– टिप्पणी
काठमाडौं, २३ साउन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि छिमेकी देशहरुको सक्रियता बढेको छ ।
नेकपा एमाले नेतृत्वको सरकार परिवर्तनपछि उत्पन्न पछिल्लो राजनीतिक परिस्थितीमा खासगरी छिमेकी देश चीन र भारतका राजदूतहरुले सक्रियता बढाएका हुन् । यो सक्रियतामा चीनका राजदूत उ चुन्ताई पहिलो भइरहेका छन् भने त्यसको पछिपछि भारतीय राजदूत रञ्जीत रे दौडिरहेका छन् ।
घटना एक
पुष्पकमल दाहाल साउन १९ गते बुधबार अपराह्न व्यवस्थापिका संसदको बहुमतसहित प्रधानमन्त्रीमा निर्वाचित भए । लगत्तै उनलाई बधाईको ओइरो लाग्यो । उत्तरी छिमेकी चीनका राजदूत उ चुन्ताईले त्यही दिनको साँझ दाहाललाई लाजिम्पाट निवासमा स्वागत गरे । प्रचण्डलाई बधाई दिने र स्वागत गर्ने चिनियाँ राजदूत पहिलो कुटनीतिज्ञ बने । त्यसको भोलिपल्ट साउन २० गते भारतका राजदूत रञ्जीत रे पनी हतार हतार लाजिम्पाट पुगे । प्रचण्डलाई पुष्पगुच्छा दिएर बधाई दिए ।
घटना २
प्रधानमन्त्री निर्वाचित भएको दोस्रो दिन साउन २० गते विहीबार दिउँसो प्रचण्डले शीतलनिवासमा राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिए । सपथ लिएलगत्तै कुटनीतिक नियोगका अधिकारीले प्रधानमन्त्रीलाई हात मिलाएर बधाई दिन कार्यक्रम राखियो । त्यसमा लाइन लागेका कुटनीतिक नियोगका प्रमुखहरुमा चिनियाँ राजदूत पहिलो नम्बरमा थिए । उनले सबैभन्दा पहिला चीन सरकार र चीनका जनताका तर्फबाट प्रमलाई बधाई दिए । लाइनको पछाडी रहेका भारतीय राजदूतले पछि मात्रै हात मिलाउन पाए । तर, भारतीय राजदूतसँग हात मिलाउँदा प्रचण्डले शिर झुकाएका थिए ।
घटना तीन
प्रचण्ड प्रधानमन्त्री भएको तेस्रो दिन साउन २१ गते शुक्रबार चिनियाँ राजदूत चुन्ताईले निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेट गरे । भेटमा चिनियाँ राजदूतले नेपालको विकासमा सहयोग गरिरहने बेइजिङको सन्देश सुनाउँदै चीनसँग भएका सम्झौता कार्यान्वयनमा भुमिका खेल्न आग्रह गरे । चिनियाँ राजदूतले भेटेको दुईपछि आज आइतबार भारतीय राजदूत रञ्जीत रेले ओलीसँग पार्टी कार्यालय धुम्बाराही पुगेर भेटवार्ता गरे । प्रधानमन्त्री हुँदा रेसँग भेट्न नमानेका ओलीले आज बल्ल भेट्न मानेका थिए । रेले हिजो नै ओलीलाई भेट्न खोजेका थिए तर, आजको समय पाएका थिए । भारतको षडयन्त्रमा सरकार परिवर्तन भएको बताउँदै आएका ओली र राजदूत रेबीचको वार्तामा दुई देशबीचका पछिल्लो सम्बन्ध र विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको एमाले प्रचार विभागले जनाएको छ ।
निष्कर्षः
यसरी चीन र भारतका राजदूतबीच नेता भेटघाटमा निकै प्रतिस्पर्धा भइरहेको छ । चीनले नेपालमा केही गरिहाल्छ भन्ने चिन्ताले भारतले आफ्ना दूतलाई जहाँ जहाँ चिनियाँ दूत गए त्यही पठाइरहेको छ । तर, यो प्रतिस्पर्धामा चीन अगाडि देखिएको छ ।
No comments:
Post a Comment