Saturday, July 9, 2016

भोटेकोसी कटानबाट थप तीन घर बगे

चौतारा, २५ असार । भोटेकोसी नदीमा आएको बाढीको कटानले सिन्धुपाल्चोक, तातोपानी गाविसको लिपिङ बजारमा आज थप तीन घर बगाएको छ ।

तीन पक्की घरसहित एनसेलको टावर समेत नदी कटानले बगाएको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । यसअघि ६० घर बगाइसकेकोे छ ।

तातोपानी क्षेत्रमा पानी नपरे पनि चीनबाट बगेर आउने सो नदीमा पानीको बहाब घटबढ हुने गरेको र नदीले बजार क्षेत्रतर्फ निरन्तर कटान गरिरहेकाले तातोपानीदेखि लिपिङ बजारमा रहेका सडकको तल्लो भागका घर उच्च जोखिममा रहेको प्रहरी निरीक्षक भुसालले जानकारी दिनुभयो । “नदी कटानले गाविस भवनको तल्लो भाग कटान गरिसकेको छ, भूकम्पपीडितको अनुदान सम्झौताको काम गाविस भवनमै बसेर गरिरहेको छु”– गाविस सचिव डम्बरबहादुर श्रेष्ठले भन्नुभयो, “शनिबारसम्म सक्नुपर्ने निर्देशन छ, त्यसैले खतरा मोलेरै जनताको काम गरिरहेको हुँ ।”

दिनभरि काम गरेर बेलुका भएपछि आफूसहित स्थानीयवासी बास बस्न सुरक्षित ठाउँ खोज्दै माथिल्लो गाउँमा जाने गरेको श्रेष्ठले बताउनुभयो । नदीले ठाउँ ठाउँमा राजमार्ग पूरै कटान गरेपछि भिरमा परिणत भएको र धेरै ठाउँमा पैदल हिँड्ने बाटो समेत नभएको हुँदा ठूलो जोखिम उठाएर हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ । नदीको कटान बस्तीतर्फ बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...