Saturday, September 24, 2016

भाषालाई जथाभाबी नबिगार्न प्राध्यापकको अनुरोध

nepali-languageकाठमाडौँ, ८ असोज । त्रिवि, पद्मकन्या बहुमुखी क्याम्पस बागबजारले नेपाली भाषामा अनावश्यक रुपमा उठेको विवाद र व्यक्तिविशेषका वर्णविन्याससम्बन्धी मतमतान्तरले भाषाको हित र उन्नयन हुन नसक्ने जनाएको छ ।

उक्त क्याम्पसका प्रा, सहप्राध्यापक र उपप्रध्यापकले नेपाली भाषाको वर्णविन्यासका सम्बन्धमा चासो राख्दै निकालेको वक्तव्यमा भाषाको सार्वभौम प्रकृति र प्रवृत्ति परिवर्तनीयता हो भन्दै भाषासम्बद्ध जाति र वक्ताको सामाजिक संस्कृति, मूल्य र मान्यताको संवाहक साझा तत्व भएको उल्लेख छ । वक्तव्यमा भनिएको छ, “हरेक भाषाको संरचना र विकास प्रक्रिया त्यस भाषाका जाति र वक्ताका धर्म, दर्शन, विज्ञान, प्रविधि र व्यवहारोपयोगी वस्तु, सामग्री तथा भावनात्मक आस्था र उदात्तताअनुरुप भएको हुन्छ । त्यसैका आधारमा भाषाको व्यापकता हुने र चेतनाको स्तर विकसित हुने यथार्थ हो ।”

दशकौँदेखि नेपाली भाषा र नेपाली भाषीको क्षितिज फराकिलो बन्दै गएको तथा पुख्र्यौली अभिलेख र कृति लेख्य वर्णविन्यासका आधारमा देशदेशान्तरमा संरचित, विकसित र सुरक्षित रहँदै आएको उल्लेख गर्दै नेपाली भाषा देशान्तरमा मान्य र अध्ययनयोग्य भएर उपयोगी समेत भएको उक्त क्याम्पसले जनाएको छ ।

उहाँहरुले भन्नुभएको छ, “देशदेशान्तरका जीवन व्यवहार र राज्यका विभिन्न निकायमा समेत दिनानुदिन उपयोग र प्रयोग भएर विस्तार हुँदै आएको गतिमान र उत्पादनशील नेपाली भाषको वर्णविन्यासमा विवाद निकालेर यसको सुस्थिरता र मान्यतामा अस्थिरता सिर्जना गर्नु उपयुक्त हुनै सक्तैन ।”

वर्तमान परिप्रेक्ष्यमा केही व्यक्तिविशेष र संस्थाले चल्दैआएको वर्णविन्यासको स्रोत देवनारी वर्णविन्यास भत्काउने, बदल्ने सर्वथा पूर्वाग्रहपूर्ण र सङ्कीर्ण कार्य भएको बताउँदै वक्तव्यमा नेपाली लिपि र वर्णविन्यासको स्रोत देवनागरी भाषा र संस्कृत भाषा भएको उल्लेख छ ।

नेपाली ठेट र आगन्तुक शब्दको तथा क्रियापदको आफ्नै वर्णविन्यासको मौलिक लेख्य नियम स्थापित भइरहेका सन्दर्भमा करोडौँको सरोकारको विषयलाई जथाभाबी नगर्न सबै पक्षलाई उहाँहरुले अनुरोध गर्नुभएको छ । वक्तव्यमा डा कुमार कोइराला, डा दुर्गाप्रसाद अर्याल, डा हेमचन्द्र नेपाल, डा रेणुका जोशी, डा, ओम शर्मा, प्रा डा मनसा ठकुराठी, डा उदयराज रेग्मी, डा, विदुर चालिसे, डा जयन्तनाथ खनाल, डा गोविन्दप्रसाद गुरागाईं, डा कुलराज निरौला, शरच्चन्द्र वस्ती, अनिता ढुङ्गेल, डा भूपहरि पौडेल, डा हृदयवीर सिंहलगायत ८८ जनाले हस्ताक्षर गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...