नागरिक समाजलाई सांस्कृतिक जनचेतना प्रवाह, ५. सांस्कृतिक सम्पदाको समुचित दोहन गर्दै सांस्कृतिक पर्यटन विकास, ६. स्थानीय निकायदेखि राट्रिय निकायमा तोकिएको कानुनी प्रावधानलाई प्रभावकारी कार्यान्वयन, ७. पुरस्कार र दण्डको प्रभावकारिता, ८. संचार माध्यमहरूको उचित परिचालन आदि । अन्त्यमा, यहाँ त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि संस्कृति विषय प्राध्यापन गदै केन्द्रीय बिषय समितिमा समेत रहनुभएको छ । त्रि.विको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने विश्वविद्यालयमा संस्कृति विषय पढ्ने विद्यार्थी शून्य प्रायः हुन थालेका छन् । यस विषयमा यहाँहरुजस्तो प्राध्यापकहरुको सोच के छ ? शिक्षा समयसापेक्ष क्रियाशील ढंगले परिमार्जिन तथा समाजको आवश्यकतालाई छोप्ने खालको हुनु पर्दछ । लामो समय अध्ययन तथा उपयोग गर्नु भन्दा छिटो छरितो ढंगले आयआर्जन गर्नसकिने विषय बढी लोकप्रिय भएकाले यस विषयप्रति आकर्षण कम भएको देखिन्छ । संस्कृति भनेको घर, परिवार, समूह तथा समाजको परम्परागत मूल्य र मान्यता हो । यो बिना समाजमा समायोजन तथा रूपान्तरण संभव छैन । तसर्थः विभिन्न विधामापनि यसलाई समावेश गर्नुपर्ने आवश्यकता छ । जस्तै ः चिकित्सा विज्ञानका विद्यार्थीलाई पनि समाजको मूल्यमान्यता आवश्यक छ । त्यसैगरी व्यवस्थापन, शिक्षा, कानुन आदि संकायमा पनि आवश्यक तत्वको समावेश गर्नुपर्ने चर्चा छ । यसलाई प्रभाककारी गर्न सकेमा विषयगत ज्ञानको सानै अनुशासन तथा नीतिगत आधारबारे पनि ज्ञान प्रदान गर्न सकिने छ । विद्यालय तहदेखि पठनपाठन तथा विशिष्ट ढंगले रोजगारका अवसरहरूपनि सिर्जना गरिनु पर्दछ । यसले थप आकर्षण प्रदान गर्ने छ । जय संस्कृति
No comments:
Post a Comment