काठमाडौं, ९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसलाई शिकार गरेर अघाएको बाघको संज्ञा दिनुभएको छ ।
आइतबार पत्रकार गोपाल खनालको पुस्तक ‘भूराजनीति’ को विमोचन गर्दै ओलीले भन्नुभयो– ‘नेपाली कांग्रेस अहिले शिकार गरेर अघाएको बाघ जस्तो टाङ फारेर सुतेको छ । सही के–को ? गलत के–हो ? केही थाहा छैन, कुनै प्रतिक्रिया छैन ।’
ओलीले माओवादीलाई सरकारको नेतृत्व गर्न दिएपछि कांग्रेस आनन्दले सुतेको भन्दै सरकारका प्रवक्ताले देश विरोधी र राष्ट्रियता विरोधी कुरा गर्दा पनि चुप लागेर बसेको आरोप लगाउनुभयो ।
ओलीले यति भनिसकेपछि सोही समारोहमा बसेका कांग्रेस नेता डा रामशरण महत रातोपिरो हुँदै झोँक्किनुभएको थियो ।
ओलीले महततिरै फर्किएर अहिले पनि कांग्रेसको नीति छ ? भनी प्रश्न गर्दा महतले झोँक्किएर ‘किन नहुनु अहिले झन् बलियो छ’ भन्दै प्रतिक्रिया दिनुभएको थियो ।
आफ्नो मन्तव्य सकिएपछि मञ्चमा उक्लिएका ओलीले महतलाई सम्झाउँदै केही भनेपछि उहाँको रिस शान्त भएको थियो ।
No comments:
Post a Comment