Wednesday, June 29, 2016

कृषि क्षेत्रको विकासमा युवाको भूमिका महत्वपूर्ण : नेत्री कोइराला

काठमाडौँ, १५ असार । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकको कृषि क्षेत्रको विकासका लागि युवाको ठूलो भूमिका रहेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घका नेता आनन्द त्रिपाठीको संयोजकत्वमा नेविसङ्घ विश्वभाषा इकाइ समितिले आज यहाँ आयोजना गरेको दहीच्यूरा खाने कार्यक्रममा बोल्दै नेत्री कोइरालाले युवा विकासका लागि सशक्त हुन आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “हामी सबै किसानका छोराछोरी हौँ, कृषिलाई आधुनिकीकरण गरेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्छ ।”

उहाँले युवालाई विदेश पलायन हुने बाटोबाट रोकेर कृषि क्षेत्रमा लागेमात्र मुलुक विकास हुने बताउनुभयो । “युवाहरु पार्टीको सङ्गठनमा लागेर गुठबन्दी गर्नुभन्दा आफ्नो व्यक्तित्व विकासमा लाग्नु पर्दछ”, कोइरालाले भन्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपालका धेरै जनता कृषि क्षेत्रमा आश्रित रहेकाले यसको विकास र विस्तार हुनु जरुरी रहेको बताउनुभयो । उहाँले कृषिको विकास भएमात्र मुलुकको विकास हुने हुँदा सरकारले कृषिको क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने स्पष्ट पार्नुभयो ।

अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले नेपालको अर्थतन्त्रको विकासमा कृषिको ठूलो भूमिका रहेको बताउँदै नेपाली काँग्रेसले नै किसानलाई हेरेर योजना बनाउने परिपाटीको विकास गरेको उल्लेख गर्नुभयो ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले असार १५ ले सांस्कृतिक र परम्परागत महत्व बोकेको भन्दै यसलाई आधुनिक खेतीमा रुपान्तरण गर्नु आवश्यक रहेको औँल्याउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...