Friday, May 27, 2016

अमेरिका बस्ने नेपालीहरुलाई गाली गर्नुमा कुनै तुक देखिदैन -प्रकाश श्रेष्ठ

prakash

यातायात र संचारको तिव्र रुपमा विकास भएकोले विश्व आजकल निकै साँघुरो भएको जस्तो सबैले महशुष गरिरहेका छन् । आज विश्वको प्रत्येक कुनाबाट अर्को कुनामा सजिलै आवतजावत गर्न सक्ने माध्यम बनिरहेको छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्नको लागी यातायातका द्रुत साधनहरु विकास भएका छन् र हालखवरहरु आदानप्रदानका लागी आधुनिक संचारका माध्यम एवं साधनहरुको विकास भएको छ । तसर्थ आदिमकालमा जस्तो एक देशको सम्पर्क अर्को देशमा हुन नसक्ने परिस्थिती अहिले छैन ।

अझै पृथ्वी ग्रह देखि अन्य ग्रहहरुमा समेत वस्ती बसाल्ने सम्बन्धमा वैज्ञानिक खोज एवं अनुसन्धान जारी छ र मंगल ग्रहमा केही दशक पछि वस्ती बसाल्न सकिने दावी समेत वैज्ञानिक बाट समय समयमा गर्दै आएका छन् । यसैले आज हरेक देशका नागरिकहरु एक ठाउँबाट अर्को ठाउँमा गतिशिल हुने क्रम चलिरहेको छ । चाहे त्यो पर्यटकको रुपमा होस् या मजदुरी गर्ने सन्दर्भमा होस् या व्यवसाय संचालन गर्ने सन्दर्भमा होस् या अध्ययनको शिलशिलामा होस् या आप्रवासीको रुपमा नै किन नहोस् यस्तो मानविय गतिशिलता भईनै रहेको छ ।

यसै शिलशिलामा नेपालीहरु पनि विभिन्न देशहरुमा रोजगारी एवं व्यवसाय संचालन गर्ने क्रममा, अध्ययनको क्रममा त्यस्तै आप्रवासीको रुपमा गएका छन् । यसमा पनि भारत, खाडी मुलुक, दक्षिण कोरिया, जापान, ईजरायल जस्ता मुलुकमा अस्थायीरुपमा रोजगारी एवं व्यवसायको शिलशिलामा गएका छन् र उनीहरु नेपाली नागरिकता र पासपोर्ट साथमा राखेर बसिरहेका छन् । उनीहरु केही बर्ष विराएर नेपाल पनि जाने आउने गर्छन् र निश्चित समय पछि सधैको लागी नेपालनै फर्कनु पर्ने बाध्यता हुन्छ किनकी उनीहरुको लागी सधै ती देशहरुमै बस्ने अनुमती नहुन सक्छ । तर विकशित देश अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया लगायत अन्य युरोपियन मुलुक गएका नेपालीहरु भने अधिकांशले पिआर र त्यही देशको नागरिकता पाएका हुन्छन् र नपाएकाहरु पनि पाउने क्रममा हुन्छन् ।

ती मध्ये केही नगण्य नेपाल सधैका लागी फर्कन पनि सक्छन् तर अधिकांश ती देशहरुमै सधैको लागी बसोबास गर्ने शुर कसेर आफ्नो सबैखाले चाँजोपाजो मिलाई सकेका हुन्छन्, केटाकेटीहरुलाई स्कुल, कलेज पढाएर, गाडी, घरको बन्दोबस्त मिलाई सकेका हुन्छन् र आफन्तहरु, नातापाताहरु, आमा-बाबु, दिदी-वहिनी, साला, साली, मामाको छोरो, फुपुको छोरो, काकाहरुको छोरा-छोरीहरु, सासु-ससुरा ज-जसलाई जे जसरी ल्याउन मिल्छ त्यसरी ल्याउने जुक्ती अपनाएका पनि हुन्छन् । यसो गर्नु स्वभाविक पनि हुन्छ किनकी यस्तो हामी नेपालीहरुको परम्परागत संस्कार पनि हो की आफन्तहरु सबै सकभर एकै ठाउँमा मिलेर बस्न खोज्ने त्यस्तैगरि सुविधा सम्पन ठाउँ विदेशमा समेत त्यसरी सबैलाई जुटाएर बस्न खोज्नुलाई अन्यथा मान्न पनि हुँदैन ।

