Wednesday, September 28, 2016

दसैअघि नै संविधान संशोधनको प्रस्ताव ल्याइने: प्रधानमन्त्री दाहाल

prachandaचितवन, १२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले दसैअघि नै संविधान संशोधनको प्रस्तावको तयारीमा सरकार लागेको बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस विषयमा प्रमुख प्रतिपक्षी एमालेसहितका दलसँग छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो “नेकपा (एमाले)सँग पनि छलफल भइसकेको छ, राष्ट्रिय सहमतिमै संविधान संशोधनको प्रस्ताव पेस हुन्छ ।”

मधेसी मोर्चासँग हिजो भएको छलफलमा पनि यो विषय जानकारी गराएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो । उहाँले संविधान कार्यान्वयन र संशोधन सँगसँगै अघि बढ्ने कुरा मधेसवादी दललाई आफूले जानकारी गराएको बताउनुभयो ।

इलाकालाई आधार मानेर स्थानीय निकायको गठन गर्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेसँगै स्थानीय निकायको निर्वाचनका लागि सहज भएको उहाँको भनाइ थियो ।

चैत मसान्तभित्र स्थानीय निकायको निर्वाचन गर्नपर्ने भन्दै त्यसका लागि युद्धस्तरमा काम गरिने उहाँले बताउनुभयो । दलहरुको सहमतिमै २०७४ माघसम्ममा तीन तहको निर्वाचन गर्नका लागि सरकार लागिपरेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

टिकापुर घटनाका आरोपीलाई कारबाही फुकुवा गर्ने विषयमा छलफल मात्रै भइरहेको उहाँले बताउनुभयो । आफू पहिलोपटक प्रधानमन्त्री हुँदा सोचेजति काम गर्न नसकेको बताउँदै उहाँले यसपटक संविधान कार्यान्वयन सँगसँगै विकासको गतिलाई तीव्रता दिने बताउनुभयो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय आफ्नै पहलमा स्थापना भएको भन्दै प्रधानमन्त्री दाहालले त्यहाँ देखिएका समस्या समाधानमा आफू सकारात्मक रहेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...