Sunday, August 14, 2016

अमेरिकामा महायज्ञ मात्र हैन नेपाली समुदाय आपसमा मिलेर धेरै सामुहिक हितको काम गर्न सक्ने -प्रकाश श्रेष्ठ

prakash 1

एकता नै शक्ती हो भन्ने महानवाणीलाई अात्मसाथ गर्न सकेमा अवस्य पनि सामुहिक हितका लागी स्वदेश मात्र हैन विदेशमा बसेर पनि धेरै सामुदायिक हितका काम गर्न सकिन्छ भन्ने उदाहरणहरु प्रसस्त दिन सकिन्छ । त्यसो त सामाजिक कामको लागी कुशल सामाजिक अभियान्ताहरुको जरुरी पर्छ र उनीहरुको आनीबानी र व्यवहार अनुकरणीय हुनै पर्छ । नेपालीहरुको विस्तारै बढ्दै गएको विकसित देशहरुको स्थायी बसोबास गर्ने क्रमले तिव्रता लिए सँगै ती देशहरुमा आफ्ना भाषा, संस्कार, संस्कृती, धर्म, परम्परा, रितिरिवाज, आस्था, चाडवाड, उत्सव, पर्वहरु आदीलाई समेत जिवन्त राख्ने काममा एकिकृत रुपमा जुटेर अगाडी बढेको पनि देखिन्छ । यसै क्रममा विदेशमा समेत नेपाली भाषाका कक्षा बालबालिहरुको लागी संचालन गर्ने, धार्मिक धरोहर निर्माण गर्ने, सामुदायिक भवनहरु निर्माण गर्ने, सभा-सेमिनार स्थलहरुको व्यवस्था गर्ने लगायत सामुहिक महत्व राख्ने विभिन्न स्थलहरुको बन्दोबस्त गर्न प्रयासरत रहेको पाईन्छ ।

विशेषगरि अमेरिकाको कुराको बारे चर्चा गर्नु पर्दा नेपाली समुदायहरुले हाल सम्म विभिन्न राज्यमा भारत, थाईल्याण्ड, जापान, कोरिया लगायत अन्य मुलुकहरुले निर्माण गरेका मन्दिर, गुम्बा, चर्च, मस्जिदहरुमा पुजापाठ, प्रार्थना गरेर आफ्नो धार्मिक आस्था र परम्परागत कर्मकाण्डहरु अवलम्बन गरेको पाईन्छ । त्यसमा पनि नेपालीहरु जसरी नेपालमा सनातन हिन्दु धर्ममा बढि आस्थावान छन् त्यही अनुरुप अमेरिकामा पनि उनीहरुको संख्या उल्लेखनिय छ र उनीहरुले पवित्रस्थलको रुपमा हिन्दु मन्दिरलाई पुजापाठको लागी उपयोग गर्छन् । त्यसैले आजकल विस्तारै आफ्नै नेपाली समुदायको स्वामित्व रहेको मन्दिर र नेपाली पुजारीहरुको व्यवस्था समेत भएमा आफुहरुलाई सहज हुने ठानेर मन्दिरहरु निर्माण गर्ने काममा विभिन्न सामाजिक संघ-संस्थाहरु स्थापना गरेर लागेको पनि देखिन्छ ।

नेपालीहरुको बर्चस्व बढि रहेको क्यालिफोर्निया, न्युयोर्क, टेक्सास लगायतका राज्यहरुमा यस्तो कार्यमा बढि सक्रियता पहिले देखि नै देख्दै आईएको छ । त्यसो त अन्य राज्य जहाँ नेपालीहरुको संख्यात्मक उपस्थिती बढि छ त्यहाँ समेत आवस्यक प्रयास नभएका भने होईनन् तर यस्ता कार्यले सार्थकरुप लिन सकिरहेको देखिदैन । कतिपय राज्यमा विभिन्न सप्ताह महायज्ञ, पुराणहरु लगाएर आर्थिक सहयोग संकलन गर्न लागिपरेको पनि देखिन्छ । यसै सन्दर्भमा सामाजिक काममा अत्यान्तै सक्रियता देखाईरहेको टेक्सास राज्यमा भरखरै मात्र यस्तो सप्ताह महायज्ञ(महापुराण) नेपाली मन्दिरमा सम्पन गरेर नयाँ मन्दिर निर्माण गर्नको लागी आर्थिक सहयोग संकलन गरेको र संकलनको अभियान जारी रहेको पनि खवर सुन्नमा आयो ।

यसै सन्दर्भमा नेपाली समुदायका व्यक्तीहरुले मासिक तवरबाट निश्चित रकम दिने गरेर पनि सहयोगको लागी तत्परता देखाएको देखियो । मोटामोटी रुपमा एकमुष्ठ आर्थिक सहयोगको अलवा मन्दिर निर्माण समितीले कम्तीमा एकहजार जना व्यक्ती/परिवारलाई मासिक $ ३० नयाँ मन्दिर निर्माण गर्नको लागी सहयोग गर्न मञ्जुर हुने दाताहरु तयार गर्ने लक्ष्य लिएको र धेरै व्यक्तीहरु यसमा आवद्ध भईसकेको जानकारी पनि उक्त महायज्ञमा उल्लेख गरिएको कुरा सामाजिक संजाल मार्फत पनि जानकारी मिल्यो । साथै उक्त धार्मिक महायज्ञमा भक्तजनहरुको उल्लेखनिय सहभागिता देखियो ।

त्यस्तै नेपाली पण्डितहरुले विधी पुर्याएर पाठ गरेको र प्रवचन दिएको, भजनमण्डली देखि सबै व्यवस्थापन कुशल ढंगबाट भएको देखियो । यसले एउटा कुरा के देखायो भने विदेशमा रहेर समेत नेपालीहरु समुदायमा मिलेर आफ्नो संस्कार र संस्कृतिलाई जीवन्त राखेर नेपालीपनलाई दिगो राख्न दत्तचित्तले लाग्न सक्छन् भन्ने उदाहरण पेश गरेको छ । हुन पनि जन्मे देखि मृत्युपर्यान्त सम्म गरिने अनेकन कर्मकाण्ड गर्न आफ्नो स्वामित्वमा रहेको यस्ता धार्मिक धरोहर हुन सकेमा पक्कै पनि नेपाली समुदायलाई सजिलो हुने र भावी पिढीमा आफ्ना संस्कार र परम्परागत मुल्य-मान्यतालाई हस्तान्तरण गर्न सकिने देखिन्छ ।

जसरी धार्मिक कार्य गर्न र धार्मिक मठमन्दिरहरु, गुम्बाहरु निर्माण गर्न नेपालीहरु विच मतएेक्यता देखिन्छ त्यसैगरिकन अन्य समुदायको हित, आपतविपत, कठिन समस्या, साझा सरोकार, साझा पहिचान एवं नेपाल र नेपालीलाई विश्व जगतलाई परिचित गराउन, आर्थिक एवं सामाजिक उन्नतीको बाटोमा एकसाथ अघि बढ्न आपसमा हातेमालो सधै हुन सके पक्कै पनि आप्रवासीहरुको “मेल्टिंगपट ” भनेर चिनिने मुलुक अमेरिकामा नेपालीहरुको छुट्टै पहिचान निर्माण हुन सक्थ्यो र नेपाली भएर सम्मानित एवं आत्मगौरभ गरेर निर्धक्क गर्भका साथ छाती फुलाएर बाँच्न सकिने थियो भन्ने लाग्दछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...