Sunday, August 14, 2016

चार वर्षदेखि पुल नबन्दा समस्या

जुम्ला, ३१ साउन । कर्णाली राजमार्गअन्तर्गत कालिकोट सडकखण्डको जुविथा–९ खल्लागाडमा निर्माण कार्य सुरु भएको चार वर्षसम्म पनि पुल बन्न सकेको छैन ।

पुल नबन्दा बर्सेनि कर्णालीमा यात्रा गर्ने यात्रु र गाडी व्यवसायीलाई सास्ती हुँदै आएको छ । यो वर्ष साउनदेखि खल्लागाडमा पानी बढेपछि गाडी आवातजावतमा अवरोध पुगेको हो । काठमाडौँ, नेपालगन्ज, सुर्खेतदेखि जुम्ला, मुगु आउने यात्रुलाई खल्लागाडबाट भारी बोकेरै घन्टाँै पैदल हिँड्नु परेको जुविथा– ३ खल्लागाउँका स्थानीय नन्दप्रसाद न्यौपानेले बताउनुभयो । खल्लागाडमा देखिएको समस्या समाधानका निम्ति भनेर धेरै निकायका व्यक्ति आए, तर समाधान भएन्, न्यौपानेले भन्नुभयो । भर्खरै काला पहाड भारतबाट गृह जिल्ला जुम्लामा आइपुगेका नरोकोट–५ जुम्लाका परबहादुर बूढाले पुल नबन्नु, बाटो गुणस्तरहीन हुनु राज्यको कमजोरी भएको औँल्याउनुभयो । हामी भारतका गल्लीमा, खाडीमुलुकका दास जीवन बिताउँदै श्रम बेच्नुपर्ने बाध्य पनि राज्यले बनाएको उहाँको आक्रोश थियो । समयमै पुल नबनाउनेलाई राज्यले कारबाही गर्नु पर्दछ, उहाँले भन्नुभयो । गाडी चालक ज्ञानेन्द्र खड्काले पुल नबनेकै कारण चार वर्षदेखि यस खण्डमा सास्ती भोग्दै आएको बताउनुभयो ।

जुविथा–९ का स्थानीय ऐनबहादुर शाहीले पुलमा काम गरेका ज्यामीले अहिलेसम्म रु ४५ लाख पाउन नसकेको बताउनुभयो । डिभिजन सडक कार्यालय जुम्लाका सव–इञ्जिनियर बलबहादुर ऐडीले राजेन्द्र निर्माण सेवाले रु चार करोड बजेटमा घटेर रु तीन करोडमा बिड गरी निर्माण कार्यका लागि २०६९ असारमा सम्झौता भएको बताउनुभयो ।

निर्माण सेवाले ब्रमजंग बमलाई ठेक्का अख्तियारनामा दिँदा काम समयमै नभएको भन्दै २०७२ फागुन २ गते सम्झौता तोडेर आफैँले काम थालेको उहाँको भनाइ छ । वर्षा भएकाले निर्माण कार्यमा अवरोध आएको जनाइएको छ ।

एक महिनादेखि सवारी आवागमनमा समस्या आएपछि समाधानको विकल्प खोज्न भन्दै आइतबार कर्णाली यातायात व्यवसायी सङ्घ जुम्लाका अध्यक्ष मीनबहादुर थापाको संयोजकत्वमा यहाँका राजनीतिक दल, डिभिजन सडक कार्यालय, कर्णाली यातायात व्यवस्था कार्यालय, नागरिक समाजका प्रतिनिधि र पत्रकार सञ्चारकर्मीको टोलीले खल्लागाडको विस्तृत अनुगमन गरेको थियो । थापा संयोजकत्वको अनुगमन टोलीले तत्कालै सवारी आवागमन सुचारु गराउन आज जिल्ला प्रशासन कार्यालय जुम्लामा सर्वदलीय बैठक राख्ने निर्णय गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...