विराटनगर, २५ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आज विराटनगरमा ‘शैलजा आचार्य स्मृति पुरस्कार’बाट पाँचजना पत्रकारलाई सम्मानित गर्नुभएको छ ।
नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित सो कार्यक्रममा शैलजा आचार्य स्मृति पुरस्कारबाट पुरस्कृत हुने पत्रकारद्वय शेखर रेग्मी र शङ्कर लुइँटेल हुनुहुन्छ । दुवैजनाले रु १५ हजार एक नगद र सम्मानपत्र प्राप्त गर्नुभयो ।
त्यसैगरी, रु ११ हजार राशिको ‘शैलजा आचार्य नारी पत्रकारिता’ पुरस्कारबाट पत्रकार सुशीला पाठक पुरस्कृत हुनुभएको छ भने सोही अवसरमा मोरङका अग्रज पत्रकार दुर्गाप्रसाद खतिवडा र कुमुद अधिकारी पनि सम्मानित हुनुभएको छ ।
सो अवसरमा मन्त्री लेखकले पुरस्कार तथा सम्मानपत्र प्रदान गर्दै शैलजा आचार्य अतिसाहसी र क्रान्तिकारी छविका धनी हुनुहुन्थ्यो भन्दै उहाँले देखाएको इमान्दारिता र कर्तव्यनिष्ठाको मार्गमा अगाडि बढ्नुपर्ने धारणा प्रकट गर्नुभयो ।
राष्ट्रिय एजेन्डालाई सम्बोधन गर्न नयाँ सरकारको गठन भएको भन्दै उहाँले भन्नुभयो– “संविधानको विषयमा देखिएका असन्तुष्टिलाई सम्बोधन गरी साझा दस्तावेज बनाउन, संविधानको कार्यान्वयन, स्थानीय निकायका निर्वाचन, भूकम्पपीडितलाई सम्बोधनका साथै मुलुकमा शान्ति स्थिरता कायम गरी आर्थिक समृद्धितर्फ उन्मुख गराउनु सरकारको मुख्य एजेन्डा हो ।”
उहाँले यो संविधान लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको तीन खम्बामा उभिएकाले यसको एउटा पनि खम्बा ढल्यो भने संविधान नै असफल हुने भएकाले यस विषयमा सबैलाई गम्भीर भएर समस्या समाधानतर्फ अग्रसर हुनुपर्ने विषयमा जोड दिनुभयो ।
सो पुरस्कारको संरक्षक एवम् सांसद अमृत अर्यालले शैलजा आचार्यले देखाएको बाटोमा हिँड्न सक्यो भने उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने कुरा बताउनुभयो ।
नेपाल प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, नेपाल शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष केशव निरौला, प्रजिअ तोयम राय, नेपाल प्रेस युनियनका पूर्वाञ्चल संयोजक लीलाबल्लभ घिमिरे, नेपाली काँग्रेसका जिल्ला सचिव नागेश कोइराला, मोरङ पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्ट र पुरस्कृत व्यक्तित्व शेखर रेग्मीलगायतले बोल्नुभएको थियो ।
No comments:
Post a Comment