Wednesday, August 3, 2016

अनलाइनबाट फारम भर्ने भएपछि सरुवा माग्ने बढे

काठमाडौ १९ साउन । निजामती कर्मचारीको सरुवाका लागि अनलाइनबाट फारम भर्ने व्यवस्था गरेपछि सरुवा माग गर्ने कर्मचारी बढेको पाइएको छ ।
सरुवाका लागि काठमाडौ धाउन नपर्ने घरबाट अनलाइनमार्फत निवेदन दिने व्यवस्था भएपछि सरुवा माग्ने बढेको पाइएको हो ।

सामान्य प्रशासन मन्त्रालयकी सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले अनलाइनबाट फारम भर्ने व्यवस्था गरेपनि विगतभन्दा धेरैले सरुवाका लागि निवेदन दिएको बताउनुभयो ।

उहाँका अनुसार १५ दिनमा दुई हजार ५०० जनाले सरुवाका लागि निवेदन दिइसकेका छन् । ‘‘अनलाइनबाट फारम भर्ने व्यवस्था गरेपछि धेरैले सरुवाका लागि फारम भरेका छन्’’उहाँले भन्नुभयो–‘‘काठमाडौँ आउन नपरेपछि घरैबाट सरुवाका लागि फारम भर्ने व्यवस्था भएकाले धेरैले भरेका हुन् ।’’
उहाँले साउन मसान्तसम्म फारम भर्ने समय रहेकाले अझै बढ्ने बताउनुभयो । सहसचिव समेत रहनुभएकी पोखरेलले सरुवाको माग अनुसार खाली ठाउँ भए सरुवा गरिनेछ भन्नुभयो ।

मन्त्रालयले यही साउन ३ गतेबाट श्रेणीविहीनदेखि राजपत्राङ्कित द्वितीय श्रेणीसम्मका कर्मचारीलाई अन्तरमन्त्रालय र निकाय सरुवाका लागि अनलाइनबाट नै फारम भर्ने व्यवस्था मिलाएको हो ।

अनलाइनमा निवेदन दिएकामध्ये सबैभन्दा बढी नायब सुब्बाका कर्मचारीले सरुवाका लागि निवेदन लिएका उपसचिव केशरीले जानकारी गराउनुभयो । मन्त्रालयका उपसचिव मुकेशकुमार केशरीका अनुसार नायब सुब्बा ५८४, खरदार ५२०, अधिकृत १८२ र श्रेणी विहीन १३४ जनाले सरुवाका लागि अनलाइनमा निवेदन दिएका छन् । सबैभन्दा कम उपसचिव ४५ जनाले मात्र सरुवाका लागि निवेदन दिएका छन् ।

मन्त्रालयले २४ घन्टा कर्मचारीलाई अनलाइनको फारम भर्ने व्यवस्था मिलाएको छ । प्रत्येक दिन १५० का दरले कर्मचारीले अनलाइनमा फारम भरेका छन् । फारम भरेपछि एसएमएसमार्फत सरुवाको निवेदन दर्ता भएको र दर्ता नम्बर कर्मचारीले पाउने छन् ।

उपसचिव केशरीले २५ गतेपछि फारम हेरेर सरुवाका लागि प्रक्रिया थालनी गरिने जानकारी गराउनुभयो । यसैगरी मन्त्रालयले हस्तलिखित रुपमा आएका फारमलाई पनि अनलाइनमा अद्यावधिक गर्ने गरेको छ ।

अनलाइनबाट नै सरुवाको व्यवस्था गर्नका लागि मन्त्रालयले हस्तलिखित फारमलाई पनि अनलाइनमा अद्यावधिक गरेको उपसचिव केशरीले जानकारी गराउनुभयो ।

कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत लीलाराज काफ्लेले पुराना कर्मचारी, कम्प्युटर चलाउन नजान्ने र दुर्गम क्षेत्रका कर्मचारीले मन्त्रालय आएर हस्तलिखित फारम भर्ने गरेको बताउनुभयो ।

उहाँले मन्त्रालयले सरुवा भएको पत्र इमेलमा नै पठाउने भएकोले धेरै कर्मचारीले इमेल नै नखोलेको पनि अनलाइनमा फारम नभरेको हुनसक्ने बताउनुभयो । मन्त्रालयले कर्मचारीलाई सजिलो र सरुवालाई व्यवस्थित बनाउन पहिलोपटक अनलाइनबाट फारम भर्ने व्यवस्था गरेको हो ।

गतवर्ष मन्त्रालयले तीन हजार ५०० जनाको सरुवा गरिएको थियो । देशभरि ८३ हजार ५७० निजामती कर्मचारी रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...