२०१६/०८/१५, आइतवार साँझ ८:३० बजे देखि १०:१० बजे सम्म अमेरिकाका १६ वटा एन.आर.एन राज्य संगठनहरुको ‘फोन कन्फेरेंसिंग‘ सफलतापूर्वक सम्पन्न भयो। यस कन्फेरेन्सको आयोजना एन.आर.एन एन.सी.सी. यु.एस.ए. को सबै भन्दा कान्छो राज्य संगठन “एन.आर.एन जर्जिया च्याप्टर” बाट भएको थियो। कायक्रममा ६ वटा राज्य संगठनहरुको प्रतिनिधित्व भएको थियो। ती थिए – न्यु योर्क, क्यालिफोर्निया, टेक्सास, भर्जिनिया, नर्थ क्यारोलाइना, र जर्जिया। थप दुई वटा राज्यहरुबाट पनि सहभागिता भएको थियो – फ्लोरिडा र ओरेगन।
कार्यक्रमको उद्घाटन जर्जिया राज्यका एन.आर.एन संयोजक गोबिन्द श्रेष्ठबाट भएको थियो। उहाँले एन.आर.एन यु.एस.ए.को सबै भन्दा कान्छो राज्य संगठन भएकोले “एन.आर.एन जर्जिया च्याप्टर”ले अरु च्याप्टरहरु बाट धेरै कुरा सिक्न बाँकी रहेको र त्यसैको सुरुवात यो कार्यक्रमबाट हुने कुरा राख्नु भयो। यो कार्यक्रमलाई जर्जिया च्याप्टरले अरु च्याप्टरहरुको सहयोगमा मासिकरुपमा निरन्तरता दिने प्रयाश गर्ने बताउनु भयो। साथै यस्तो निरन्तर चल्ने कार्यक्रमले एन.आर.एन च्याप्टर नभएका तर खोल्न चाहने राज्यहरुलाई पनि सिक्न र कुरा राख्न फोरम प्रदान गर्ने कुरा राख्नु भयो।
च्याप्टरहरुबाट जो पहिलो लाइनमा आयो उसैको बोल्ने पालोको क्रममा पहिलो वक्ताको रूपमा न्यु योर्क च्याप्टरका अध्यक्ष तेम्बा शेर्पाले आफ्नो र च्याप्टरको परिचय दिदैं आफ्नो च्याप्टरले एन.आर.एन एन.सी.सी. यु.एस.ए. सँग संयुक्त कार्यक्रम संचालन गर्ने कुरा बताउनु भयो। विगतमा न्युयोर्क च्याप्टरले “टि.पी.एस.” र “नेपाल परेड डे” जस्ता उदाहरनिय काम गरेको उल्लेख गर्दै अहिले एन.आर.एन न्यु योर्कका रजिस्टर्ड सदस्यहरुलाई “परिचय पत्र” बनाउने र वितरण गर्ने काममा लागि रहेको कुरा राख्नु भयो।न्यु योर्कमा ३५,००० भन्दा बढी नेपाली रहेको उल्लेख गर्दै ४,००० जति एन.आर.एन सदस्य दर्ता भएको कुरा गर्नुभयो।
त्यस्तै बोल्ने क्रममा “एन.आर.एन स्वाथ्य तथा सामाजिक सेवा” समितिका सभापति डा. संजीव सापकोटाले आफ्नो समितिले “जीका”, “मुटु रोग”, र “दुखाइ” जस्ता बिषयमा विषयका बिज्ञहरुलाई राखेर अन्तरक्रिया चलाएको कुरा राख्नु भयो। अहिले “ग्यास स्टेसन” मा काम गर्ने नेपालीहरुको स्वास्थ्य सम्बन्धि कार्यक्रम संचालन गरिरहेको कुरा गर्नुभयो। विभिन्न राज्य संगठनहरु सँग मिलेर भविष्यमा मिलेर कार्यक्रम विस्तार गर्न सकिने कुरा राख्नुभयो।
