पुरुषोत्तम ढकाल, लस एन्जलस, ११ बैशाख । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला झन्डै दुई साता लामो भ्रमणको क्रममा आज बिहान ९: ३० बजे न्युयोर्क आइपुग्नु भएको छ । न्युयोर्क आइपुगे लगत्तै महामन्त्री कोइरालाले काँग्रेस सत्ता परिवर्तनको खेलमा नलाग्ने बताउनु भएको छ । भर्जिनियास्थित बहिनि चेतना दिक्षितको छोरीको बिबाह, सानडियागो, क्यालिफोर्नियामा रहेकी छोरीसंग पारिवारिक जमघट र उच्च स्तरको राजनीतिक भेटघाटका लागि अमेरिका भ्रमणमा आउनु भएका कोइरालाले मधेशी दललाई आन्दोलनमा पठाउन नहुने बताउदै उनीहरुको माग पुरा गर्न र मधेशको संकट समाधान गर्न काँग्रेसले सार्थक पहल सुरु गरिसकेको जानकारी दिनु भयो ।
उहाँले ओली सरकार मधेसी मुद्धा सम्बोधन गर्न असफल देखिएको र राजदुत नियुक्तिमा समेत कुटनीतिक क्षेत्रलाई भागबण्डाको राजनीति गरेको हुँदा कांग्रेसले सरकारको यस्तो कदम बिरुद्ध संसदमा बिरोध गर्ने जानकारी दिनु भयो । एयर इत्तिहादको नियमित उडानबाट न्युयोर्कको स्थानिय समय अनुसार बिहान ९.४५ बजे जोन अफ केनेडी बिमानस्थलमा आइपुग्नु हुँदा महामन्त्री कोइरालालाई जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट र पूर्व संयोजक बिष्णु सुबेदीको नेतृत्वमा रहेको प्रजातन्त्रबादी नेपाली अमेरिकनको समुहले स्वागत गरेको थियो ।
आजै न्युयोर्क आइपुगेका कोइरालाले नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट उहाँको सम्मानमा न्युयोर्कमा भोली आयोजना गरिने स्वागत कार्यक्रमको बारेमा दुवै समूहसँग छलफल गरेर विवाद टुङ्ग्याउन आन्तरिक छलफल सुरु गर्नु भएको छ । स्रोतका अनुसार महामन्त्री कोइरालाले विवाद निरुपण गर्न सभापति आनन्द बिष्टले कारबाही फिर्ता लिने र समितिका सभापति आनन्द बिष्टले आव्ह्वान गरेको स्थानमा सबै काँग्रेस समर्थकहरु उपस्थित हुनुनै विवाद अन्त्यको मान्य बाटो हुने सुझाव दिनु भएको बुझिएको छ । यदि दुवै पक्षले विवाद निरुपणको यो सुझाव सुनुवाई नगरेमा महामन्त्रीले कार्यक्रमको लागि दुवै समूहलाई एकै ठाउँमा आमण्त्रण गर्ने संकेत गर्नु भएको छ । यद्यपि महामन्त्री कोइरालाले निर्वाचित सभापति र संगठनको इज्जत र मर्यादा कायम गर्न समेत अमेरिकमा रहेका कांगेसजनलाई आग्रह गर्नु भएको छ ।
यस अघिनै महामन्त्री कोइरालासंग परामर्श गरी उहाँकै प्रमुख आतिथ्यमा भोली शनिबार न्युयोर्कको शेर्पा हलमा नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय कार्यसमितिले कार्यक्रम आयोजना गर्ने पूर्व घोषणा गरिसकेको छ । महामन्त्री कोइराला न्युयोर्क, भर्जिनिया, टेक्सास, सिकागो, सनफ्रान्सिस्को, सानडियागो र अन्त्यमा लस एन्जलस हुँदै दुई साता पछि स्वदेश फर्किनु हुनेछ ।:
No comments:
Post a Comment