Friday, June 10, 2016

पुरानो बसपार्कमा बन्ने काठमाडौं टावर निर्माणमा ढिलाइ नगर्न चेतावनी

1465561284kathmandu-tower-web-pic-finalकाठमाडौँ,२८ जेठ । पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौँ स्तम्भ निर्माणको काम ढिला नगरी तत्काल सुरु गर्न काठमाडाँै महानगरपालिकाले आग्रह गरेको छ ।
झन्डै दुई महिनाअघि नै निर्माणको काम सुरु गर्ने जनाई पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुला मञ्चमा सारिसकिएको छ । अहिलेसम्ममा स्तम्भ निर्माणका लागि जग राख्ने काम सकिसक्नुपर्ने भए पनि हालसम्म कुनै काम नभएकाले अब केही दिनमा पनि काम सुरु नगरे हाल निर्माणको लागि जिम्मा पाएको कम्पनीलाई रोक लगाउने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।

स्तम्भ निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटुवालले भने निर्माण सामग्रीको अभावले गर्दा ढिला भएको बताउनुभयो । “टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण सुरु गर्न ढिला भएको हो” भेटुवालले भन्नुभयो । उहाँका अनुसार सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवालगायतको सामग्रीबाहेक अन्य सबै निर्माणका सामान भारतबाट ल्याउनुपर्छ ।

हाल पुरानो बसपार्कमा जस्ताले बार्ने काम मात्र भएको छ । भारतबाट आवश्यक सामग्री केही दिनमा आइपुग्ने र सामग्री आएसँगै निर्माणले गति लिने बताइएको छ ।

भवन पूर्ण रूपमा भूकम्प प्रतिरोधात्मक र १२ तलाको बनाउने तयारी छ । नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिकसँगै नेपाली कला, संस्कृति झल्किने खालको हुने बताइएको छ ।

कामपासँग गरिएको सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन् । काम सुरु भएको पाँच वर्षभित्र स्तम्भ बनाइसक्नुपर्ने छ ।

स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ ।। भवनको सबैभन्दा तल्लो तलामा बस पार्किङ स्थल रहने छ । त्यस्तै त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित चलचित्र कक्ष, पौडी पोखरी, खाजाघर, बैंक तथा कामपाको वडा कार्यालय समेत रहनेछ । भवनका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...