Saturday, September 24, 2016

माओवादीको काँधमा ऐतिहासिक कार्यभार

rambahadur-thapa-jpgरसुवा, ८ असोज । नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापाले माओवादीको नेतृत्वको सरकारको पाँचवटा ऐतिहासिक कार्यभार रहेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) रसुवाको पाँचौँ जिल्ला सम्मेलनलाई शुक्रबार धुन्चेमा सम्बोधन गर्दै नेता थापाले वर्तमान सरकारको ती पाँच वटा अभिभारामध्ये शान्ति प्रक्रिया पूर्ण स्थापित गराउने, भूकम्प पछिको पुनःनिर्माण कार्यलाई द्रुत रुपमा अगाडि बढाउने, संविधानको कार्यान्वयन गराई केही समस्याको हल गर्न संविधान संशोधनको विधेयक तयार पार्ने, देशमा औद्योगिक केन्द्र खोली देश विकासको कार्य द्रुत रुपमा अगाडि बढाउने र अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्दै थप प्रगाढ सम्बन्ध कायम गर्ने रहेको चर्चा गर्नु भयो ।
भूकम्पपीडित ग्रामीणवासीका लागि पुनःनिर्माणमा सहज पार्न आवास निर्माणको रकममा वृद्धि गरिसकेको बताउँदै उहाँले माओवादी केन्द्र सदैव जनहितकारी कार्यमा अगाडि बढ्ने दाबी गर्नु भयो ।

नेता थापाले पार्टीको कार्यदिशा कार्यान्वयनमा यहाँका सबै माओवादी कार्यकर्ता एकढिक्का भई अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै पूर्व खेलकुद मन्त्री एवम् माओवादी नेता हितबहादुर तामाङले समुन्नत रसुवा निर्माणको शुभकामना दिँदै कार्यकर्ताले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गर्नु भयो ।
कार्यक्रममा नेता थापाले गणतन्त्र प्राप्तिका लागि सशस्त्र युद्धमा ज्यान आहुती दिने सहिदका परिवारलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...