अझै पछिल्लो समयमा आएर अमेरिका आउने क्रम निकै बढेको छ । विगतमा खासगरि डिभी कार्यक्रम लागु हुनु भन्दा पहिला थोरै संख्यामा मात्र नेपालीहरु अध्ययन गर्ने क्रममा, व्यापारिक प्रयोजनबाट आयोजित सेमिनारहरु, गोष्टीहरुमा सहभागी हुन र अन्य प्रयोजनबाट आएर अमेरिका बस्ने गरेका थिए । कतिपय व्यक्तीहरु ४०/४५ बर्ष देखि अमेरिका बसेको पनि देखियो तापनि जव डिभी कार्यक्रम चालु भयो त्यस पछि बर्षेनी नेपालीहरु धेरै संख्यामा आएका छन् भने विभिन्न कार्यक्रममा आउने, पढ्न आउने, आफन्त भेट्न आउने, पारिवारिक/नातेदार( अमेरिका आईसकेकाले बाबुआमा र परिवारका अन्य सदस्य बोलाउने)भिषामा आउने, व्यापारिक प्रदर्शनी, गोष्ठी, सेमिनार, सांगेतिक कार्यक्रम, भिजिटिंग भिषामा आउने, अवैधानिकरुपमा कडा सिमा नाघेर आउने( लाखौ खर्च गरेर जोखिमपुर्ण यात्राबाट मेक्सिको हुँदै आउने) जस्ता विभिन्न तरिकाबाट अमेरिका आएर बस्नेहरुको संख्या विगत केही बर्ष देखि निकै बढि रहेरको छ ।

सबै पेशा र क्षेत्रका व्यक्तीहरु नेपालबाट अमेरिका आएका छन् र लगभग हरेक क्षेत्रमा नेपालीहरुको उपस्थिती रहेको छ भन्न सक्ने अवस्था रहेको छ । सामान्य स्तरको काम देखि माथिल्लो स्तरको विज्ञता र निपुर्णता हासिल गरेका व्यक्तीले गर्ने काम वा पेशामा समेत नेपालीहरुले जिम्मेवारी समालेका छन् । डाक्टर, ईन्जिनियर, वैज्ञानिक,पाईलट, प्रोफेसर, वकिल, लेखापरिक्षक, कम्पनीको डाईरेक्टर तथा व्यवस्थापक, कारिन्दा, कियर गिभर, क्यासियर, पत्राकार, कलाकार, टेक्सी चालक, व्यवसायी वा उद्यमी देखि अमेरिकन राज्य सरकारका विभिन्न जिम्मेवार नियोगहरुमा समेत नियुक्त भएर जिम्मेवारी पाएका छन् र कतिपय अमेरिकन मुल राजनितीमा पनि लागेर परिचय बनाई सकेका छन् ।

यसरी हेर्दा नेपालीहरु मोटामोटी रुपमा हरेक क्षेत्रमा क्रियाशिल छन् र विस्तारै उनीहरु कारिन्दा र कामदार बाट माथी सिढी चढेर व्यवसायी एवं उद्यमी र बहु राष्ट्रिय कम्पनी र सरकारी अफिसहरुमा पनि जागिर गर्न थालेका छन् अर्थात् उनीहरुको आर्थिक हैसियत र सामाजिक स्तरमा वृद्धि भएको देखिन्छ । त्यस्तै अमेरिकामा रहेका नेपालीहरुले नेपालको कला, संस्कृती र पहिचानलाई अमेरिकन र विश्व समुदायको वीचमा परिचित गराउने काममा पनि आफ्नो तर्फबाट सक्दो प्रयास व्यक्तीगत एवं संघ-संस्थाहरु मार्फत गरिरहेकै छन् । अव एक किसिमले नेपाल र नेपालीको बारे अधिकांशलाई जानकारी हुँदै पनि गएको छ र हुने क्रम पनि जारी छ ।
अमेरिकनहरु र अमेरिका आएर स्थायीरुपमा बसेका अन्य मुलुकका आप्रवासीहरुले समेत नेपालीहरुलाई ईमान्दार, लगनशिल एवं पौरखी व्यक्तीहरुको रुपमा लिने गर्दछन् र सबैले विश्वास गर्दछन् । अमेरिकामा बस्ने नेपालीहरुले आफुहरु जन्मभुमि छोडेर सात समुन्द्र पारि आएर बसे पनि आफ्नो कला, संस्कृती, संस्कार, भाषाभुषा, रहनसहन, चाडवाड, परम्परा, रितीरिवाजलाई भने निरन्तररुपमा अगाडी बढाएका छन् । नेपालका हरेक गतिविधी, घटनाक्रम, राजनितीक परिवर्तनहरुमा यिनीहरुको चासो र सद्भाव सधै रहिरहेको छ । त्यस्तै मातृभुमिमा कुनै भवितव्य पर्दा सहयोग गर्न सदा तत्पर रहेका देखिन्छन् ।

