काठमाडौं, २० असार । कूटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्षपछि पहिलोपटक आज काठमाडौंमा नेपाल–भारतका आधिकारिक प्रतिनिधिबीच दुई देशीय सम्बन्धबारे खुलेर बहस हुने भएको छ ।
केही सन्धि–सम्झौताप्रति नेपालीपक्षले असन्तुष्टि जनाउँदै आएको भए पनि सम्बन्ध नै पुनरावलोकन गर्ने योजनासहित दुई देशका प्रतिनिधि एउटै टेबलमा बस्न लागेको इतिहासमै यो पहिलोपटक हो ।
नेपालले सन् १९४७ जुन १३ का दिन भारतसँग कूटनीतिक सम्बन्ध जोडेको थियो । नेपालले बेलायत र अमेरिकासँग मात्र कूटनीतिक सम्बन्ध गाँसेको थियो । बेलायती उपनिवेशबाट मुक्त हुनु केही साताअघि नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध औपचारिक रूपमा जोडिएको थियो । त्यसयता सम्बन्ध प्रगाढ बनाउने नाममा दुई देशबीच थुप्रै सन्धि–सम्झौता भए र सँगै तिनले विवाद पनि ल्याए ।
खासगरी १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि नेपालभित्र सधैं विवादित रह्यो । प्रमुख राजनीतिक दलले यसलाई राजनीति गर्ने बलियो हतियारको रूपमा प्रयोग गरे ।
१९५० को सन्धिलगायत नेपाल–भारतबीच भएका सम्पूर्ण सन्धि–सम्झौता र सम्बन्ध पुनरावलोकनका लागि सुझाव पेस गर्न दुवै देशका प्रबुद्ध व्यक्ति समूहको दुई दिने बैठक आज काठमाडौंमा सुरु हुन लागेको हो । बैठकको काठमाडौंस्थित पाँच तारे होटेलमा उदघाटन हुनेछ ।
नेपाल सरकारले २०७२ माघ १४ गते प्रबुद्ध व्यक्ति समूह गठन गरेको थियो । नेपालको समूहले गत ‘मे’ महिनामा काठमाडौंमा पहिलो संयुक्त बैठक बस्ने भनी पत्राचार गरेको भए पनि भारतीय पक्षले त्यसलाई अस्वीकार गरेको थियो । त्यसपछि दुई देशबीचको सम्बन्धमा विस्तारै सुधार हुँदै आएपछि समूहको संयुक्त बैठक असार २० र २१ गते काठमाडौंमा गर्न सहमति जुटेको थियो ।
पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा नेपालतर्फको प्रबुद्ध व्यक्ति समूहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, सांसद राजन भट्टराई र पूर्वकानूनमन्त्री नीलाम्बर आचार्य छन् ।
भारतद्वारा गठित प्रबुद्ध व्यक्ति समूहमा नेपालका लागि भारतीय पूर्वराजदूत जयन्त प्रसाद, जवारलाल नेहरु विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी. लामा, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोस्यारी र बिसी उप्रेती छन् ।
No comments:
Post a Comment