Sunday, August 14, 2016

हरिवंशद्वारा मुटुसम्बन्धी क्लिनिक उद्घाटन

download (2)भक्तपुर, २९ साउन । वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपालमै पहिलोपटक सञ्चालनमा आएको मुटुको चाल गड्बडीसम्बन्धी रोगको उपचार गर्ने हेल्दी हार्ट क्लिनिक एण्ड मल्टी स्पेसियालिटी सेन्टरको उद्घाटन गर्नुभएको छ ।

भक्तपुरको गठ्ठाघरमा आजदेखि सञ्चालनमा आएको हेल्दी हार्ट क्लिनिकको उद्घाटन गर्दै उहाँले नक्कली डाक्टरदेखि सचेत हुनुपर्ने बेला आएकाले यस्ता क्लिनिकले त्यसतर्फ ध्यान दिनुपर्ने औँल्याउनुभयो ।

उहाँले नेपाल र सम्पूर्ण नेपालीलाई स्वस्थ बनाउनुपर्ने बेला आएको बताउँदै दिनमा कम्तीमा पनि १० हजार पाइला हिँड्न सकेमा मुटुको रोगबाट बच्न मद्दत पुग्ने बताउनुभयो । उहाँले दिनमा कम्तीमा पनि एक घन्टा शारीरिक व्यायामका लागि छुट्याउनुपर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा मुटुरोग विशेषज्ञ एवम् सहिद गङ्गालाल हृदयरोग अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्मा, मुटुरोग विशेषज्ञहरु प्रा डा राकेश बर्मा, डा दिवाकर शर्मा, डा मनबहादुर केसी, डा यादवकुमार देव भट्टले मुटुरोग लागेका बिरामीलाई ओपिडी सेवा लिन अब गङ्गालालमै जानुपर्ने बाध्यता हटेको बताउनुभयो ।

कार्यक्रममा हेल्दी हार्ट क्लिनिकका अध्यक्ष एवम् मुटुको चाल गडबडीसम्बन्धी रोगको नेपालका एकमात्र विशेषज्ञ चिकित्सक डा रोशन राउतले बिरामीलाई सहज र गुणस्तरीय सेवा दिन मुटुरोगको ओपिडी सेवासहितका विभिन्न सेवाहरु सञ्चालनमा ल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “मुटुको चाल गडबडीसम्बन्धी रोगको विशेषज्ञ सेवा प्रदान गर्न नेपालमै पहिलोपटक यस प्रकारको क्लिनिक सञ्चालन गर्दैछौँ, अब यो रोगका बिरामीले भौँतारिँदै विभिन्न अस्पताल र विदेशमा जानु पर्दैन ।”

कार्यक्रममा क्लिनिकका निर्देशक राम आचार्यले नेपालको गङ्गालाल अस्पतालबाहेक अन्यत्र यस प्रकारको सेवा नभएको बताउँदै भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक र उपत्यकाका बिरामीले अब सहज सेवा पाउने दाबी गर्नुभयो ।

त्यस अवसरमा क्लिनिकका अर्का निर्देशक बच्चन देउजाले क्लिनिकमा मुटुको चाल गडबडीसम्बन्धी रोगका साथै मुटुरोग, हेल्थ प्याकेजका रुपमा मुटुकै विभिन्न सेवा, जनरल मेडिसिन, मधुमेह, थाइराइड तथा हर्मोन, हाडजोर्नी तथा नसा रोग, प्रसूति तथा स्त्री रोग, बाल रोग, छाला रोग, आँखा रोग, पेट तथा नसाको भिडियो एक्सरे, एक्सरेलगायतका सेवा सञ्चालन गरेको बताउनुभयो ।

क्लिनिकमा नेपालकै एकमात्रै आइएसओ प्रमाणपत्र प्राप्त प्याथोलोजी ल्याबसमेत सञ्चालनमा ल्याएको जानकारी दिँदै ल्याबका प्रमुख डा केयुर गौतमले प्याथोलोजी ल्याबमा बिरामीले छिटो, सहज र गुणस्तरीय सेवा पाउने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...