नेपाल दुख्दा, दुख्ने र खुशी हुँदा खुशी हुने अवस्था जहिले पनि रहिरहेको छ अमेरिकन नेपालीहरुमा । तसर्थ भौतिकरुपमा टाढा रहेर पनि मानसिकरुपमा सधै नेपालको माया गरिरहेको पाईन्छ तर विडम्वना भनौ या के भनौ भन्दा पनि कसैको चित्त दुख्ला भन्ने डर यद्यपि साँचो कुरा भन्नै पर्छ त्यो के भने नेपालमा बस्ने ईन्टरनेटका पहुँच भएका केही व्यक्तीहरुले सामाजिक संजाल र डिजिटल संचार माध्यमहरुमा अनावस्यक गालीगलौज र आरोप लगाउने गरेको देखिन्छ ।

खासगरि नेपालको कुनैपनि घटनाक्रमहरु, राजनितीक उथलपुथलहरुबारे अमेरिका बस्ने नेपालीहरुले गर्ने टिकाटिप्पणीहरु प्रति नेपालमा बस्नेहरुबाट कडा आलोचना गर्दै त्यहाँ बसेर बोल्ने अधिकार छैन, बोल्ने भए नेपालमै आएर बोल्नु पर्छ, देश छोडेर जाने पलायनवादी हुतियाराहरु पछि बुढेसकालमा काम गर्न नसक्ने अनुत्पादक भएपछि नेपाल फर्कने त हौला भन्ने विभिन्न गालिगलौज र आरोपहरु लगाई रहेको पाईन्छ । ती गाली र आरोप हेर्दा लाग्छ नेपालको नाम समेत लिने अधिकार अमेरिका आउने नेपालीहरुले गुमाई सकेका छन् र अमेरिका आउनुमा ठुलो जघन्य अपराधनै गरेका छन् ।

नेपालबाट के कति कारण किन अमेरिका आए र आईसकेपछि नेपालका लागी के अनुचित कार्य गरे त्यसको कुनै पुष्टी नगरी स्पष्टीकरण नदिईकन यत्तिकै विना कारण गाली गर्ने अधिकार ती नेपालमा बसेर गाली गर्ने केही वुद्धिजिवी भनौदाहरुलाई हुँदैन र तिनीहरुले के बुझ्नु पर्यो भने नेपालमा बस्ने कस्को ईच्छा नहोला एकपटक अमेरिका आउन र घुम्न त्यस्तै आईसकेपछि मन परेमा बस्न पाईन्छ भनेपछि को फेरी फर्केर नेपाल सहजै जान चाहन्छ । त्यहाँको वेरोजगारीको समस्या, नातावाद कृपावाद, भनसुन प्रथा, घुष वेगर काम नबन्ने प्रचलन, राजनैतिक खिचातानीले उव्जाएको नकारात्मक प्रभाव , राजनितीक दलहरुको बन्द, हड्ताल, शहरबजारको धुवाधुलो, वातावरणिय प्रदुषण, हत्या-हिंसा, महंगीले चरम पिडा पाएको व्यक्तीले त्यस्ता सबै किसिमको असुविधा नभएको अर्थात् स्वच्छ वातावरणिय परिवेशमा भौतिक सुविधायुक्त विभिन्न अवसरहरु प्राप्त हुन सक्ने ठाउँ हतपत छोडेर जो कोही जान चाहन्न र यता आईसकेपछि यतै जीवनको रथ चलाउने निधो गर्दछ ।