टेक्सास राज्य च्याप्टरको प्रतिनिधित्व गर्दै अध्यक्ष उत्तम लामिछानेको अनुपस्थितिमा व्यवसायिक डिरेक्टर सुरेश बस्यालले आफू दुबईमा पनि २००९-११ मा एन.आर.एन च्याप्टरको सचिव रहेर काम गरेको उल्लेख गर्दै विगतमा टेक्सासले “टि.पी.एस”, “भूकम्प पिडितलाइ सहयोग”, “शव दाहन केन्द्र निर्माण” जस्ता कार्यक्रम संचालन गरेको कुरा बताउनु भयो। नेपालको ७५ जिल्लाकै युवाहरु र अमेरिकाका युवाहरुबिचको “वेबिनार” गराएको बताउनु भयो। साथै टेक्सासको स्थानीय संगठन “नेपाली सामाजिक केन्द्र” सँग नंग-मासु जस्तै मिलेर कार्यक्रम गर्ने गरेको कुरा राख्नु भयो। अन्तमा, एन.आर.एन एन.सी.सी. यु.एस.ए. बोर्ड, राज्य संगठनहरु, तथा विभिन्न समिति,उपसमिति बिचको कार्य बिभाजन र कार्यदिशा अस्पस्ट रहेको कुरा गर्नु भयो। बिशेषत: च्याप्टरहरुको कानूनी अस्पस्टता एन.आर.एन एन.सी.सी. यु.एस.ए.ले चिर्नु पर्ने आवस्यक रहेको कुरा राख्नु भयो।
क्यालिफोर्निया राज्य च्याप्टरको प्रतिनिधित्व गर्दै च्याप्टरका अध्यक्ष पूर्ण बानियाले टेक्साससँग सहमति जनाउदै एन.आर.एन यु.एस.ए.का राज्य च्याप्टरहरुको कार्यक्षेत्र, कार्यदिशा, अधिकार, र दायित्व अस्पस्ट रहेको कुरा राख्नु भयो। साथै एन.आर.एन यु.एस.ए. बोर्डले एक दर्जन जति समिति, उप-समिति बनाउँदा राज्य च्याप्टरहरुसँग कुनै सल्लाह नगरेको, नमागेको कुराले बोर्ड, च्याप्टर, र समिति-उपसमिति बिचको सम्बन्ध स्पस्ट नरहेको कुरा राख्नु भयो। आफ्नो च्याप्टरले भैरहेका स्थानीय संस्थाले गरिरको दशैं, तीज, र नयाँ वर्षजस्ता कार्यक्रम नगर्ने बरु सफल पार्न सहयोग गर्ने गरको कुरा गर्नुभयो। आफ्नो च्याप्टरले ३० वटा स्थानीय नेपाली संगठनहरुलाई एक ठाउँमा ल्याएर उनीहरुको सल्लाह लिएको कुराराख्नु भयो।
भूकम्प पिडितको लागि आफ्नो च्याप्टरले $२२,००० जति उठाएर सहयोग गरेको बताउनुभयो। “भारतीय नाकाबन्दी” बिरुद्ध आफ्नो राज्यमा च्याप्टरको अगुवाईमा विभिन्न स्थानिय संघ-संस्थाहरु सँग मिलेर बिरोधahile कार्यक्रम संचालन गरेको कुरा राख्नुभयो। अहिले अगस्त २१ गते लास अन्जलासको “तारा हिमालयन कुजिन” मा नेपाली उद्योगपति बिनोद चौधरी, एन.आर.एनका संस्थापक उद्योगपति उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, तथा पूर्व एन.आर.एन एन.सी.सी. यु.एस.ए.का अध्यक्ष खगेन्द्र जी.सी.को उपस्थितिमा “नेपाली अमेरिकन समुदायको निर्माण र अमेरिकी बजारमा नेपाली लगानी” नामक अन्तरक्रिया कार्यक्रम संचालन गर्न लागेको कुरा राख्नु भयो। अहिले “टि.पी.एस.” नवीकरण गर्न अमेरिकी सरकारसंग पहल गर्न एन.आर.एन एन.सी.सी. यु.एस.ए. ले आवाज उठाउनु पर्ने कुरा गर्नुभयो। अन्तमा क्यालिफोर्नियामा २०,००० भन्दा बढी नेपाली रहेकोमा एन.आर.एन सदस्यमा २,००० जति दर्ता भएको कुरा खुलाउनुभयो।
एन.आर.एन एन.सी.सी. यु.एस.ए. बोर्डका उपाध्यक्ष डिल्ली भट्टराईले क्यालिफोर्नियाबाट बोल्दै अहिले एन.आर.एन एन.सी.सी. यु.एस.ए.को प्रमुख काम मध्ये “जना-गरना” रहेको उल्लेख गर्दै सबैलाई अगष्ट २७-२९ को क्षेत्रीय सम्मेलनमा सहभागी हुन आग्रह गर्नुभयो।
