पोखरा, १५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालको आर्थिक समृद्धिका लागि कृषिलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभएको छ ।
पोखरा पर्यटन परिषद्द्वारा आज यहाँ आयोजित १३ औँ रोपाइँ महोत्सवको उद्घाटन गर्दै उहाँले कृषि र पर्यटन एक आपसमा अन्तरसम्बन्धित भएकाले कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने धारणा राख्नु भयो ।
आगामी १० वर्षभित्र कृषिमा पूर्णरुपमा आत्मनिर्भर बन्ने सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले परम्परागत कृषि प्रणालीबाट माथि उठेर व्यावसायिक कृषिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसकी नेतृ एवम् सांसद शारदा पौडेलले पर्यटन नेपालको आर्थिक समृद्धि र विकासको महत्वपूर्ण माध्यम हुने भएकोले यसमा राज्यको उच्च प्राथमिकता पर्नुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेता गङ्गा पोखरेलले कृषिमा विद्यमान परनिर्भरता हटाउन व्यावसायिक कृषिमा जोड दिनु आवश्यक भएको बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले युवा वर्गमा बढिरहेको कृषिप्रतिको अनिच्छालाई न्युनीकरण गराउँदै परम्परागत कृषिको महत्वबारे बोध गराउन महोत्सव आयोजना गरिएको बताउनुभयो ।
उक्त अवसरमा उत्कृष्ट कृषकहरू तरकारी तथा फलफूलतर्फ रामजी पौडेल, खाद्यान्न बालीतर्फ पितृराज मरासिनी, पशुपालनतर्फ टीकाराम बराललाई सम्मान गरिएको थियो ।
महोत्सवका अवसरमा हिले दौडलगायतका विभिन्न प्रतियोगिता, साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
No comments:
Post a Comment