काठमाडौं, २७ भदौ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधनका लागि प्रस्तावित मस्यौदा आइतबार मन्त्रालयमा पठाएको छ ।
मस्यौदामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिँदा फेल भएकाले १ महिनापछि फेरि ट्रायल दिन पाउने प्रस्ताव गरिएको छ । त्यसका लागि फेल भएको एक महिनाभित्र आवेदन दिन सकिने छ ।
ट्रायल फेल भएकाले अहिले ९० दिन अर्थात ३ महिनासम्म मौका पाउँदैनन् । ऐनको संशोधन मस्यौदामा भने ३० दिनपछि नै ट्रायल दिन पाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
यसअघिको व्यवस्थाले धेरैलाई सास्ती भएको र अव्यवहारिक देखिएको भन्दै यातायात ब्यवस्था विभागले ३० दिनमै फेरि ट्रायल दिन पाउने प्रस्ताव मन्त्रालयमा पठाएको हो ।
विभागले पठाएको यो संशोधन प्रस्ताव मन्त्रालयमार्फत संसदमा पेश हुनेछ । संसदको बहुमतले पारित गरेपछि यो लागू हुनेछ ।
यातायात ऐनमा सशोधन प्रस्ताव गरिएका केही महत्वपूर्ण बुँदाहरुः
– लाइसेन्स (सवारी चालक अनुमति पत्र) अब दुई किसिमका हुनेछन्- व्यवसायिक र गैरव्यवसायिक। पेशाका रुपमा कार्य गर्ने गरी व्यवसायिक लाइसेन्स लिनुपर्नेछ। व्यक्तिगत प्रयोजनका लागि भने गैरव्यवसायिक लाइसेन्स लिनुपर्नेछ।
– सार्वजनिक सवारीलाई व्यवसायिक सवारी भनिनेछ। व्यवसायिक सवारी यात्रीवाहक र मालवाहक गरी दुई प्रकारको हुनेछ।
– उत्पादन मितिले २० वर्षभन्दा बढी भएको कुनै पनि सवारीको दर्ता हेरफेर र नामसारी गरिने छैन।
– सिट संख्याभन्दा सवारी राखेमा, यात्रुवाहक सवारी साधनले मालसामान राखेमा वा मालवाहक सवारी साधनले यात्रु बोकेमा, लामो रुटमा प्रत्येक छ घण्टामा चालक परिवर्तन नगरे, निजी सवारी साधनले भाडाको यात्री बोके सवारी साधन दर्ता इजाजतपत्र निलम्बन गरिनेछ।
– ठूलो सवारी साधनको लाइसेन्स लिन न्यूनतम उमेर २१ वर्षको ठाउँमा २५ वर्ष
– मझौला र सानो सवारी साधनको लाइसेन्स लिन १८ वर्षको सट्टा २१ वर्ष राख्ने।
– मोटरसाइकल तथा सानो दुई पाङ्ग्रे सवारी साधनका लागि १६ वर्षको साटो १८ वर्ष राख्ने।
– एक पटक लाइसेन्स पाइसकेको चालकले अर्को सवारी साधनको लागि थप लाइसेन्स लिन लिखित परीक्षा लिइने छैन।
– लाइसेन्स परीक्षामा एक पटक असफल भएकोले पुनः परीक्षा दिन तीन महिनासम्म नपाउने व्यवस्था भइआएकोमा अब एक महिनासम्म बनाइएको छ।
– लाइसेन्सको म्याद पाँच वर्ष रहँदै आएकोमा अब १० वर्ष बनाइने।
– नवीकरण पनि १० वर्षको हुनेछ
– सिट संख्याभन्दा सवारी राखेमा, यात्रुवाहक सवारी साधनले मालसामान राखेमा वा मालवाहक सवारी साधनले यात्रु बोकेमा, रुट इजाजत नलिएको बाटो सवारी चलाए, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरे, मापसेबाट एक पटक भन्दा बढी सजाय पाइसकेको भए लाइसेन्स निलम्बन गर्न सकिनेछ।
– लापरवाहीका कारण सवारी दुर्घटनाबाट मानिसको अङ्गभङ्ग भए वा मृत्यु भए लाइसेन्स खारेज हुने।
– प्रशिक्षार्थी सवारी चालक सम्बन्धी व्यवस्था गरिनेछ।
– सवारी साधनमा रंगीन शिशा राख्न नपाइने।
No comments:
Post a Comment