Sunday, June 26, 2016

सामूहिक आवासगृह हस्तान्तरण

जिरी, १३ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले खुल्ला आकासमुनि पालमा बसिरहेका भूकम्पपीडितका लागि सामूहिक आवास निर्माण गर्ने निर्णय गरेअनुसार दोलखाको जिरीमा नेपाली सेनाको रणभिम गणले सामूहिक आवासगृह निर्माणको काम सम्पन्न गरी आइतबार जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीलाई हस्तान्तरण गरेको छ ।

जेठ २१ गतेबाट रणभिम गणले निर्माणको काम सुरु गरी १९ दिनमा काम सम्पन्न गरेको हो । निर्माण काम सम्पन्न भएसँगै सामूहिक आवासगृह उद्घाटन कार्यक्रमको आयोजना गरी रणभिम गणका गणपति मधुसुधन नरसिङ राणाले सामूहिक आवासगृहको साँचो जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष पुष्पराज शाहीलाई हस्तान्तरण गर्नुभएको हो ।

यसअघि सरकारले अस्थायी टहरामा बसिरहेका भूकम्पपीडितका लागि वर्षाअगावै सामूहिक आवास निर्माण गरी आवासमा सार्ने बताएको थियो । असार महिना सुरु भएको दोस्रो सातामा नै रणभिम गणले निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गरेको छ ।

सामूहिक आवासगृह १२ परिवारका लागि भएको गणले जनाएको छ । आवासगृहमा प्रत्येक परिवारका लागि दुई मुखे चुलो, महिला पुरुष अलग अलग शौचालय, वैकल्पिक विद्युत्को रुपमा सोलर जडान, खानेपानीको व्यवस्थापन गरेको छ ।

आवासगृहको साँचो बुझ्नुहुँदै शाहीले जिरीमा निर्माण भएको आवासगृह नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिने बताउनुभयो । जिरी र आसपासको क्षेत्रमा कुनै मानवीय विपद् पर्दा उनीहरुको व्यवस्थापनका लागि राहत पुग्ने छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...