स्मरणरहोस् संसारको जे जति भुभागमा ४/५ पुस्ता पहिले देखि नै किन नहोस् नेपालीहरु गएर बसेको भएपनि नेपाल प्रति अगाढ माया गर्छन् र परेको खण्डमा आवस्यक आर्थिक एवं भौतिक सहयोग गर्न खोज्छन् चाहे ति बर्मा बसुन या थाईल्याण्ड या भारतको दार्जिलिंग, सिक्किम, अछाम र भुट्निज नेपालीहरु अमेरिका लगायत अन्यत्रै किन नबसुन । यी सबै ठाउँमा बस्नेहरुले नेपाली कला, संस्कृती र भाषालाई पनि जिवन्त राखिरहेका छन् । अझै नेपालमा बस्ने नेपालीहरुले भन्दा बढी नेपालीपन र नेपाली संस्कारहरु विदेशमा बस्ने नेपाली समुदायहरुले अनुसरण गरेको पाईन्छ र सकभर नेपालीहरु सबै एकै ठाउँमा मिलेर बस्ने र मिनी नेपाल झल्कने तरिकाले खाद्यपसलहरु देखि अन्य सुविधाहरु उपलव्ध हुने व्यवस्था मिलाउने, सकभर नेपालमा उपलव्ध हुने सबैजसो सेवा सुविधा उपलव्ध गराउने, सबै चाडपर्व, सांस्कृतिक गतिविधीहरु मिलेर मनाउने गरेको पाईन्छ ।

यसले गर्दा पनि हामी सहजै दावाका साथ भन्न सक्छौ “एकपटकको नेपाली सधैको नेपाली” भने झै नेपालीहरु जहाँ रहेपनि भुगोलबाट टाढा रहेपनि नेपालको सदा सर्वदा माया गरिरहन्छन् र नेपाललाई कुनै आपतविपत पर्दा अप्ठ्यारो आईपर्दा हरसंभव सहयोग गर्न तत्पर रहन्छन् । जसरी विगतको विनाशकारी भुकम्प र भारतले गरेको नाकावन्दीको समयमा विदेशमा रहेका नेपालीहरुले जुन किसिमको सहयोग र सद्भाव देखाए त्यसबाट पनि सजिलै आंकलन गर्नु पर्दछ की संसारभरि छरिएर रहेका नेपालीहरु परेको वेलामा एकमतले सहयोग गर्न र काँधमा काँध थाप्न तयार छन् । जे जसरी, जे कारणले विदेश जान बाध्य भए वा रहरले गए त्यो आफ्नो ठाउँमा छ र परिवार नेपालमै हुनेहरुले विदेशको जुनसुकै ठाउँमा स्थायी वा अस्थायी रुपमा बसेपनि उनीहरुलाई पैसा पठाएकै हुन्छन् ।

त्यस्तै अमेरिका पनि आए जतिका व्यक्तीका सबैको परिवारका सदस्यहरु आईसकेका पनि छैनन् र डिभी बाहेक नयाँ आउनेहरु प्रायः एक्लै आएका पनि हुन्छन् साथै तिनीहरुको कागजी प्रकृया मिलाउन पनि समय लाग्ने भएकोले नेपालका रहेका परिवारलाई पैसा पठाईनै रहेका हुन्छन् र जसले गर्दा पनि केही न केही रुपमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सरकार वा राज्यलाई आर्थिक मद्दत पुग्न गएकै हुन्छ, विभिन्न शुल्क र करको रुपमा रकम तीनका परिवारहरुले वस्तु तथा सेवा उपभोग गर्दा र विभिन्न सुविधा राज्यबाट लिने क्रममा बुझाएका हुन्छन् । त्यस्तै स्थायीरुपमा नै अमेरिका बस्नेहरुले पनि आफन्तहरुलाई समय-समयमा केही न केही पैसा पठाएका हुन सक्छन् ।

