काठमाडौँ, १५ असार । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका जापानको परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी, दक्षिणपश्चिमी मामिला विभागका महानिर्देशक काजुया नासिदाले आज अपराह्न शिष्टाचार भेट गर्नुभयो ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा उहाँहरूबीच भएको भेटमा नेपाल–जापान सम्बन्ध, नेपालको विकास प्रयासमा जापानबाट भइरहेको सहयोग, भूकम्पपछिको पुनर्निर्माणलगायत विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस अवसरमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र जापानी पररराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै यहाँस्थित जापानी राजदूतावासका वरिष्ठ अधिकृत उपस्थित हुनुहुन्थ्यो ।
राष्ट्रपति कार्यालय र पररराष्ट्र मन्त्रालयका उच्च अधिकृतहरूको पनि भेटमा उपस्थिति थियो ।
यसैगरी, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापासँग महानिर्देशक नासिदाले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल–जापान सम्बन्ध, दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव, क्षेत्रीय एवम् विश्व चासोका विविध विषयका साथै आपसी सहयोग अभिवृद्धिबारे छलफल भएको थियो ।
भेटमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा र यहाँस्थित जापानी राजदूतावासका उच्च अधिकारीले गर्नुभएको थियो ।
महानिर्देशक नासिदा नेपाल–जापान राजनीतिक परामर्श संयन्त्रको बैठकमा भाग लिन मङ्गलबार यहाँ आउनुभएको हो । उहाँ आजै अपराह्न स्वदेश फर्कनुभयो ।
No comments:
Post a Comment