Sunday, September 25, 2016

प्रसूति भएकाहरूको चाप बढेपछि समस्या

गाईघाट(उदयपुर), ९ असोज । जिल्ला अस्पतालमा प्रसूति सेवा लिन आउने बिरामीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएपछि यसको व्यवस्थापनमा निकै समस्या हुन थालेको छ ।

प्रसूति सेवाका लागि आउने बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएसँगै प्रसूति कोठामा राखिएका शय्याले समेत बिरामीलाई धान्न छाडिसकेको सम्बन्धित चिकित्सक बताउँछन् ।

अस्पतालका अनुसार विगतका वर्षमा सामान्य प्रसूति सेवा र प्रजनन सेवाको मात्र व्यवस्थापन हुँदै आएको थियो । पछिल्लो चरणमा जिल्ला अस्पतालमा शल्यक्रिया सहितको सेवा व्यवस्थापन भएपछि अहिले जिल्लाभित्र र बाहिरबाट समेत सेवा लिन आउने बिरामीको सङ्ख्या वृद्धि भएको अस्पतालका प्रमुख डा विष्णुबहादुर बस्नेत बताउनुहुन्छ ।

छ जनासम्म मात्रको शय्या र क्षमताको कोठामा सञ्चालन हुँदै आएको प्रसूति कक्षमा अहिले दैनिक १० देखि १५ जनासम्म प्रसूतिका बिरामी आउन थालेपछि कतिपय बिरामीलाई शय्याको अभावमा समेत अन्य कोठामा लगेर उपचार गर्न बाध्य हुनुपरेको सम्बन्धित चिकित्सक बताउँछन् ।

अहिले दैनिक १० जनासम्म प्रसूति सेवाका लागि आउने गरेकामध्ये दुईदेखि तीन जनासम्म शल्यक्रियाबाट तथा बाँकीको साधारण सेवाबाटै उपचार हुने गरेको अस्पताल प्रमुख डा बस्नेत बताउनुहुन्छ ।

डा बस्नेत भन्नुहुन्छ,“एउटा बिरामीलाई चौबिस घन्टाभन्दा बढी राखेर उपचार गर्नुपर्छ तर अन्य बिरामी दैनिक थपिने क्रम हुँदा कहिलेकाहीँ त पुराना र नयाँ बिरामी गरेर दिनमा ३० भन्दा माथि बिरामीको सङ्ख्या पुग्छ, यस कारण पनि अहिले सञ्चालन भइरहेको प्रसूति कक्षको क्षमताभन्दा बिरामी धेरै बढी भए ।”

डा बस्नेतका अनुसार अन्य कक्षमा प्रसूति सेवा व्यवस्थापन गर्नका लागि पनि भौतिक पूर्वाधारको व्यवस्थापनमा समस्या छ । अहिले प्रतिमहिना अस्पतालमा पच्चिसदेखि सय जनाको अप्रेशनबाट बिरामीको उपचार हुँदै आएको छ भने १५० भन्दा माथि नर्मल सेवाबाट नै उपचार भइरहेको अस्पताल प्रशासनले बताएको छ ।

तीन वर्षयता अस्पतालमा शल्यक्रिया सहितको प्रसूति सेवा सञ्चालन भएपछि अहिल पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रदेखि छिमेकी खोटाङको दक्षिणी भेक र सप्तरीको उत्तरी भेगका बिरामी समेत उपचारको लागि आउने गरेका छन्  ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts