अगस्त, ६, २०१६ः अमेरिकाको भर्जिनिया र डिसि मेट्रो आसपास रहेका बौद्धिक नेपालीहरुले विश्व मानववादी अभियान र नेपाल बिषयक अन्तर्किया कार्यक्रमको आयोजना गरेका छन् । भर्जिनियाको जर्ज मेसन विश्वविद्यालयमा आयोजित कार्यक्रममा नेपालमा रुढीवाद र अन्धविश्वासले पारेको सामाजिक समस्याका बारेमा केन्द्रित भई अन्तकृया गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले कुरीति र कुसस्कारलाई हटाउन राजनीतिक दलले नसक्ने बरु बलियो सामाजिक अभियानको जरुरी भएको बताउनु भयो । साथै समाजलाई शिक्षित नबनाएसम्म रुढीवादहरु यथावत रहनेमा सबैको सहमति थियो ।
सो कार्यक्रममा बोल्दै मानववादी अभियान्ता प्रा. डा. गोपि उप्रेतिले नेपाल गौतम बुद्धको भुमी भएरपनि नेपाल अन्धविश्वासको भुमरिमा बाँचिरहनु दुर्भाग्य भएको बताउनु भयो । आफूले नेपालमा मानववादी अभियान शुरु गर्दाका चुनौतिपनि वहाँले सबैलाई जानकारी गराउनु भयो ।
त्यस्तै सोच नेपालका स्थापनाकर्ता मध्येका एक कृष्ण भण्डारीले मानववादी सिद्धान्तलाई आत्मसाथ गर्नाले आफुमा फराकिलो र तार्किक सोचको विकास भएको बताउनु भयो । तसर्थ मानववादी अभियान नेपालमा अत्यन्त जरुरी भएको वहाँको तर्क थियो ।
कार्यक्रममा बोल्दै डा. देशराज संयोकले कुरीति विरुद्धको अभियानमा आफु सधैँ सहयात्रीको भुमिका निर्वाह गर्ने बताउनु भयो ।
कार्यक्रमका अर्का वक्ता तथा बरिष्ठ साहित्यकार कृष्ण धरावासीले हामीले साहित्यका पात्रलाई देवता र मानव भनि पुजा गर्नाले अहिले बुद्ध जन्मेको देशको अन्धविश्वासको जगजगि भएको बताउनु भयो । अन्धविश्वासका कारण कसरी समाजमा महिलामाथि ज्यादति भईरहेको छ भन्ने उदाहरणहरु समेत वहाँले प्रस्तुत गर्नुभयो ।
प्रा. डा. मेदिनी अधिकारीले नेपालमा कुरिति विरुद्धको अभियानका बारेमा आफ्नो अनुभव राख्दै यो अभियानलाई आफुले सक्दो सहयोग गर्ने वचनवद्धता प्रस्तुत गर्नुभयो ।
उक्त कार्यक्रमका मुख्य प्रस्तोता तथा विश्व मानववादी अभियान्ता उत्तम निरौलाले अन्धविश्वासी सोचको उपज कुरीतिले नेपालमा पारेका असरका बारेमा आफ्नो प्रस्तुती राख्नु भयो भने विश्वभर कसरी मानववादी अभियान शसक्तरुपमा संचालन भईरहेको छ भन्नेपनि बौद्धिक समाजलाई जानकारी गराउनु भयो ।
उक्त कार्यक्रममा भर्जिनियाका एनआरएन अध्यक्ष मुक्ति दवाडीका साथै डिसि मेट्रो एरियाका करिब ४० जना बौद्धिक व्यक्तित्वको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले प्रस्तोता तथा वक्ताको भनाईमाथी अन्तकृया समेत गर्नुभएको थियो ।
उक्त कार्यक्रमको enepalese.com ले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।
No comments:
Post a Comment