नर्थ क्यारोलाइना च्याप्टरका अध्यक्ष रेवतीराज अधिकारीले एन.आर.एन राज्य च्याप्टरहरु टुहुरा जस्तै भएको कुरा पोख्नु भयो। एन.आर.एन एन.सी.सी. यु.एस.ए. बोर्ड हरेक राज्य च्याप्टरमाझ जानु पर्ने तथा च्याप्टरको कार्यक्रमलाई हौसला र सहयोग प्रदान गर्नु पर्ने एक दमै आवस्यक रहेको तर त्यस्तो नभएको कुरा राख्नु भयो। आफ्नो च्याप्टरले “एम.आर.पी” पासपोर्ट सम्बन्धि कार्यक्रम २००-३०० माझ सफलतापूर्बक गरेको कुरा राख्नुभयो। नेपालका लोकप्रिय कलाकारहरुलाई राखेर ५००-८०० जति माझ सांस्कृतिक कार्यक्रम गरेको कुरा राख्नु भयो। “भूकम्प पिडित” को लागि $१४,००० जति उठाएर सहयोग गरेको कुरा गर्दै “भारतीय नाकाबन्दी” को बिरुद्ध २०-२५ जना लिएर वाशिंगटन डि.सी.मा बिरोध कार्यक्रममा सहभागी हुन गएको कुरा गर्नु भयो। साथै, राज्य च्याप्टरहरुको आवाज बलियो पार्न एन.आर.एन एन.सी.सी. यु.एस.ए.का संविधानका धाराहरु परिवर्तन गर्नु पर्ने कुरा राख्नुभयो।
आयोजक जर्जिया राज्य च्याप्टरको तरफबाट बोल्दै च्याप्टरका अध्यक्ष मोहन तिमिल्सिनाले आफू एन.आर.एनमा २००९ देखिनै लागेको एन.आर.एन एन.सी.सी. यु.एस.ए. को उपाध्यक्षमा पनि लडेको कुरा राख्दै सबैलाई कार्यक्रममा उपस्थित भएकोमा धेरै धेरै धन्यवाद दिनुभयो। आफ्नो च्याप्टरले अरु च्याप्टरबाट राम्रा कुरा सिक्दै र नंग-मासु जस्तो सहकार्य गर्दै अगाडी बढ्ने कुरा बताउनुभयो।
अन्तमा बोल्नेक्रममा भर्जिनिया राज्यको प्रतिनिधित्व गर्दै डा. देशराज संयोकले आफु सभापति रहेको एन.आर.एन एन.सी.सी. यु.एस.ए. को विभिन्न क्षेत्रका विज्ञहरुको समूह “विज्ञान, प्रविधि, तथा आर्थिक नीति” (स्टेप)ले “नेपालमा जलबिध्युत लगानीका चुनौती तथा अवसर” विषयमा भर्जिनियामा अन्तरक्रिया कार्यक्रम भर्खरै मात्र चलाएको कुरा राख्नुभयो। नेपालबाट आएका विज्ञहरुको समय मिलाएर त्यस्ता कार्यक्रम विभिन्न राज्यमा एन.आर.एन च्याप्टरसँग सहकार्य गरि संचालन गर्न सकिने कुरा राख्नुभयो। त्यसमा नर्थ क्यारोलाइना का रेवती जी र क्यालिफोर्नियाका पूर्णजीले समर्थन जनाउंदै आ-आफ्नो राज्यमा त्यस्तो कार्यक्रमलाई स्वागत गर्ने कुरा बताउनुभयो।
कार्यक्रममा फ्लोरिडाबाट नासाका (दक्षिण पूर्बी अमेरिकाको नेपाली संगठन) सचिव कृष्ण श्रेष्ठ र ओरेगनबाट नाओ (ओरेगनको नेपाली संगठन) का पूर्ब अध्यक्ष भारत बाँस्कोटाको पनि उपस्थिति थियो। कार्यक्रमको संचालन एन.आर.एन जर्जियाका उपाध्यक्ष विश्वमान आन्ग्देम्बे र एन.आर.एन जर्जियाका संयोजक गोबिन्द श्रेष्ठले संयुक्त रूपमा गरेका थिए।
No comments:
Post a Comment