Monday, June 6, 2016

वरिष्ठ सङ्गीतकार गुरुङको स्वास्थ्य गम्भीर

काठमाडौँ, २४ जेठ । वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्य स्थिति गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

उहाँको उपचार भइरहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आज पत्रकारसम्मेलन गरी उहाँको स्वास्थ्य स्थितिबारे जानकारी दिएको हो ।

पत्रकारसम्मेलनमा उपचारमा संलग्न डा चक्रराज पाण्डेले भन्नुभयो, “उहाँको स्थिति साह्रै नाजुक छ । उहाँलाई भेन्टिलेटरमा राखेर हामीले जतिसक्दो उपचार गरिराखेका छौँ । दिनुपर्ने सेवा दिइराखेका छौँ ।”

उहाँले गुरुङको रक्तस्रावका कारण फोक्सोमा रगत गएकाले उहाँको श्वासप्रश्वासमा जटिल समस्या आएको जानकारी दिँदै भन्नुभयो, “कति मिनेट वा घन्टामा के हुन्छ भन्ने स्थिति छैन ।”

उहाँका जेठा र माइला सुपुत्र किशोर र राजु गुरुङले आज केही सञ्चारमाध्यममा निधन भएको भन्ने समाचारमा आएको कुरा निराधार भएको बताउँदै सञ्चारमाध्यलाई संयमित भएर काम गर्न आग्रह गर्नुभयो । राजुले भन्नुभयो, “आज बाहिर आएका हल्ला निराधार हुन् । उहाँ अस्वस्थ हुनुहुन्छ तर जीवितै हुनुहुन्छ ।”

खानेनलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह, पार्किसन्स तथा उच्च रक्तचापलगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत हुनुहन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...