Sunday, May 29, 2016

माननीयज्यू ! अझै ओलीको खुट्टा तान्ने कि आफ्नै लाज धान्ने ?

SARGAM

ओली नेतृत्वको सरकारले लोकप्रिय बजेट ल्याएछ, गाउँ गाउँमा बजेट छरेर साधारण जनताले बुझ्ने बजेटको सुन्दर पक्षलाई समर्थन गर्नैपर्छ, किनकी जायज़ कुरालाई बंग्याएर जति अपब्याख्या गरेपनि एकदिन झन् चम्किलो सत्य बनेर उदाउँछ भन्ने मेरो ब्यक्तिगत अनुभव हो ।

यतिखेर ओलीको पपुलिष्ट बजेटमा अर्थशास्त्री देखि भ्रष्टशास्त्रीहरुको चियोचर्चो ह्वात्तै बढेको छ, एमालेभित्रैका गुट सम्राटहरु पर्दा पछाडिबाट अहोरात्र ओली सरकारलाई बदनाम गर्न कता प्वाल भेटिन्छ भनेर लागिरहेकै छन् भने प्रतिपक्षीहरुको त काम नै त्यहि छ नेपालमा ।

कसैले न आफ्नो घरबाट बजेट ल्याउने त पक्कै होईन, कसैको भक्तिगानले पनि बजेट ल्याईदैन । बजेट देशलाई आवश्यक परेको कुरामा स्रोतको पहिचान गरेर आम्दानी खर्चको अनुमान गर्नु हो , यसले आगामी बर्षमा देशलाई कता लैजान्छ भन्ने संकेत गर्छ । यो सन्दर्भमा ओली सरकारले लिएको बाटो सन्तोषजनक छ तर यसको लागि राजनीतिक संयन्त्र तथा कर्मचारीतन्त्र जिम्मेवार हुनैपर्छ ।

बजेट आजसम्म सबै सरकारले ल्याएकै हुन । सिद्दान्तत: बजेटका पक्षहरु सुन्दर भएपनि कार्यान्वयन पक्ष फितलो हुँदा अहिले सम्मका कुनै पनि सरकारले ल्याएका बजेट पूर्ण कार्यान्वयन भएकै छैनन् , किनकी एउटा सरकारले बजेट भाषण नसक्दै सत्ता समीकरणका खेलहरु शुरु हुन्छन्, पछि बन्ने सरकारले त्यो बजेटलाई लत्याउँछ र आफ्नै सुर गर्छ । हरेक बर्ष हामी परीक्षणमा हुन्छौ ।

कर्मचारीको तलब बृद्दि एकातर्फ हेर्दा सकारात्मक नै हो यसले ईमान्दार कर्मचारीहरुलाई कमसेकम एउटा उत्प्रेरणा दिएको छ तर शाष्वत सत्य के हो भने टेवलमुनिबाट महिनाको दुई चार लाख बनाउने आकर्षक कार्यालयका कर्मचारीहरुलाई यो नाथे २-४ हजार तलब बृद्दिले कुनै उत्प्रेरणा दिने छैन । बरु अब घुस खाने अवसर हुने हैन कि भनेर तिनीहरु निदाउन छाडेका छन् नपत्याए अमुक स्थानमा चियो चर्चों गर्न जानुहोला । भ्रष्टाचार सम्बन्धि कडा कानून नभएसम्म यो रोग निको हुने छैन ।

यो बजेट ओलीका बिरोधीहरुले भन्दै आएको उखान टुक्काहरुको कार्यान्वयनको क़दम हो , हामी सकारात्मक सोचौँ : ओलीले उखान टुक्का भनेका हैनन् सपना देखेका र सपना बाँडेका हुन् ।ओलीले बोलेका धेरै कुराहरुलाई बजेटमा समेटिनु लाई सकारात्मक मान्नैपर्छ । एक बर्षको बजेटले देशलाई कायापलट हैन सकारात्मक पटरीमा हिडाउने मात्रै हो यस अर्थमा सबै सरकारले ल्याएका राम्रा बजेटहरु राजनीतिक खिचातानीमा तुहिनु हुन्न । किनकी मिठो कुराउनीमा केहि घ्यु कमिलाहरु हुन्छन, तिनीहरुलाई पन्छाएर खानुपर्छ । सामाजिक संजालमा ओलीलाई सपोर्ट गर्नेहरु सबै एमाले होईनन् , गुण र दोषको आधारमा कसैको सपोर्ट गर्दैमा एमाले हुनु नै पर्छ भन्ने छैन ।

