काठमाडौँ, २७ साउन । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले नेपालका एक करोड सात लाख युवालाई उचित काम दिनुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मिडिया इन्टरनेसनलले आज यहाँ आयोजना गरेको ‘युवा र उद्यमशीलता’ विषयको कार्यक्रममा मन्त्री श्रीपाइलीले संविधान कार्यान्वयन, भूकम्पपीडितलाई राहत र पुनःनिर्माणमा युवाको ठूलो भूमिका रहेकाले उनीहरु क्रियाशील हुनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले कोषले युवालाई अगाडि लैजान बिनाधितो कर्जा दिने काम गरिहेको स्पष्ट पार्नुभयो । कोषका अनुसार ७३ जिल्लामा ६०० वित्तीय संस्था मार्फत २८ हजारभन्दा धेरै युवालाई रोजगारी दिइएको छ ।
छ उद्यमी सम्मानित
युवा दिवसका अवसरमा विभिन्न विधामा विशेष योगदान दिएका छ युवा उद्यमीलाई सम्मान गरिएको छ । सो अनुसार ‘युवा सिर्जनशील सम्मान’ अप्सरा शाक्य, ‘युवारत्न गायन सम्मान’ तिलकबम मल्ल, ‘युवारत्न पत्रकारिता सम्मान’ कल्पना भण्डारी, ‘युवारत्न सहकारी सम्मान’ शिवकुमार डाँगी, ‘युवारत्न उद्यमी सम्मान’ धर्मराज श्रेष्ठ र ‘युवारत्न शैक्षिक सम्मान’ विराज पाण्डेलाई दिइएको छ ।
No comments:
Post a Comment