Wednesday, August 3, 2016

सत्ता साझेदार दलसँगको सहमतिपछि मन्त्री चयन गरिने

काठमाडौँ, २० साउन । नेकपा (माओवादी केन्द्र)ले नेपाली काँग्रेससँगको सहमतिपछि मन्त्रीमण्डलमा सहभागी हुने मन्त्रीको नामावली चयन गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा आज बसेको (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकले आजै अपराह्न १ बजे काँग्रेससँगको संयुक्त छलफलपछि मात्रै मन्त्रीको चयन गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सरकारका सहयात्री दलसँगको छलफलपछि मात्रै मन्त्रीको अन्तिम नाम चयन गरिने जानकारी दिनुभयो । तर उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा भने कृष्णबहादुर महरालाई पठाउने अनौपचारिक निर्णय भएको जनाइएको छ ।

यसैबीच नेपालका लागि भारतका राजदूत रञ्जित रायले आजै प्रधानमन्त्री दाहालसँग भेटघाट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास लाजिम्पाटमा आज बिहान भएको भेटवार्तामा राजदूत रायले प्रधानमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले पनि राष्ट्रपति सी जिन पिङ र प्रधानमन्त्री ली खछ्याङ तथा चिनियाँ जनताको तर्फबाट बधाई दिनुभएको थियो ।

प्रधानमन्त्री दाहाललाई विभिन्न राजनीतिक दल, कूटनीतिक नियोग, नेता, कार्यकर्ता तथा जनताले बधाई दिने क्रम जारी रहेको उहाँको सचिवालयले जानकारी दिएको छ ।

शपथ ग्रहणपछि प्रधानमन्त्री लैनचौर जानुहुने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज अपराह्न ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहण गरेपछि सहिद स्मृति स्तम्भ लैनचौरमा माल्यार्पण गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्तै पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिद तथा बेपत्ता योद्धाको स्मृतिमा निर्माण गरिएको स्तम्भमा माल्यार्पण गर्नुहुनेछ । सहिद तथा बेपत्ता योद्धाको सम्मानमा माल्यार्पण गरेपछि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर उहाँले पद भार ग्रहण गर्नुहुने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...