रेल देखि तेल सम्म, विमा देखि सिमा सम्म तथा बृद्द देखि समृद्द नेपाल बनाउन सरकारले बजेट भाषणमा गरेका धेरै काम प्रशंसनीय छन् जसलाई बितरणमुखी भनेर बितन्डा मच्चाएपनि, हचुवाको रटान लगाएपनि देशलाई दूरगामी घाटै हुनेगरी कुनै योजना समावेश छैनन् अनि माननीयज्यूहरु ! आफैले बजेट ल्याउन पाईन भन्दैमा खुट्टा तानिरहने कि कार्यान्वयनमा सहयोग गर्ने ! किनकी सबैजसो पार्टीका दिग्गज माननीयहरुले अर्थमन्त्री पनि सम्हालेकै हो , बरु जनताले बुझ्ने गरी बताईदिनुस तपाईको कुन कुन बजेटहरुले गाउँका सर्वसाधारण जनताको अनुहार उज्यालो पारेका छन् ? बिदेशीको डिजाईनमा हैन नेपाली माटोको मागको आधारको बजेट तपाईहरुले बनाएको भए पहाड खस्थ्यो र ?

यसै सन्दर्भमा एउटा फेसबुकमा भेटेको नीतिकथा जोड्न मन लाग्यो:
एकजना चित्रकारले मिहिनेत गरेर एउटा चित्र कोरे, आफुले बनाएको चित्रलाई कस्तो भएछ भनेर चौतारीमा प्रदर्शनका लागि छोडे त्यसको तल लेखिएको थियो : जहा गल्ती भेटाउनु हुन्छ त्यहिँ चिनो लगाउनुहोला । चित्रकारले अर्को दिन चौतारीमा आएर आफ्नो चित्र हेर्दा चित्र कुरुप भैसकेको थियो त्यहा धेरै नमिलेको भनेर थुप्रै ठाउँमा चिनो लगाइएको थियो त्यो देखेर चित्रकार मैले कत्तिपनि जानेको रहेनछु भनेर दुखी भए, त्यत्तिकैमा एकजना मानिस आएर उसलाई सम्झाउदै भने : तिमी निरास नहोऊ तिमिले अर्को चित्र बनाऊ र त्यसको तलपट्टि लेख : यो चित्रमा जहाँ नमिलेको छ त्यसलाई मिलाएर छोड्नुहोला । यति कुरा सुनिसकेपछि चित्रकारले त्यसै गरे अनि अर्को दिन फेरि चित्रकार आफुले बनाएको चित्र हेर्न आए तर यसपटक चित्रमा कहिँ कतै चिनो लगाइएको थिएन र कतैपनि सच्च्याइएको पनि थिएन । यो बजेट पनि त्यस्तै हो , अहिलेको सरकार ईतरले बनाएको भएपनि कमज़ोरी देखाउनेले देखाईरहन्थे ।

हो ! जनताले बुझ्ने गरि बजेट छुट्याउँदा कनिका छरे जस्तै हुन्छ, तर यहि कनिकाले दूर दराजका मान्छेहरुको रोग र भोकको निदान हुन्छ भने तपाई हामीले यो बजेट कार्यान्वयनमा सहयोग गर्नै पर्छ । तर अहिले सम्म कुनै सकारात्मक नतिजा ल्याउन नसकेको सांसद बिकास कोष मार्फत खर्च गरिने रकम बढाएर शक्ति केन्द्रका आसेपासेहरुलाई प्रोत्साहन गरेको भने म जस्तै स्वतन्त्र धेरै मान्छेहरुलाई मन परेको छैन । त्यसै गरि कर संकलनका बैज्ञानिक तरिका समेत खोजी नगरिनु पनि बजेटका कमज़ोरी हुन् ।

समग्रमा नागरिकको आँखाबाट हेर्दा बजेट राम्रो छ,पुनर्निर्माणको काम द्रुत गतिमा होस, महँगी नियन्त्रण होस, कर्मचारीतन्त्रले नै सबै गर्ने हो , तपाई बिशिष्टहरुले नै सबै गर्ने हो । आज ओली सरकारले ल्याएको बजेटको कार्यान्वयनमा असहयोग गर्नु भनेको देश र जनता प्रति ग़द्दारी गर्नु हो किनकी भोलि फेरि एकले अर्कालाई असहयोगकै शृंखला शुरु गर्दै आ-आफ्नै डम्फु बजाएर ओलीको खुट्टा तान्दै गर्दा भोलि आफू सरकारमा हुँदा आफ्नै लाज धान्न पनि गाह्रो पर्ने गरि धुवाँधार बिरोध त नगर्ने कि माननीयज्यू !
अस्तु !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...