अझै नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका हुन सक्छन् त्यसबाट पनि नेपालको राज्यलाई सहयोग पुगेकै हुन्छ । तसर्थ अमेरिका बसेका नेपालीहरुलाई विना सित्तैमा गाली गरेर अर्थ छैन । बरु सकिन्छ भने नेपाली उत्पादनलाई कसरी अमेरिका लगायत अन्य मुलुकमा विक्री वितरण गर्न सकिन्छ, के कसरी बजार विस्तार गर्न विदेशमा रहेका नेपालीको सहयोग लिने हो त्यस तर्फ ध्यान दिनुको साथै पर्यटन प्रवर्दन गर्नको लागी अवस्यक कार्यक्रम विस्तार गर्ने, लगानी भित्राउन आवस्यक उचित वातावरण तय गर्न नेपाल सरकारलाई उचित कदम चाल्न लगाउने जस्ता अनेकन सकारात्मक कार्यहरु गर्ने तर्फ सोच्नु जरुरी छ ।

त्यस्तै नेपालमा बसिरहेका नेपालीहरु पनि अमेरिका आउन आवस्यक ठाने विभिन्न तवरबाट आउन सकिन्छ तर यता आईसकेपछि पनि आखिर काम गर्नै पर्छ । काम र लगानशिलता देखेरनै विदेशबाट आउनेहरुलाई अमेरिकन सरकारले यहाँ बसेर काम गर्ने र स्थायी बसोबास गर्न सक्ने सुविधा प्रदान गर्ने व्यवस्था गरेको हो । अन्यथा अन्य देशका व्यक्ती आउँदा फाईदा नहुने भए आउन दिन र बस्न दिनेनै थिएन । अर्को तर्फ मिहिनेत गरेमा आफै व्यवसायको मालिक बनेर यहीको अमेरिकनहरुलाई समेत काम पनि दिन सकिन्छ । भन्नुको अर्थ सधै कामदारनै बन्नु पर्छ भन्ने छैन, योग्यता, क्षमता र दक्षता हुने हो भने सानै पुँजीबाट संचालन गरेको व्यवसायलाई समेत विकास र विस्तार गरि ठुलो व्यवसायको मालिक बन्न सकिने, आफ्ना सन्तानहरुलाई उचित शिक्षादिक्षा दिएर योग्य व्यक्ती बनाउन सकिने पनि मौका त्यतिनै छ ।

काम गर्ने आँट र हिम्मत हुन सके खोजी गर्न सके सबै तिर अवसरनै अवसर छ साथै विभिन्न चुनौतीहरु पनि साथसाथै बहन गर्नु पर्ने छदैछ । यसैले चुनौती र जोखिम बहन गर्ने क्षमता भए अमेरिका अवसरको भुमि हो अन्यथा कामचोर प्रवती र अल्छीहरुको लागी एक किसिमको जेल नै हो । अत: नेपालमा बस्नेहरु पनि अमेरिका बस्नेहरु प्रति डाह र ईश्र्या गर्ने काम नगरिकन मन लागेमा यतै आएर काम गरे हुन्छ र नेपालीहरु मिलेर थप प्रगती हुने काम अगाडी बढाउन सके धेरै राम्रो हुन्छ सबै नेपाली समुदायको हितको लागी । हैन नेपालमै बसेर नेपालमै काम र जिविकोपार्जन गर्ने हो भने अमेरिकामा बस्नेहरु प्रति सधै सकारात्मक र आत्मियताको भावना प्रस्तुत गर्दा नै सबैको हित हुन्छ । आखिर हामी जहाँ रहेपनि नेपालीनै हौ । विदेश जाँदैमा र विदेशमा बस्दैमा नेपाली मन परिवर्तन हुन सक्दैन किनकी नसा-नसामा नेपाली माटोको सुवास सधै रहिरहेको हुन्छ । अत: जहाँ जे जसरी रहेपनि नेपाली मन सधै जोडिन सकोस् र नेपालको हितमा सधै सबैका पाईला एकसाथ अगाडी बढिरहुन् । सबैको जय होस् !

बाल्टिमोर, मेरिल्याण्ड, अमेरिका

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...