Wednesday, June 8, 2016

जग्गामा महिलाको स्वामित्व बढ्दै

इलाम, २७ जेठ । महिलाका नाममा जग्गा पास गर्दा लाग्ने राजस्वमा सरकारले छुट दिने व्यवस्था गरेपछि जग्गा जमिन माथि उनीहरुको स्वामित्व बढ्दै गएको छ ।

चालु आव २०७२-०७३ को वैशाख मसान्तसम्ममा यहाँ एक हजार ७४८ महिलाको नाममा जग्गा पास भएको छ । अघिल्लो आव २०७१÷०७२ मा यही अवधिमा यो सङ्ख्या एक हजार ७८० मात्र थियो ।

सरकारले महिला, दलित, सहिद परिवार, अपाङ्ग, वृद्धवृद्धा, उद्योगधन्दा, हाइड्रोपावर, चिया खेतीलगायतका आठ शीर्षकमा जग्गाको स्वामित्व लिँदा जग्गा पास दस्तुरमा छुट दिने गरेकाले महिलाका स्वामित्वमा जग्गा पास गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको जिल्ला मालपोत कार्यालयका नायब सुब्बा कुलप्रसाद देवानले बताउनुभयो ।

ग्रामीण क्षेत्रका महिलाले आफ्नो नाममा जग्गा पास गरे ३० प्रतिशत र सहरी क्षेत्रमा पास गरे २५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । एक हजार ७४८ जना महिलाका नाममा जग्गा रजिष्ट्रेसन पास गरेबापत महिलालाई सरकारले रु ४३ लाख ९१ हजार ४४ छुट दिएको छ ।

आव २०७२-०७३ मा २० दलित, जनजातिले आफ्नो नाममा जग्गा पास गरी रु ७७ हजार ६६० राजस्व छुट पाएको कार्यालयका नासु देवानले जानकारी दिनुभयो ।

चालु आवमा सात जना वृद्धवृद्धाले आफ्नो नाममा जग्गा खरिद गरी रु ६४ हजार ७५१ राजस्व छुट पाएका छन् । चालु आवको वैशाख मसान्तसम्ममा मालपोत कार्यालय इलामले जग्गा पासबाट रु तीन करोड ७९ लाख सात हजार ६३१ राजस्व असुली गरेको छ ।

महिला, दलित, अपाङ्ग, लोपोन्मुख, जनजाति, समुदायका व्यक्तिलाई सरकारले गाविसको सिफारिस लिएर आएमा २५ प्रतिशत राजस्व छुट दिने व्यवस्था गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...