भोजपुर, १७ साउन । भोजपुरलाई जनसङ्ख्याको आधार नभई भौगोलिक आधारमा पुनःसंरचना गर्नुपर्ने माग गरिएको छ ।
जिल्लास्थित सञ्चारकर्मी सङ्घसंस्था र नागरिक समाजबीच आइतबार भएको अन्तक्र्रियामा बोल्ने अधिकांश वक्ताले भोजपुरलाई कम्तीमा ११ वटा स्थानीय निकायमा विभाजन गर्नुपर्ने माग राखेका हुन् ।
साविक ६३ गाविस र दुई नगरपालिका बनेपछि ५४ गाविस रहेको भोजपुरमा छ गाउँपालिका र दुई नगरपालिकाको प्रस्ताव सर्वमान्य हुन नसक्ने सरोकारवालाको भनाइ छ । यहाँको भौगोलिक विकटतालाई मुख्य आधार मानी प्राकृतिक तथा ऐतिहासिक स्रोत साधन, संस्कृति, पहिचान र मौलिकतालाई कुनै असर नपर्ने गरी पुनःसंरचना गर्नुपर्ने सुझाव आएको छ ।
उनीहरुले पुनःसंरचना भएपछि प्राकृतिक स्रोतको उपयोगमा आउन सक्ने विवादको विषयलाई पनि अहिले नै टुङ्गाउनुपर्ने बताएका छन् ।
यसैबीच यसअघि जिल्लाका क्रियाशील राजनीतिक दलबीच भएको छलफलमा उनीहरुले १३ वटा स्थानीय निकायको माग गरेका थिए । राजनीतिक दलको मागलाई आयोग र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा लिखित र मौखिक रुपमा पठाइएको स्थानीय विकास अधिकारी भानुभक्त न्यौपानेले बताउनुभयो ।
गाउँपालिका नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले भोजपुरलाई दुई नगरपालिका र छ गाउँपालिकासहित आठ स्थानीय तहको प्रस्ताव गरेको छ । आठ स्थानीय तहको लागि ७६ वटा वडाको पनि प्रस्ताव गरेको छ ।
No comments:
Post a Comment