Wednesday, April 27, 2016

सुनचाँदी समातेर अनियमितता गर्ने असईसहित दुई प्रहरीमाथि कारबाही

DSC03615-800x600

राजविराज, १५ वैशाख । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले व्यापारीको सुन, चाँदी पक्राउ गरी अनियमितता गर्ने सप्तरीका एक असईसहित दुई जना प्रहरीमाथि कार्वाही गरेको छ । सप्तरीका प्रहरी सहायक निरीक्षक रामजी चौधरी र प्रहरी जवान ललित झामाथि कार्वाही गरिएको पूर्वाञ्चलका प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले बताए । साथै, सुनचाँदी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी जवान पप्पु यादव र चन्दन यादवलाई समेत नियन्त्रणमा लिई कार्वाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए । गत वैशाख ६ गते लहानस्थित विकास ट्रेडर्सबाट न्यू राज्यलक्ष्मी ज्वेलर्स राजविराजका कामदार मो नसिमले २० भरी (तोला) सुन, पाँच केजी चाँदी र ११ थान सुनको सिक्री ल्याइरहेको अवस्थामा राजविराजको रुपनी मोडबाट सुनचाँदी अवैध रहेको भन्दै सिभिलमा रहेका प्रहरीले पक्राउ गरी कसैलाई जानकारी नदिई आफैँ बाँडेर अनियमितता गरेको आरोपमा उनीहरुमाथि कार्वाही गरिएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले सुनचाँदी प्रकरणबारे छानबिन गर्दा प्रहरीद्वय चौधरी र झाले अनियमितता गरेको दोषी पाइएको र उनीहरु बारेमा अवश्यक छानबिन भइरहेको बताएको छ । राजविराजस्थित न्यू राज्यलक्ष्मी ज्वेलर्सका लागि खरिद गरेर ल्याउँदै गरेको सुनचाँदी प्रोप्राइटर शत्रुघन साहको रहेको भन्दै सप्तरीका सुनचाँदी उद्योग व्यवसायी सङ्घका अध्यक्ष राजेशकुमार साहले पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी दिएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...