Friday, July 29, 2016

प्रधानमन्त्रीको ‘खर्पन’ शीर्षकको कविता

pm-2काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले कारागारमा हुँदा आफूले पनि कविता लेख्ने गरेको जानकारी दिनुभएको छ ।
यहाँ आज आयोजित कविता वाचन कार्यक्रममा उहाँले २०४१ सालमा पोखराको बन्दीगृहमा बसेका बेला लेखेको ‘खर्पन’ शीर्षक कविता पनि सुनाउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफूले राजनीतिक जीवन सुरु गर्दादेखि नै साहित्यकारसँग सङ्गत गरेको र त्यसतर्फ आकर्षित भएको बताउनुभयो । सहकर्मी मोदनाथ पश्रिततर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, “म कवि चाहिँ होइन, उहाँहरुको सङ्गतले पहिले कहिलेकाहीँ लेख्थँे ।”

पोखराको बन्दीगृहमा रहँदा काठमाडौँकै झल्को आउने गरी एक व्यक्तिले ‘खर्पन’ बोकेर हिँड्ने गरेको र त्यसैबाट प्रभावित भएर आफूले सोही शीर्षकको कविता लेखेको जानकारी दिनुभयो ।

म यही खर्पनमा हालेर हर दिन बेलुका
बितेको थोत्रोमैलो दिनलाई बिदा गर्छु
म यही खर्पन थापेर हर दिन बिहानै
आउने नयाँ सुकोमल दिनलाई स्वागत गर्छु
हाम्रा धेरै पुस्ताहरु भएर यो खर्पन आएको छ, अथवा–
यही खर्पनबाट गुज्रेर हाम्रो धेरै पुस्ता यहाँ आइपुगेको छ
अनि वर्तमानमा मैले यो खर्पन बोकेको छु
र यो खर्पनले मलाई बोकेको छ र मेरो परिवारलाई
यो खर्पन मेरो हतियार जसले जिन्दगीको बाटो काटिन्छ
तर खर्पन बाटो पनि हो, जसमा जिन्दगी हर दिन गुज्रिन्छ
यो मेरो बिहान हो, मेरो दिन हो, बेलुकी पनि हो,
मेरो बाल्यकाल हो खर्पन, जवानी हो र बुढ्यौली पनि हो
मेरो जीवनको दियो जलाउने बत्ती हो खर्पन
मेरो जीवनको सबभन्दा लामो साथी हो खर्पन
मान्छेहरुसँगको मेरो ‘जी–हजुर’, ‘तँ–तँ म–म’ सबै सम्बन्धहरु हो खर्पन
मेरो घर, मेरो घाट, मेरो बजार–मेरो हाट जे भने पनि हुन्छ खर्पन ।

जनसांस्कृतिक मञ्च नेपालले आयोजना गरेको ‘अविरल जनसाहित्य यात्रा’को २८ औँ शृङ्खलामा प्रगतिवादी कवि प्रा डा बद्रीविशाल पोखरेलले ‘कुरुपताविरोधी’ १० भन्दा बढी कविता वाचन गर्नुभएको थियो । उहाँका कवितामा राजनीतिक व्यङ्ग्य, राष्ट्रिय स्वाभिमान, शृङ्गारिक रस, प्राकृतिक सौन्दर्य तथा सामाजिक विकृति समेटिएका थिए ।

आयोजक मञ्चका अध्यक्ष राम विनयले जनपक्षीय साहित्य सिर्जना गर्ने सर्जकहरुलाई संरक्षण र प्रोत्साहन दिनु आफूहरुको उद्देश्य रहेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...