काठमाडौँ, २५ भदौ । ऊर्जा मन्त्री जनार्दन शर्माले नेपालको जलविद्युत् आयोजनामा लगानी गर्छु भन्नेलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको बताउनुभएको छ ।
नेपाल विद्युतीय व्यवसायी महासङ्घको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले भन्नुभयो, “अस्ट्रेलिया, चीनदेखि भारतसम्मका कम्पनी जलविद्युत् आयोजनामा लगानी गर्छु भनेर लाइन लागेका छन् । लगानीको समस्या छ भन्ने भ्रम फैलिइरहेका बेला यसलाई मैले सकारात्मक रुपमा लिएको छु ।”
नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्नका लागि केही असहज वातावरण भएपनि लगानीकर्ताको अभाव नरहेको मन्त्री शर्माको भनाइ थियो ।
उहाँले आफ्नो कार्यकालमा लगानीमैत्री वातावरण निर्माण गरी छ महिनाभित्र केही न केही परिणाम देखाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बत्ती बाल्ने चेतनाले मात्र नेपालको जलविद्युत् क्षेत्र उँभो नलाग्ने भन्दै मन्त्री शर्माले उत्पादित बिजुली निर्यात गर्नुको साटो स्वेदशी उद्योगधन्दामै खपत गर्ने योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।
अर्को एक प्रसङ्गमा उहाँले नेपाल विद्युत् प्राधिकरणको पुनःसंरचना गर्ने बताउनुभयो । “विद्युत् प्राधिकरणको पुनःसंरचना नगरेसम्म विद्यमान समस्या समाधान गर्न सकिन्न”– उहाँले भन्नुभयो, “नयाँ चेतनाअनुसार काम गर्ने प्राधिकरण चाहियो ।” मन्त्री शर्माले विद्युत् उत्पादनलाई अभियानकै रुपमा अघि बढाउन ऊर्जा मन्त्रालय लागिपरेको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि प्रस्ताव गर्न आफूले प्रधानमन्त्री ‘प्रचण्ड’लाई सुझाव दिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले लगानीमैत्री वातावरण बनाउन सकेका खण्डमा मुलुकमा ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण समय सुरु हुने बताउनुभयो ।
ऊर्जाको विकासबिना आर्थिक विकासको ढोका खुल्न नसक्ने भन्दै उहाँले सहज वातावरण बनाउन सरकारसँग माग गर्नुभयो ।
No comments:
Post a Comment